'ठुलो भएर के बन्छस् हँ, जुठे?' पिताम्बर काकाले देउराली चुरोटको धुवाँ सरर आकाशतिर फुक्दै सोधे।
बिहानैदेखि लागेको कुहिरोले गर्दा आँगनको ओल्लो छेउबाट पल्लो छेउसम्म पनि राम्रोसँग देखिदैनथ्यो। त्यसैमाथि चुरोटको धुवाँमा उनको अनुहार मुस्किलैले चिनिन्थ्यो।
'डाक्टर हुनिओं केरे,' आकाशे रंगको सर्ट र कालो जाँघे लगाएको, कपालमा तेल छापेर जुल्फी लरक्क दाइनेतिर फर्काएको जुठे स्कुल जाने हतारमा थियो। उसले सुर्के झोला पछाडि भिर्दै भन्यो।
जुठेका बा पनि त्यहीबेला घाँसको भारी बोकेर टुप्लुक्क आँगनमा आइपुगे। आँगनको डिलमा भारी बिसाएर खुइय्य श्वास काट्दै जुठेलाई हकार्न थाले।
'हेर न यो खानको काल अझै स्कुल मुन्टेको छैन। हतारमा डोको पनि राम्रोसँग नभरि हिड्यो मुर्दार।'
'हैन किन गाली गर्छस् हँ विचरालाई? डाक्टर बन्छु भनेको छ। यो गाँउमा डाक्टर पनि छैनन्। भोलिपर्सी यो डाक्टर भयो भने हाम्ले पनि उपचार पाम्ला केरे। कि कसो हो जुठे?' पिताम्बर काकाले कुटिल हाँसो छर्दै भने।
'बन्छ यो मुजी डाक्टर? कस्ता कस्ता काँ गए, मुसाको छोरो दरबार। सात कक्षासम्म पढो भने जनतन, बाटाखर्च खोजेर डिल्लीतिर लखेट्दिने हो' धम्मनेले जुठेल्नामा ख्याक्क थुक्दै भन्यो।
जुठे केही नबोली प्याट्ट प्याट्ट हात्तीछाप चप्पल पट्काउँदै स्कुलतिर लाग्यो।
'हैन धम्मने, तेरो छोरो पढ्नमा एक नम्बर छ रे भन्ने कुरो मैले सुनेको छु। चाइने भन्न परो। पाँच कक्षामा फस्ट भयो रे त। पढाइ छुटाउने कुरो नगर है।'
'फस्ट भएर पेट भोरिन्न। कसैले फस्ट भैचस् ला भनेर पैसा दिन्नन्। जाबो एउटो कापी लेर आथ्यो। त्यसले खान दिन्न केरे। साहुले लैनो भैसी फुकाएर हिँडाले' धम्मनेले भारीबाट नाम्लो झिक्दै भन्यो।
'अलि एक/दुई वर्ष कुर्न भानिनस् र? मानिहाल्थे पो कि।'
'एक/दुइ वर्ष कुर्नुस्। बाटो खन्न गएर भएपनि ब्याज तिर्दै गरम्ला। सकिनँ भने जायजेथा भएपनि बेचेर मिलाम्ला भनेँ। अहँ! फिटिक्कै सुनेनन्।'
'अलि अलि पैसो पनि त देका होलान, दिएनन् र?' पिताम्बरले चाँसो दिँदै सोधे।
'केको दिन्थे! पाए उल्टै लान्थे होला। पापी हैचन्। भनेको बेला घरको काम छोडेर भएपनि उन्कोमा काम गर्न गएकै थिएँ। गरिब भएपछि हेप्दा रैचन।'
'धेरै पिर नगर्। भकारामा एउटो कोरली छँदैछ। अहिलेको हिउदमा लारियो भने तेरा दिन फेरि फर्कन्छन्' पिताम्बरले गोठतिर नजर लगाउँदै भने।
'ढिडो सेलाइसक्यो। हैन दुई जना केको फत्तुरा गाँसेर बसेको यतिबेरसम्म?' धम्मनेको श्रीमती चिच्याई भित्रबाट।
पिताम्बर काका ओरालो लागे। उनी आफ्नो घर जाने पानीको पाइप जोड्न ट्यांकीसम्म पुगेर फर्कँदै थिए।
धम्मनेले आस्कोट खोलेर दलिनको किल्लामा झुन्ड्यायो र लोटामा पानी सारेर हात, खुट्टा र मुख धोयो। गाग्रोबाट अर्को एकलोटा पानी सार्यो र भित्र पस्यो।
जुठेको क्लासमा रामचन्द्र सरको पहिलो घन्टी थियो। ऊ दुई मिनेटजति ढिलो पुग्यो। उनले जुठेलाई कुखुरो बनेर सबैको अगाडि एक फन्को लगाउन भने।
आदेश बमोजिम उसले पनि घोप्टो परी दुवै हाँत टाँगमुनिबाट छिराएर कान समात्यो। ढलपल ढलपल गर्दै एक फन्को मार्यो। सबैजना उसलाई हेरेर गलल हाँसे। उसले झोला समात्यो र सबभन्दा पछाडिको बेन्चमा गएर बस्यो।
रामचन्द्र सरले सामाजिक शिक्षा पढाउँथे। हिजो लेखाएको प्रश्न उत्तर घोक्न लगाए सबैलाई र पन्ध्र मिनेट नहुँदै कक्षाबाट बाहिरिए। उनी कक्षाबाट निस्कनासाथ हल्ला सुरु भयो। केहीबेरमै हेडसर रन्किँदै आइपुगे।
कोठा बाहिर निस्केका एक/दुई जनालाई लौरोले चाकको फिलामा सोठ्याई पनि हाले। त्यसपछि सुरु भयो सबैले भाका मिलाएर पाठ घोक्न।
दोस्रो घन्टीमा विज्ञान विषय थियो। अखिलेस झा धेरै दिनदेखि अनुपस्थित थिए। उनको सट्टा सधैँ जगेडा शिक्षक पठाउँथे हेडसरले। कसैले पनि किताब खोलेर विषयवस्तु पढाउँदैनथे। डेस्कको एउटा छेउमा बसेर पालैपालो विषयवस्तुभन्दा बाहिरको प्रश्नहरु सोध्थे।
'ल भन जुठे, ठुलो भएर के बन्ने विचार छ?'
'डाक्टर बन्चु,' उसले तत्कालै जवाफ दियो।
'यल्ले त पाँच कक्षामा होल्फस्ट मारेको हो केरे। डाक्टर बन्ला पनि,' दुर्गेले थप्यो।
'अनि, तँ नि?'
'म त भर्ति हुने। सके ब्रिटिस आर्मीमा, नसके इन्डियन आर्मीमा,' दुर्गेले तुरुन्तै जवाफ फर्कायो।
केटीहरुले 'खै के बन्ने हो थाँ छैन' भन्दै मुन्टो लुकाए।
घन्टी नबज्दै जगेडा शिक्षक पनि बाहिरिए। दिउँसो आधा घण्टा छुट्टी हुन्थ्यो। कोही धुलो माटोमा राज्य खेल्न थाले। कोही मोजाको बलको फुटबल खेल्न। कोही कटुस खोज्न जंगल पसे, भने कोही चराको गुड खोज्न झाडीतिर छिरे।
दिउँसोको हाफ छुट्टीपछि सबैजना आ-आफ्नो कक्षामा पसे। केहीबेरमा पाँच/सात जनाको समूहमा मान्छेहरु स्कुलको ग्राउन्डमा देखा परे। चौध/पन्ध्र वर्ष उमेर समूहका केटाकेटीहरु टाटेपाटे ड्रेसमा थिए।
उनीहरुलाई देख्नासाथ सबै शिक्षकहरु अफिसभित्र छिरे। एकछिन ग्राउन्डमै रोकिएर उनीहरुले केही सल्लाह गरे। त्यसपछि एक/एक जना गर्दै सबै कक्षाकोठामा छिरे।
एक वर्षअघि जुठेको दाइ एकाएक घरबाट हराएको थियो। सबैले माओवादीमा गयो भने। पुलिसले धम्मनेलाई दुई दिनसम्म क्याम्पमै राखेर छोडेको थियो। सायद जुठेलाई माओवादी भन्नासाथ दाइको याद आयो क्यारे। उसले जुरुक्क उठेर सोध्यो, 'हाम्रो दाइ पनि माओवादीमा गछ केरे, चिन्नुन्च?'
आफूलाई कम्रेड ज्वाला भनेर चिनाएको त्यो सिखुटेले 'पछि कुरा गरौँला भन्दै उसलाई चुप बनायो र आफ्नो भाषण दिन सुरु गर्यो।
'यो ब्रुजुवा शिक्षा हाम्रो हितमा छैन। यो सामन्तीहरुको लागि हो। हामीले जनवादी शिक्षा पढ्नु पर्छ। त्यो हाम्रो अधिकार हो। त्यसको लागि हामी राज्यसँग युद्ध लड्धै छौँ। तिमीहरुले पनि हामीहरुलाई साथ दिनुपर्छ,' उसले एकदम आत्मविश्वासका साथ भन्यो।
'त्याँ पढेर डाक्टर बनिन्च?' जुठेले सोध्यो।
'डाक्टर ब्रुजुवा शिक्षा हो। जनवादी शिक्षा भनेको क्रान्ति हो,' उसले झन् ठूलो स्वरमा भन्यो।
'क्रान्ति भनेको के हो? पुलिसलाई मार्नी हो?,' दुर्गेले सोध्यो।
'पुलिस सामन्ती राज्यसत्ताले पालेर राखेको हाम्रो दुश्मन हो। सबभन्दा पहिले तिनीहरुलाई सिध्याउन पर्छ। त्यसपछि बल्ल हाम्रो क्रान्ति सफल हुन्छ,' उसले फरर भन्यो। सायद यस्तै घोकाएर पठाएको थियो पार्टीले।
त्यहाँ न कसैले ब्रुजुवा भनेको के हो भन्ने कुरो बुझे न क्रान्तिको अर्थ। सबैले डरै डरमा उसको कुरा सुने। उसले एक एक गर्दै सबैजनाको नाम डायरीमा टिप्यो र अन्तिममा भन्यो 'अब तिमीहरु सबै अनेरास्ववियु क्रान्तिकारी भयौ। तिमीहरु डराउन पर्दैन। हामी तिमीहरुको साथमा छौ।'
त्यतिकैमा बाहिर बन्दुक पड्केको आवाज आयो। सबैजना डरले बेञ्चमुनि छिरे। कम्रेड ज्वाला निस्केर जंगलतिर छिर्यो।
'साले माओवादी पढाउने स्कुल हो यो? कता छ हेडमास्टर? सालेहरू सबलाई समात,' होचो होचो कद गरेको सेनाको कमाण्डरले आदेश दियो।
चारैतिरबाट नेपाल आर्मीले स्कुल घेरा हालिसकेको थियो। उनीहरुले जुठे लगायत केही विद्यार्थीहरुलाई त्यही राखे र अरुलाई घर घर पठाए।
त्यो दिन आर्मीले त्यहाँका सबै शिक्षकहरु र केही विद्यार्थीहरुलाई सोधपुछ गर्ने भन्दै आर्मी क्याम्प तर्फ लगे जुन स्कुलदेखि करिब आधा घण्टाको बाटोमा पर्दथ्यो। स्कुलदेखि पारिपट्टिको अग्लो पहाडको थुम्कोमा चार महिना पहिलेदेखि बस्दै आएको थियो सेना।
अर्को दिन अपरान्हसम्म पनि स्कुलबाट लगेको कसैलाई नछाडेपछि पीडितहरुका आफन्तहरु र गाँउका अलि जान्ने सुन्ने मान्छेहरु भेला भएर उनीहरुको स्थिति बुझ्नको लागि क्याम्पतिर लागे।
क्याम्पको बाहिर सेन्ट्रीमा बसेको जवानले उनीहरुलाई भित्र प्रवेश गर्न दिएन। उनीहरुले निकै बेरसम्म अनुरोध गरेपछि 'अबदेखि गाँउमा कुनै पनि माओवादी गतिविधि हुन नदिने र यदि कोही शंकास्पद मान्छे देखिए तुरुन्त आर्मीलाई खबर गर्ने सर्तमा' सबैलाई दस्तखत गर्न लगाए।
दस्तखत गरेको कागज मेजरलाई बुझाएपछि बल्ल उनीहरुलाई क्याम्पबाट छोड्यो। 'अर्कोपल्ट स्कुलमा कुनै मावोवादी देखियो भने सबैजनालाई सिध्याइदिन्छौँ,' भन्दै राता आँखाले एकपल्ट सबैलाई हेर्यो मेजरले।
भोलिपल्ट स्कुलमा चरो-मुसो पनि देखा परेनन्। 'आफू दुवै पक्षबाट अशुरक्षित भएको भन्दै हेडमास्टर सदरमुकामतिर लागेछन्। केही शिक्षकहरु तराईतिर झरे। स्कुल बन्द भयो।
त्यसपछि कसैले छोराछोरी लिएर तराई तिर झरे। कोही सदरमुकामतिर लागे। घर छोड्ने उपाय नभएकाहरुले अलि हुर्केका छोराहरुलाई दिल्लीतिर पठाए। एक-एक गर्दै गाउँ रित्तिदै गयो। स्कुलको गिराउनमा लुकामारी गर्दै माओवादी र आर्मीका जवानहरु परेड खेल्न थाले।
धम्मनेले जुठेलाई आफ्नै भान्जा जल्बिरेको साथ लगाएर दिल्ली पठायो। किताब बोक्ने झोलामा एकजोर कपडा र अलिकति मुलाको चाना बोकेर जुठे धुलोले पुरेको जिपमा चढ्दै गर्दा पिताम्बर काकाले भने,' डाक्टर बनेर आयस् है जुठे। राम्रोसँग गएस्।
उनी उज्यालो भएपछि लखर लखर जताततै डुलेका हुन्थे। उनको वचनले जुठेको छातीमा चस्स दुख्यो। सबैले जुठेलाई अनौठो मान्दै हेरे। सायद जुठेको डाक्टर बन्ने अनुहार नै छैन। जुठे केही नबोली चुपचाप पछाडिको सिटमा गएर बस्यो।
दिल्ली पुगेपछि जुठेको संसार करोल बागको एउटा दुई तले घर भयो। बिहानदेखि बेलुकासम्म घरको काम गर्ने, मालिकको गाडी धुने, बगैँचामा पानी हाल्ने काम गर्दै पछि घरको खाना समेत बनाउने काम गर्न थाल्यो।
महिनौँसम्म काम गर्दा समेत उसले मालिकबाट तलब पाएन। 'महिनाको भारु बाह्र सय मिल्छ तनखा। केही नबोली खुरु खुरु काम गरेस्' भनेर छोडेको थियो जल्बिरेले।
पैसाको कुरा गर्दा मालिकले कहिले घर जाने बेला एकमुस्ट दिने भन्दै कुरा टार्थ्यो भने कहिले 'भैयाको दे चुके हैं' भन्थ्यो। तर उसलाई काममा लगाएपछि वर्ष दिनसम्म पनि जल्बिरे देखा परेन।
एकदिन जुठेले आफू घर जाने भन्दै मालिकलाई पैसा माग्यो। तर उल्टै पैसा चोरेको आरोप लगाउँदै पुलिस बोलाएर जेलमा पठाइदिने भन्दै धम्काउन थाल्यो। बेलाबेलामा गाडी राम्रोसँग धोइनस् भन्दै जानी जानी जुत्ताले खुट्टा कुच्ने, चुरोटको धुवाँ मुखतिर फुक्ने गर्न थाल्यो।
दिनदिनैको शारीरिक तथा मानसिक यातनाले गर्दा जुठे रातिमा समेत तर्सेर जाग्न थाल्यो। एक्लै चिच्याउन थाल्यो।
घरको पारिपट्टि एउटा रेस्टुरेन्ट थियो। मालपुवा, मोतिचुर लड्डु, बर्फी, काजुकत्ली, जेलेबी बाहिर सजाएर राखेको थियो। जुठेले मन थाम्न सकेन। मालिक्नीको कोठामा सय रुपियाँ देखेको थियो ड्रेसरमा, सुटुक्क झिक्यो र मिठाई पसलमा गएर बर्फी र लड्डु किन्यो। तातो तातो जेलेबी पनि खायो। तर अर्को दिन मालिकले थाहा पाएछ र उसलाई नराम्रोसँग भकुरेछ।
त्यसैको दुई दिनपछि मध्यरातमा ऊ केही पनि नलिई त्यहाँबाट भाग्यो। नजिकैको करोलबाग मेट्रो स्टेशनमा रात काट्यो। उसलाई कहाँ जाने, के गर्ने कुनै मेसो भएन। अर्कोदिन हिँड्दै हिँड्दै ऊ हनुमान मन्दिर पुग्यो।
मन्दिरको बाहिर भक्तजनहरुको भिड थियो। उसले कोही नेपाली भेटिन्छ भनेर धेरैबेरसम्म कुरिरह्यो। तर ऊसँग कोही पनि बोल्न चाहेनन्। नेपालीको अनुहार देख्ना साथ् दाइ, दिदी भनेर बोलाउँथ्यो तर सबैले 'यस्ता बहाना बनाएर माग्नेहरू धेरै हुन्छन्' भन्दै उसको कुरा नसकिँदै हिँड्थे।
एक दिन, दुई दिन हुँदै समयले भनौँ या भोको पेटले उसलाई भिखारी बनाइदियो। ऊ दिनदिनै जसो मन्दिरहरुको आसपासका सडकहरुमा बस्न थाल्यो। मन्दिरको बाहिर भिख माग्नेहरू थुप्रै हुन्थे। तर त्यो भिडमा ऊ अलग्गै बस्थ्यो। हेर्दा सोझो र दयालु अनुहार देखेर होला उसलाई धेरैजसोले केही न केही दिएर जान्थे।
आफूहरुले भन्दा उसले धेरै पैसा पाएको देखेर एकदिन राति मगन्तेहरुको ग्रुपले उसको सबै पैसा लुटे र नराम्रोसँग कुटेर त्यहाँबाट लेखेटे। त्यसपछि ऊ धेरै दिनसम्म दिल्लीका सडकहरुमा कुकुरहरुसँगै सुत्यो। कसैले फालेको खानेकुरा टिपेर खायो। कसैले पाकेटमार भनेर कुटे, कसैले फोहोरी भनेर थुके।
वास्तविक भगवान हुन्छन कि हुँदैनन् त्यो उसलाई नै थाहा थिएन तर एकदिन कल्पना गरेजस्तै भगवान बनेर आइन् एक महिला जुठेको जीवनमा।
सोनिया नाम गरेकी करिब पचास वर्ष उमेरकी ती महिलाले एउटा अनाथालय संचालन गरेकी रहिछन्। उनले सडकमा दु:ख पाएर लडिरहेका बालबालिकाहरुलाई आफैले उठाएर घरमा लैजान्थिन् र आवश्यकता अनुसार उपचार पनि आफैले गरिदिन्थिन्।
उनको छोरा अशोक दिल्ली मेडिकल कलेजको वरिष्ठ डाक्टर थिए। उपचारको सबै व्यवस्था उनले निशुल्क गरिदिन्थे।
अनाथालयमा अरुपनि थुप्रै केटाकेटीहरु थिए। उनीहरुको उमेर समूह र मानसिक अवस्थाको मापदण्ड अनुसार अलग-अलग समूहमा राखेको थियो। धेरैजसो नयाँ आउने र पुरानाहरू जाने क्रम चलिरहन्थ्यो।
आउनेहरु सबैजसो सडकहरुबाटै आउँथे। तर जानेहरु कहाँ जान्थे, त्यो कुरा अनाथालयको मालिकलाई भन्दा अरुलाई सायदै थाहा थियो होला।
उनीहरुको पढाइलेखाइ पनि त्यही संस्थाले गर्दथ्यो। त्यहाँका केटाकेटीहरु नजिकैको एउटा स्कुलमा पढ्न जान्थे। जुठे अरुभन्दा अलिक कम बोल्ने, हरेक कुरामा रुचि राख्ने र भनेको कुराहरु पछिसम्म पनि सम्झन सक्ने खालको थियो।
पढाइमा एकदम रुचि भएको र सिकाएको कुरा एकैपल्टमा सिक्ने गरेको देखेर स्कुलका शिक्षकहरु पनि ऊसँग प्रसन्न थिए। उसलाई कक्षा पाँचमा भर्ना गरिएको थियो।
रिजल्टको दिन स्कुल प्रिन्सिपल अनुप राठौरले उसलाई अफिसमा बोलाएर सोधे 'क्या बन्न चाहते हो?'
'डाक्टर,' जुठेले निर्धक्कका साथ भन्यो।
त्यसैबेला प्रिन्सिपलको ढोकै अगाडि दुई जना मान्छेहरु देखा परे। उनीहरुले प्रिन्सिपलसँग केही जरुरी कुरा गर्नु छ भनि समय मागे। जुठे त्यहाँबाट बाहिर निस्क्यो।
केहीबेरमा एक्कासी स्कुलमा प्रहरीले छापा मार्यो। अनाथालयबाट आउनेजति सबै केटाकेटीहरुलाई उनीहरुले पक्राउ गरे। उता अनाथालय संचालक सोनिया पनि गिरफ्तारमा परिन्।
जताततै सोनियाले अनाथालयको नाममा मानव तस्करको काम गरेको भनेर समाचारहरु आउन थाले। उनले त्यहाँबाट अनाथ बालबालिकाहरुलाई अन्य मुलुकहरुमा ठुलो रकम लिई बेच्ने गरेको भन्ने समाचार देशैभरि भुसको आगो सल्के झैँ सल्कियो। अनुप राठौर समेतलाई प्रहरीले पक्राउ गर्यो।
अनाथालयका सबैलाई उनीहरुको आफन्तहरु फेला पारेसम्म उनीहरुको जिम्मा लगायो। जुठेलाई प्रहरीले नेपाली दुताबासको जिम्मा लगायो। अन्य चारजना अरु केटाहरु पनि ऊसँगै थपिए। माघ महिनाको बिहानीमा उनीहरु काठमाडौँ ओर्लिए।
नेपाल अनाथालय संस्थाले उनीहरुको जिम्मा लियो। जुठेले आफू आफ्नो घर जान चाहेको कुरा अनाथालयको संचालकलाई बतायो। उसले घरको ठेगाना पत्ता लगाएर दुई जना कर्मचारीसँग संचालकले उसलाई घर पठाए।
दुई दिन लगाएर उनीहरु जुठेको घर त पुगे तर घर भएको ठाँउमा बनमाराको झाडी थियो। नजिकै गएर हेर्दा झाडी भित्र भत्केको घरको भित्तो मात्र देखिन्थ्यो। गाँउमा अन्य घरहरुपनि भूतघर झैँ सुनसान थिए।
अलि तल पिताम्बर काकाको घरमात्र ठाडो थियो। ऊ त्यतै गयो। कपाल सेतै फुलेको, छाला चाउरिएर इन्द्रजाल जस्तै मुजा परेको, नजिकै टपरीमा माटो राखेर खकार थुक्ने गरेका निकै रोगी र बुढा थिए पिताम्बर काका। जुठेले उनलाई प्रणाम गर्यो। तर पिताम्बरले उसलाई चिनेनन्। घरमा एक्लै थिए उनी।
'म जुठे क्या, चिन्नु भएन काका?'
उनले आँखा अलि तानेर हेरे। धमिलो पर्दामा जुठेलाई नियाल्न खोजे। केही बोल्न खोज्दै थिए लामो खोकी लाग्यो उनलाई। खोकी रोकिएपछि टपरीमा खकार थुक्दै भने 'डाक्टर बनेर आइस् जुठे?'
उसको मन निचोरियो। दुवै आँखाका कोसबाट आँसुका ढिक्का जमिनतिर हाम्फाले।
वर्षौंअघि पिताम्बर काकाले 'डाक्टर बन्छु भनेको छ। यो गाँउमा डाक्टर पनि छैनन्। भोलिपर्सी यो डाक्टर भयो भने हाम्ले पनि उपचार पाम्ला केरे। कि कसो हो जुठे?' भनेको उसको दिमागमा धेरैबेरसम्म कम्पित भैरह्यो।