म पृथ्वी हुँ,
तिम्रो विरासत जोगाइराख्ने जग।
मैले समय जन्माउँछु
समय मैलाई अधिन गर्छ।
मैले संस्कार स्वीकार्दछु
आदर्श मै माथि हावी हुन्छ।
कलिला फूलहरु फुल्दै आउँछन्
स्नेहले सिञ्चित गर्छु।
मुर्झाएर झर्छन् फूल,
तिनको पनि जतन गर्छु।
भनिदेओ न ए! जीवन हो
म धीर हुँ या अधीर हुँ?
मैले त आफ्नो अस्तित्व
खुट्याउन छाडिसकेँ
तिम्रा इसारामा नाच्ने
कठपुतली भइसकें।
तर पनि म अझै
जड नै छु, स्थीर छु।
किनकि म,
प्रकृति हुँ।
धर्म निर्वाह त केवल
मेरै भागमा परेको छ।
यो कस्तो स्वाधीनता हो?
मलाई स्वयमले नै
वशीकरण गर्दछ।
मैले आफ्नो स्वरूप कहिल्यै निहारिन
किनकि,
तिम्रा भावभङ्गीमा मैले
मेरै चित्र त पाँउछु
उदेक लाग्छ,
कति कुरूप भइसकेछु
ए! कला प्रेमी हो
तिम्रो चित्रमा म,
र
मेरो चित्रमा तिमी,
दुवै सुन्दर लाग्छन्।
फरक यत्ति छ
तिम्रो चित्र।
मेरो वृत्तचित्र।
ए! शुत्राधार
तिम्रो आविष्कारमा
मेरो आकाशतत्व पनि
स्वाहा!
ए! सर्वशक्तिमान
मेरा छातीमा अझै
वसन्ती मादकता छचल्किँदै छ
पीयुषधारा बहकिँदै छ
आउनु र निमिट्यान्न पार्नु
अनि,
विराजित हुनु
मेरै गर्भमा।