कक्षा एकदेखि नै सानु सरले अनितालाई अरु सरले भन्दा बढ्ता आत्मीय व्यवहार गर्थे। कहिले कपाल सुम्सुम्याउने त कहिले पिठँयु सुम्सुम्याउँथे।
अरु शिक्षकभन्दा अनितामा पनि सानु सरको यस्तो व्यवहारले लगाव बढदै गइरहेको थियो। संयोगले सानु सरकी छोरी पनि त्यही कक्षामा पढ्थी। सानु सरले आफ्नी छोरीलाई भन्दा आफूलाई बढ्ता माया गरेकोमा अनिता भित्रभित्रै निकै दंग थिइन्।
एकदिन अनिताले स्कुलको खेलमैदानमा सानु सरकी छोरी कल्पनालाई इष्याउने हेतु भनेकी थिइन्, 'तिम्रो ड्याडीले त तिमीलाई भन्दा मलाई बढ्ता माया गर्नु हुन्छ।'
'कसरी?'
'क्लासमा मलाई कपाल सुम्सुमाएर बस्नुहुन्छ। तिमीलाई त त्यस्तो गर्दै गर्नु हुन्न।'
'मलाई घरमा दिनभरि गर्नुहुन्छ नि' सानु सरकी छोरी कल्पनाले अनुहार रुन्चे पारेर बोलेकी थिई।
त्यतिबेला अनितालाई थाहा थिएन यस्ता स्पर्शहरुमा गलत नियतहरु पनि जोडिएको हुन्छ। त्यो अबोध उमेरमा, उनलाई त कल्पनाको रुन्चे अनुहार हेरेर, अपार आनन्द आएको थियो।
फेरि पनि सानु सरले यस्तै कपाल सृम्सुयाओस् र कल्पनालाई फेरि फेरि यस्तै इर्ष्यालु किस्सा सुनाउँदै कल्पनाको आँखामा आँसु उमार्न सकूँ भनी मनले प्रार्थना गरेको थियो।
अनिता अब झन्-झन् ठूली हुँदै गइन्। क्लास पनि चढ्दै गयो। सानु सरले ऊप्रति गर्ने व्यवहारमा खासै परिवर्तन आएको थिएन। उमेरको चढावसँगै उनले अब बुझिसकेकी थिइन्, यस्ता व्यवहारहरु व्यवहार होइन, दुर्व्यवहार हुन्।
आज आएर कल्पनालाई चिढ्याउने रहर उनमा थोपा पनि छैन। उनले बुझिसकेकी थिइन्, किन सानु सरले आफ्नी छोरीभन्दा मलाई माया बढ्ता गर्छ भनेर। तर अनिता जति ठूली हुँदै गइन्, सानु सर अनितासँग त्यति नै टाँसिदै गइरहेको थियो।
अब भने सानु सरको हात गर्दन सुम्सुम्याउँदै उनको छातीसम्म ओरालिन थालेको थियो। यसरी सरको हात छातीमा किन झर्यो भनेर पहिलोपटक आफ्नो छातीमा छामेर हेर्दा छातीमा मासुको डल्लो पुक्क उठेको पाइयो।
गर्दनमा सर्पजस्तो टप्प बस्ने हातहरु अब विस्तारै मासुको डल्लो कोपिलाएको छातीमै सर्न थालेपछि अनिताले सानु सरको नियतलाई प्रष्टै चिनिन्। सरले अब छातीमा हात राखेर चिमोट्न पनि थालेको थियो।
पहिलोपटक उनको छातीमा सानु सरले चिमोट्दा उनलाई निकै दुखेको थियो। उनले मनमनै सोचिन्, कास मेरो भावना बुझ्ने आज एकजना भए पनि मिस भएको भए म सोध्ने थिएँ, मिस तपाईंले पनि कुनै विद्यार्थीले यसरी होमवर्क नगर्दा छातीमा चिमोटनु हुन्छ? तर उनको विद्यालयमा उनको भावना बुझ्ने कोही मिस थिएनन्।
सानु सरको चिमोटाइमा आइया नबोलिकनै उनको थप एक कक्षा चढयो। अब उनी सातबाट कक्षा आठमा पुगेकी थिइन्। एकदिन कक्षा आठमा हुँदा उनलाई सानु सरले अफिसमा बोलाएका थिए। सानु सर एक्लै रहेछ अफिसमा। सानु सरले उनलाई सोफामा बस्न निर्देशन दिए। अनिता जिज्ञासु अनुहार लिएर सोफामा बसिन्।
'तिमी जस्तो मेधावी विद्यार्थीले पनि होमवर्क नगर्ने हो र, तिमीले आज कक्षामा किन होमवर्क नल्याएको?' प्रश्न गर्दागर्दै सानु सरले उनको छातीमा हात राखेर कुटुक्क चिमोट्यो।
'आज होमवर्क नल्याएको सजायँ म आज तिमीलाई दिन्छु। लौ उत्तर लेख, म प्रश्न दिन्छु तिमीलाई। महिनावारी भनेको के हो? असुरक्षित यौनसम्पर्क भनेको के हो?'
छातीमा औँलाले टोकेको घाउले अनुहार निलो बनाउँदै, पहिलोपटक अनिताले अभयसित सरको आँखामा पुलुक्क नियालिन्। उनले सानु सरको आँखाको नानीमा आफ्नो तस्बिर कुच्चिरहेको पायो।
जीवनमा पहिलोपटक उनले सानु सरसित आँखा जुधाउँदै भनिन्, 'सर यो हात हटाउनुस्। तपाईं हटाउनुहुन्छ कि म आफै हटाउँ? अझ म हेडसरलाई कम्प्लेन पनि गर्नसक्छु।'
उनको पहिलोपटक यस्तो विद्रोही आवाज सुनेर सानु सर डरले कालो निलो भए। उसले सोचेको पनि थिएन, अनिताले एक्कासी यसरी बिद्रोह गर्छिन् भनेर। सानु सरले अकमकाई, अकमकाई बोल्यो 'तिमी सधैँ होमवर्क गर्दैनौ। यसरी छातीमा चिमोटेर त तिम्रो पढाइ ठिक छैन, नचिमोटे के होला? तिमीलाई त यसपालिको जिल्लाको जाँचमा फेल गराउनु पर्छ।'
सानु सरको मुखबाट फेल शब्द निस्के पनि अनिता विचलित भइनन्। उनले बरु फेललाई स्वीकारिन् तर छातीमा चिमोटने यौनपिपासु हातको स्पर्शलाई स्वीकार्न चाहिनन्।
त्यो घटनापछि सानु सरले कुनै पनि कक्षामा उनीसित आँखा जुधाएर कुरा गर्ने हिम्मत गरेन। उनले पनि भनेजस्तो हेडसरलाई कम्प्लेन पनि गरेनन्। सानु सरले धम्काएजस्तो उनी आठ कक्षामा फेल पनि भइन।
त्यसपछिको उनको दिनचर्चा सामान्य भयो। उनको छातीले सदा सदाको लागि एउटा अप्रिय पुरुष छुवाइबाट मुक्ति पायो। सानु सरले त्यसपछि कक्षामा घृणाको नजर पनि आफूतिर नदिँदा, कल्पनालाई चिढयाउने उनले विषय पनि पाएनन्।
जीवनमा निकै लामो समयसम्म उनलाई सानु सरको यो दुर्व्यहारले पोलिरह्यो। उनले आफ्ना कैँयन साथीहरुलाई सम्झेँ जस्ले विद्रोह गर्न सकेनन्। उनलाई लाग्यो, कैँयन साथीहरुले परीक्षामा फेल हुने डरले छातीमा अप्रिय हात स्वीकार्यो होला।
तर उनको भने बरु फेल भए होस्, तर गलत नियतको छुवाइहरु स्वीकार्य छैन भनी गरेको इन्कलाव सफल भयो। आमालाई सानु सरको गलत नियतको बारेमा बताएकी पनि थिइन्। आमाले सरको बारेमा यस्तो कुरा गर्नु हुँदैन, पाप लाग्छ। अब केही गरेको छैन भने भो चुप लाग भन्दै सम्झाएकी थिइन्।
उनी कक्षा आठ पास भइन्। नयाँ कक्षामा बढुवासँगै सानु सरको कक्षा पनि छुटयो। उनले कक्षा आठ पास भएपछि एउटा अठोट गरिन्, म अब एसएलसी सिध्याएपछि यही गाउँमा मिस बन्छु।
उनले शिक्षिका बन्छु भनेर कसम खानुको एउटा कारण, यस्ता गलत स्पर्शमा पिल्सिरहेका विद्यार्थीहरुलाई मुक्ति दिनु पनि हो। जबसम्म पुरुषहरुले मात्र विद्यालय चलाउँछ, बालबालिकाहरु यसरी नै यौन शिकार हुन्छन् भनेर उनले शिक्षिका बन्ने बाटो तय गरेकी थिइन्।
उनले सोचेजस्तो एसएलसी पनि पास गरिन् र प्लस टु पनि। त्यसपछि उनी गाउँकै एक सरकारी विद्यालयमा शिक्षिका बनिन्। उनको जीवनको लक्ष्य पूरा हुँदै गएकोमा उनी खुसी बन्दै गएकी थिइन्।
उनले आफ्नो स्कुलको छात्राहरुलाई हेर्दै सोच्थिन्, कति पीडामा होलान् यिनीहरु पनि? जानेर र नजानेर अप्रिय स्पर्शहरुबाट। एक हातमा डस्टर समातेर, अर्को हातमा आफ्नै विद्यार्थीहरुको संवेदनशील अंग समात्ने शिक्षकहरुबाट कुन भविष्यको आशा गर्ने?
सर भएपछि त विद्यार्थीको भविष्यको कालो, कालोपाटीमा घोट्दै चकको सेतोले मेट्दै जानुपर्छ। विद्यालयमा कुनै पनि अभिभावकले आफ्ना छोराछोरी वेश्यावृति गर्न पठाएको त होइन् नि कि कोही पापी शिक्षक छात्राहरुको छाती नापी नापी हिँडोस्।
उनको विद्यालयमा हेडसर इन्द्र सर थिए। चालीस उमेरको, विवाहित र दुई छोरीको बुबा। इन्द्र सर हेर्दामा निकै गम्भीर खालको थिए। गाउँभरि नै इन्द्र सरको भद्रताको चर्चा थियो। आफ्नो बुबाले पनि इन्द्र सरको गुणगान गरेको पाउँदा अनिता निकै खुसी बन्थिन्।
उनको बुबा भन्थे, 'मान्छे भनेको त इन्द्र सर जस्तो हुनुपर्छ कति सालिन, कति महान्। सधैँ हातमा पुस्तक मात्र, आफ्नै जिब्रोले कति सराप्दो हो इन्द्रलाई जीवनमा एकपटक पनि मदिराको स्वाद नचखाएकोमा भन्दै' बुबा खित्खिताएको थिए।
शिक्षक सेवा आयोगमा नेपाल थर्ड भएर आफैले रोजेर आएको विद्यालय। इन्द्र सरको धेरै कुरामा अनिता प्रभावित थिइन्। फुर्सदमा पुस्तकालयमै झुलिरहने इन्द्र सरले विद्यालयको नेतृत्व गरेदेखि विद्यालयको नतिजा पनि राम्रै भएर विद्यालयलाई गाउँकै नमुना विद्यालय बनाएका थिए। अनिताले आफूलाई त्यस्तो विद्यालयको एक सदस्य हुन पाउँदा निकै शौभाग्यशाली थानेको थियो।
एक वर्ष बित्यो। दुई बर्ष बित्यो। अनिता पनि विद्यालयमा नयाँ नयाँ अनुभव हासिल गर्दै रमाइरहेकी थिइन्। विद्यार्थी जीवनमा आफ्नो छातीमा लागेको घाउ भुल्दै गइरहेकी थिइन्।
एकदिन विद्यालयमा एसइई परीक्षामा सहभागी भएर उतीर्ण भएका विद्यार्थीहरुलाई बधाइ समारोह राखिएको थियो। त्यो दिन निकै नाचगान र रमाइलो भयो। खुसीको त्यो दिनमा अनिताले पनि साडीमा सुसज्जित भएर छात्राहरुसँगै कम्मर जोडेकी थिइन्।
कार्यक्रम सिध्याएर सबै विद्यार्थीहरु बिदा भए। अनितालाई केही काम छ भन्दै इन्द्र सरले रोकेका थिए। स्कुल सुनसान भइसकेपछि इन्द्र सरले अनितालाई आफ्नो कार्यकक्षमा बोलाए। अनिता कोठामा प्रवेश गर्नेबित्तिकै इन्द्र सरले हातले कुर्चीतिर इसारा गर्दै बोले,
'आऊ, अनिता बस्।'
'भन्नुस् सर।'
'तिम्रो विद्यालयप्रतिको लगनशीलता देख्दा म निकै खुसी छु। हेर म तिमीलाई निमाविको इन्चार्ज बनाउँछु तर एउटा सर्तमा मात्र।'
'कस्तो सर्त?' अनिताले प्रश्न गरिन्।
'तिमीले मैले भनेको एउटा कुरा मान्नुपर्छ।'
'के कुरा सर?' अनिताको छाती ढुकढुक भयो।
'आज हामी दुवैजना घर नजाऔं। यहीँ रात बिताऔँ। तिम्रो उमेर पनि यस्तै हो। सायद रहरै छ होला।'
यति भन्दै इन्द्र सरले अनिताको नाङ्गो गर्दनमा हात राखे। गर्दनमा हात राखेर अनिताको ओठनेरै आफ्नो ओठ ल्यायो। सधैँ किताब नै छोइराखेको देख्ने पवित्र थानेको हातहरु अपवित्रमा रुपान्तरण हुँदै, मदिरामा नुहाएको इन्द्र सरको सासले कोठा पूरै दुर्गन्धित भइरहेको थियो।
टेबुलमुनि उनले तीनटा वियरको शिशी लडिरहेको पनि देखिन्। उनले आज पहिलोपटक इन्द्र सरको फोक्सोको नाङ्गो तस्बिर देखिन्। एक्कासी आफैनेर घोप्टेको इन्द्र सरको अनुहारमा सानु सरको अनुहार उदायो। उनले चिच्याउँदै हात गर्दनबाट झटकारिन् र पर भागिन्।
पर पुगेर उनले इन्द्र सरलाई घृणाको नजर फ्याकिन्। ठूलो स्वरमा चिच्याइन्।
'तपाईंको बहिनी बराबरको मान्छेलाई यस्तो प्रस्ताव राख्न तपाईंलाई थोरै पनि शरम लागेन? तपाईं मेरो नजरबाट सदा सदाको लागि गिर्नुभयो। फोहरी मान्छेहरुले नै डस्टर समात्दो रहेछ, पुस्तक समात्दो रहेछ।'
यति बोल्दै उनी सरासर बाहिर आइन्। बाहिर आएर स्वच्छ हावामा सास फेर्दा इन्द्र सर हवास् गनायो। आफ्नो ओठमा इन्द्र सरको ओठ पोखियो कि पोखिएन उनले चालै पाउन सकिनन्।
ओठ छोए पनि नछोए पनि इन्द्र सरको फोक्सोले उनको फोक्सोलाई डामेकै अनुभव गरिन्। घरमा आएर इन्द्र सरको सधैँ गुणगान गर्ने बुबालाई इन्द्र सरको कर्तुतको बारे बताइन्।
बुबाले भन्यो, 'जहाँसम्म मैले चिनेको छु, इन्द्र सर धेरै भद्र व्यक्ति हुनुहुन्छ। इन्द्र सरले यस्तो भन्नै सक्दैन, गर्नै सक्दैन। चुप लाग, यस्तो कुरा निकालेर कुललाई नै कलंकित नगर।'
त्यो घटनाको कैँयन दिन उनी स्कुल गइनन्। उनले पारिवारिक संकोचको कारण इन्द्र सरसँग आफनो न्यायको लडाइँ पनि लड्न सकिनन्। उनले गाउँकै अर्को एक विद्यालयमा सरुवा रोजिन् र सरुवा भएर गइन्।
जीवनमा दोस्रो अठोट गरिन्। छात्रा मात्र होइन, गलत नियतबाट शिक्षिका पनि मुक्त छै्रनन्। यो पृथ्वीमा नारीलाई जुनसुकै आकाशको ओत लागेपनि कामुक हातहरु गर्दनमा खस्दो रहेछ।
अब विद्यालयमा शिक्षिका होइन, प्रधानध्यापक नै बन्छु। यस्को लागि उनले नयाँ विद्यालयमा ठूलो तपस्या गरिन्। साधना गरिन्। केही वर्षपछि उनी त्यस विद्यालयको प्रधानध्यापक नै बनिन्।
प्रधानध्यापक भएको पहिलो दिनमै स्कुलमा क्लास लिइन्, गुड टच र बेड टच भनेको के हो? उनले यौन शिक्षालाई निकै प्राथमिकता दिइन् विद्यालयमा। उनको यस्तो पहललाई विद्यार्थीहरुले नै हाम्री हेडमिस निकै सेक्सी छन् भनेर आलोचना गरे। केही केही पुरुष शिक्षकहरुले कामुक नजरले पनि हेर्थे तर आफ्नो हेकिमसँग आँखा जुध्दा भने आँखा घोप्टयाउँथे।
विद्यालयको सफलतामा उनी खुसी नै थिइन्। यौन शिक्षालाई विस्तार गरेर, क्लासमा भिरुङ्गगी पढाउँदा गाउँले किशोरीका गालाहरुमा पोतिने लाली उनले धोइसकेकी थिइन्। किशोरीहरु निसंकोच सोध्थे, मिस एचआइभी भनेको के हो? एचआइभी कसरी सर्छ?
एकदिन उनी अफिसमा बसेर हाजिर कपी हेर्दै थिइन्। टेबुलमा राखेको उनको मोवाइल टिनिनी बज्यो। फोन उठाउँदा थाहा भयो, गाउँपालिकाको अध्यक्षको रहेछ। विद्यालयको विषयमा केही मिटिङ छ भनेर सदरमुकामको एक नाम चलेकै रिसोर्टमा बोलाइयो।
आफ्नो विद्यालयको प्रतिनिधित्व गर्दै उनी रिसोर्टमा पुगिन्। तर अचम्म, त्यहाँ अध्यक्ष र उनी आफैबाहेक अरु कोही देखेनन्। अध्यक्षले गोप्य बैठक छ भनेर क्याबिनमा लगेपछि उनले चाल पाइहाल्यो, वास्तवमा अध्यक्षको पनि नियत के हो भनेर।
अध्यक्षज्यू उनलाई क्याबिनमा पुग्नेवित्तिकै घुरी घुरी हेर्न थालेपछि, अझ नजिक सरेपछि सम्भावित दुर्घटनाबाट बच्न उनी आफै केही नबोली रिसाउँदै बाहिर आइन्। बाहिर पुगेर उनी जोड जोडले दौडिइन्। मानौ उनी लखेटिएकी छन्।
घर पुग्नेवितिकै उनी आफ्नो कोठामा पुगेर, भुइँमा डङ्गरङ्ग लडेर भितामा अडेस लागिन्। धेरै कुत्सित अनुहार भएका पुरुष अनुहारहरु आफ्नो कल्पनामा झुम्न थाल्यो।
कल्पनामा उनी सयौं यौनपिपासु जिब्रोहरुले टोकिएर, आफ्नो चेतना बिलाएर, ठूलो स्वरमा चिच्याइन्। सम्भवतः उनले मिनेटमै दुई सयपटक सास फेरिन्। उनको अनहार कालो निलो भएको थियो। छोरी चिच्याएको आवाज आएर उनको बुबाको कोठामा प्रवेश भयो। आफ्नी छोरीको काँधमा हात राख्दै बुबाले सोधिन्, 'छोरी तिमीलाई के भयो?'
त्यति बेला, अनिताले कपाल जिङ्गरिंग पारी भितामा अडेस लागेर आफ्नो बुबालाई आतंकित नजरमा हेरिरेहकी थिइन्।
उनी चिच्याउँदै थिइन्, 'सब पुरुष एउटै हुन्। सबैको छुवाइको नियत एउटै। नारी सबै बलात्कृत, पुरुष सबै बलात्कारी। गल्ती तपाईंको पनि हो। पापी तपाईं पनि हो। यो हात हटाउनुस बुबा। तपाईंले पनि माया देखाउँदै डाम्दै हुनुहुन्छ।' उनी चिच्याउँदै गइन्, रुँदै गइन्।
आफ्नी आतंकित छोरीको काँधमा राखेको हातलाई आँसुले चिस्याउँदै बुबाले हात हटाए।
त्यसपछि बुबाको आवाज सुनियो, 'हो, मेरै गल्ती हो, मैले समयमै छोरीलाई डिप्रेसनको उपचार गराउनुपर्थ्यो। यसो नगर्दा, मेरी छोरीले धेरै सम्मानीय व्यक्तित्वहरुमा हिलो छ्यापे। म पनि अछुतो रहिनँ आज।'
बुबाको आँखा रसाइरहेकै थियो, दुईधार आँसुले गालासम्म चिरेर। बुबा रोइरहेको त्यही पल, अनिताको आँखाबाट पनि अविरल आँसु बगिरहेको थियो।
जुन आँसुले यो कथाको यसरी व्याख्या गर्दै थियो– अनिता एक गाउँले नारी हो। सर भगवान् हो, पूजा गर्नुपर्छ भन्ने बाबुआमाको शिक्षाबाट उनी सानैदेखि दिक्षित थिइन्। विद्यार्थी जीवनमा यसैकारण बलात्कार गरेको हो भनी जान्दा जान्दै पनि सानु सरको छातीमा सल्बलाउने हात भाँच्न सकिनन् न कि आफनो छातीमा पलाएको मासुको डल्लोलाई नै निमोठेर फाल्न सकिन्।
सरले नचिमोटिँदा उनी खुसी भइन्, विजयी भइन्।
इन्द्र सरको गाउँमा ठूलो सम्मान थियो। आफ्नो बुबाको लागि भगवान थिए। त्यो सम्मानलाई अपवित्र गर्नु, आफैलाई हिलो छयाप्नु थियो। इन्द्र सरले त्यस्को गर्नै सक्दैन भन्ने आफ्नै बुबाको अडान सामु उनी हारिन्। कुलकै कुरा आउँदा उनी चुप लागे, इन्द्र सरले उनको ओठ चुसेर पनि त्यो गाउँमा देवताकै रुपमा पूजिए।
गाउँपालिकाको अध्यक्षको सामु त उनको जोड चल्ने त कुरै भएन। देशको प्रधानमन्त्रीसम्म सिधा पहुँच भएको एक बलशाली पुरुषसित उनको के जोड चलोस्? कामुक आँखालाई आरुको बोक्रा जस्तो झिकेर, हत्केलामा राखेर उनी अदालतमा प्रस्तुत पनि हुन सकिनन्। किनकि त्यो आँखाको रंग समाजको उज्यालोमा बदलियो, छेपारोको जस्तै।
यस्ता हारै हारले उनी विक्षिप्त भइन्।
हो आज आएर, धेरै पुरुषको अपवित्र स्पर्शपछि बुबाको स्पर्शसम्म आउँदा अनिता बौलाइन्। उनी चेतनाहीन भइन्। कुन स्पर्श पवित्र, कुन अपवित्र छुटयाउने क्षमता, उनको चेतनामा गलिसकेको थियो।
धेरै हातले उनको छाती जानी नजानी चिमोटे। यसैले त पुरुषका औँलाहरु उनलाई मौरीको खिलभन्दा बढी बिझाए। त्यही दुखाइले उनी चेतनाहीन भइन्। उनी अहिले सडकमा चेतनाहीन भएर नाङ्गै नाङ्गै दौडन्छिन्।
साना-साना बालबालिकाहरु जो उनका विद्यार्थी हुन्, बालक्रिडा गर्नेक्रममा खासखुस गर्छन्, 'अनिता मिस अचेल नाङ्गै दौडन्छिन्।'
वयस्कहरु अनितालाई देखाएर भन्छन्, 'यो बहुलाइलाई एड्स छ रे।' उनी यो गाउँमा अचेल सबैको लागि आतंक भएको छ।