सुक्दै गयो भने यो खोलामा पानी
म के बग्नु?
मेरो बाटोबाट?
मलाई बगर बन्नु छैन
तिमीलाई कहिल्यै लाग्दैन होला
रगत बगी रहेको तिम्रा ती नसामा, रगत नबगोस् भनेर।
म कसरी बसूँ? मेरो नसा सुक्दैछन्?
म खोला हुँ।
मलाई सुक्नु छैन
मलाई नसुकाइदेऊ।
ओभानो तिम्रो आँगन सुहाउँछ
ओभानो म खोला सुहाउदिनँ।
म खोला हुँ।
मलाई झर्नु छैन
सुन्दर त्यो पहाडको टुप्पाबाट कोतारिएर खोलै पुर्ने गरी
तल सम्म
मलाई नकोतारिदेऊ!
मलाई पनि दुख्छ ठ्याक्कै तिमी मानव जस्तै।
म हिँड्न बनेको होइन
मलाई पहाडको टुप्पामै छाडिदेऊ
म यतै हरियाली हुर्काउँछु
र पठाउँछु तिम्रो ठेगानासम्म
शितल हावा र कञ्चन चिसो पानी।
म पहाड हुँ।
मलाई बिगार्नु छैन
मेरो अनुहार
मलाई बिगार्नु छैन
मेरो गन्ध
मलाई बोक्नु छैन
अनावश्यक कार्बन मेरो गर्धनमा
तिमीले त नाक थुनेर हिँड्छौ
म आफै थुनिएँ भने के तिमी बाँच्छौ?
मलाई पनि दुख्छ मेरो टाउको यो प्रदुषणले
ठ्याक्कै तिमी मानव जस्तै
ए मानव
म तिमीलाई प्रेम गर्छु यार
तिमी पनि मलाई प्रेम गर्न सिक
म प्रकृति हुँ।
मलाई तिम्रो माया लाग्छ
म तिम्रो फोक्सो बिग्रेको सुन्न चाहान्नँ
म तिम्रो मुटु बिग्रेको सुन्न चाहान्नँ
म सुन्न चाहान्नँ तिमीले प्रतिजैविक क्षमता गुमाउँदैछौ तिमीबाट
ए मानव म तिमीलाई प्रेम गर्छु
तिमी पनि मलाई प्रेम गर्न सिक।