जति हेर्छु
झन् सुन्दरतामा निखार देख्छु
किन मलाई
त्यो रूपको मात चढ्यो?
हिजोसम्म यस्तो कसैसँग भएको थिएन
खै!
उनी देखेपछि किन मेरो हात अगाडि बढ्यो!
न थियो परिचय उनीसँग
न नाता कतै टाढाको
बिनाअर्थ
उनीसँग बात कसरी बढ्यो?
उनीसँगको भेटले मलाई नशा चढायो,
कतै प्रेमको संकेत बाहिर आउने हो कि!
सोचेँ अनि भने उनीलाई
'तिमीले मलाई पागल बनायौ नि
कति दिन पागल बन्ने भएँ म।'
तर मलाई सोधिनन्
'किन र कसरी?'
मेरो दिलको धड्कन बढिरह्यो,
बिना जवाफ मुस्कानले बिदा गर्दै हात मिलाउँदै भनिन्
'अल दि बेस्ट
म गन्तव्यमा पुगेर फोन गर्छु ल?'
खै आज पनि फोनको घण्टी कुरिरहेछु
त्यही मोबाइलको सिरानी लगाएर,
सम्झन्छु कतै उनीलाई पनि
मेरो जस्तै मात लागेको त छैन?
कुनै बेला डराउने गर्छु,
मेरो संगतले उनीलाई कतै बात त लागेको छैन?
तर,
खै! आजसम्म उनी कता हराएकी हुन् यो भिडमा?
पिर लाग्न थाल्यो त्यो रुपको,
कि बात कतै अन्तै बढ्यो त्यो जवानीको?