हिजो भनिने विस्तारवादलाई
बुँदा बुँदामा ड्राफ्ट कोर्न लगाएको छु
सधैँ होशियार भनिने साम्राज्यवादलाई
अहिले त रोडम्याप नै बनाएको छु।
धर्म निरपेक्षताको सम्मान गर्दै,
होलिवाइनलाई सांस्कृतिक पर्व बनाएको छु।
मौलिक संस्कृतिमा थप आकर्षण बढोस् भनेर,
नैतिक शिक्षा नै परिमार्जन गरेको छु।
विधायकको हैसियत बढोस् भनेर,
घोषणा र नीतिमा आश्वासन फुकाएको छु।
रोजगारीको अवसर श्रृजना होस भनेर,
जनशक्तिको निर्यातमा प्रोत्साहन बढाएको छु।
व्यापार अझ फस्टाओस् भनेर,
संक्रमणकालमा पनि थप कर तिराएको छु।
खहरे झैं उर्लेर पनि समुद्रमा सुस्ताएको छु।
उषा किरणका साथ उदाएको सूर्य
मध्यान्ह मै अस्ताएको छु।
ज्ञान विज्ञानले नै द्वन्द बढेपछि,
पुस्तकको बढोत्तरीमा कर लगाएको छु।
रासायनिक मलको अभाव नखट्कियोस् भनेर,
स्वदेशी दूध, तरकारीलाई नै कम्पोष्ट बनाएको छु।
ओजन तहमा प्रदुषण हवाला दिँदै,
विद्युतीय गाडीमा कर बढाएको छु।
अर्थतन्त्र केही चलायमान देखियोस् भनेर,
सवारी खरिदमा समेत बजेट बढाएको छु।
दिव्य ज्ञान प्राप्तिपछि नै,
रछ्यानको गुर्जोमा भविष्य देखाएको छु।