कयौं वर्षको अथक परिश्रम पश्चात्
रगत र पसिना एक गरेर डाक्टर भएको त्यो व्यक्ति
देश र जनताको सेवा गर्न निस्वार्थ भावले अघि बढ्दै गर्दा,
बिरामीको औषधि उपचार गर्दिन त सक्छ
तर
जन्म र मरणको अद्भूत खेलमा
कसैलाई दीर्घायुको ग्यारेन्टी दिन सक्दैन।
दीर्घायुको ग्यारेन्टी दिन नसकेकै कारण
आँधीबेरी झैं गडगडाउने मान्छे,
बिना कारण डाक्टरमाथि ढुंगा उठाउँछन् यहाँ,
कलह र अशान्ति मचाउँदै
तितो वचनले प्रहार गर्दै डाक्टर पेशाको उल्लंघन गर्छन्
अझै ताल परे त उसैमाथि जाइलाग्छन् यहाँ।
कठै! मेरो देशको भाग्य,
अरुको ज्यान बचाउने प्रण लिएर अघि बढेको मान्छे
आज स्वयं असुरक्षित महशुस गर्दैछ
जटिल अवस्थाको बिरामी छुन डराउँदै छ
दिनहुँ डर र त्रासको बीचमा पिल्सिएरै भए पनि सेवा गर्दै छ।
कसैको दिन सकिएर, काल आउँछ,
बिरामीलाई लिन आएको त्यो अप्रिय कालसँग
अन्तिम समयसम्म लड्छन् डाक्टर,
लडाइँमा
कहिले डाक्टरले जित्छन् त कहिले कालले।
डाक्टरले जित्दा फूलमाला लगाइदिने,
कालले जित्दा,
डाक्टरलाई नै कालसँग पठाइदिन हरदम प्रयास गर्ने
कस्तो नैतिकता हो यो?
अनि यस्तो कुहर्कत,
आखिर कहिलेसम्म त?
बिन्ती छ,
एउटा निर्दोष डाक्टरको अस्तित्वमा
औँला ठड्याएर महान् बन्न नखोज्नुस्
दिनरात घर परिवार नभनी सेवा गर्ने उसको सपना
छताछुल्ल बनाएर विद्वान बन्न नखोज्नुस्,
सबैको ज्यान बचाउन हर्दम लागि पर्ने
डाक्टरको मनोबल बढाउन चाल चल्नुहोस्
देशको स्वास्थ्य क्षेत्र विकासको लागि अमूल्य योगदान दिनुहोस्।