झमझम पानी परिरहेको थियो। जहाज त्रिभुवन विमानस्थलमा अवतरण भयो। जहाज रोकिएपछि हामी सबै उत्रनको लागि सिटबेल्ट खोल्यौं। साँझ झमक्क परिसकेको थियो। हल्का जाडोको अनुभव भएको थियो। लगेजको लागि प्रतीक्षारत थिएँ।
पानीले भिजेका लगेजहरू बिस्तारै घुम्दै थिए। मेरो लगेज पनि पानीले भिजेको अवस्थामा मेरो नजिक घुम्दै आयो। लगेज आफूतिर तानेँ।
ट्रलीमा लगेज गुडाउँदै बाहिर निस्कँदै थिएँ, बाहिरको मूलगेटमा नै मेरो नाम लेखिएको सानो कार्टुनको पोष्टर देखियो। जसलाई एउटा महिलाले समाउनु भएको थियो। पोष्टरमा नाम छ भन्दैमा म नै हुँ भन्न पनि त सकिएन। एउटै नाम भएका त कति छन् यो दुनियाँमा।
यही कुरा सोचेर अगाडि बढ्दै थिएँ।
‘ए! हजुर सुन्नुस् त’, त्यो पोष्टर समाउने महिलाले मलाई बोलाइन्। मुख मास्क अनि टाउको बाक्लो टोपीले ढाकिएको थियो। अनुहार प्रष्ट देख्न सकिरहेको थिइनँ। तर बोली भने सुनेको जस्तो लाग्यो।
घर आज जान सम्भव थिएन। उनले कुन होटलमा जाने भनि प्रश्न गरिन्। कुन होटलमा जाने पक्का थिएन।
‘के हजुरको होटल छ?’ उनलाई प्रतिप्रश्न गरेँ।
‘होटल त होइन मेरो ट्याक्सी छ।’
ओहो! कुरो त्यसो पो रहेछ। नेपालको एयरपोर्टमा पहिलोपल्ट महिला ट्याक्सी ड्राइभर भेटेको थिएँ। उनले मेरो ट्रली ब्याग गुडाउँदै ट्याक्सीतिर गइन्। म उनैको पछि लागेँ।
अलि तलपट्टि ट्याक्सी पार्किङका थियो। सामान ट्याक्सीको छतमा राखियो। ट्याक्सीको सिसामा कालो कभर थियो। पछाडिको सिटमा बस्न ढोका खोलें। अचम्मको अनुभव भयो। ट्याक्सी अति सफा सुग्घर थियो। राम्रोसँग सम्झाइएको पनि थियो।
धेरैपल्ट आएँ तर यस्तो ट्याक्सी सफा सुग्घर , सजावट भएको देखेको थिइनँ।
म पछाडिको सिटमा बसेँ। अगाडिको सिटमा एउटा बच्चा पनि थियो। ऊ अगाडि फर्किएर गेम खेल्दैथियो। अनुहार राम्रोसँग देखिनँ।
कस्तो खालको ट्याक्सी हो, सोचिरहेको थिएँ।
ट्याक्सी ड्राइभर महिलासँग उनको बारेमा सोध्न मन थियो। महिला भएकोले धेरै कुरा छिटो सोध्न मन मानिरहेको थिएन। लामो यात्राले थाकेको शरीर कुरा भन्दा नि आरामतिर ध्यान दिएँ। पानी अझै रोकिएको थिएन।
ट्याक्सीको वाइपरले सिसा परेका पानीका थोपाहरू सफा गर्दै ट्याक्सी आफ्नो रफ्तारमा कुदिरहेको थियो। राजधानी भए पनि खल्डाखुल्डी भएको रोड हुँदा ट्याक्सी उफ्रिँदै अगाडि बढ्दै थियो।
‘तपाईंले चिनेको कुनै होटल छ?’ ती ट्याक्सी ड्राइभरले मलाई सोधिन्।
‘छैन’, छोटो उत्तर दिएँ।
‘त्यसो भए ,मैले चिनेको राम्रो होटल छ। हजुरलाई त्यही लान्छु।’
‘हुन्छ’ भनेँ तर उनको आवाजले फेरि सोच्न बाध्य बनायो, यो आवाज कतै न कतै सुनेको छु। तर ठम्याउन सकिरहेको थिइनँ। म परदेशमा बस्ने यिनी यहाँ ट्याक्सी चलाउँछिन्। कसरी सम्भव हुन्छ ?, यो आवाज मैले कतै सुनेको छु भनेर।
ट्याक्सी होटलको अगाडि गएर रोकियो। त्रिपालले ढाकिएको लगेज होटलका भाइहरूले निकाल्न थाले। ती ट्याक्सीवाली सिटमै बसिन्।
किन,किन तिनी मसँग परिचित हुन नचाएको अनुभव मलाई भइरहेको थियो।
उनले फेरि मलाई सोधिन्- भोलि कति बेला जाने हजुर, म हजुरलाई बस पार्कसम्म पुराई दिउँला नि?
‘बिहान सात बजे बस छुट्छ। त्यसैमा जाने हो।’
‘त्यो त, मलाई पनि थाहा छ। म छ बजे आउँछु अनि बसपार्क जानुहोला।’
मैले हस् भनेँ।
फेरि उही प्रश्न। कसरी थाहा भयो यिनलाई मेरो गाउँमा बस जाने समय। जबकि मैले उनलाई मेरो गाउँ नै बताएको छैन। मेरो प्रश्नको उत्तर म आफैंसँग थिएन।
ट्याक्सी फर्काउँदै थिइन्। मेरो आँखा अगाडि बसेको बच्चाको अनुहारमा पर्यो। म झसंग पो भएँ। यो बच्चा त कतै देखें जस्तो पो लाग्छ त! यति सोच्दासोच्दै ट्याक्सी अगाडि बढिसकेको थियो। बच्चाको अनुहार भने मेरो आँखामा घुमिरहेको थियो।
धेरै समयपछि नेपाली टेस्टको मीठो मासुभात खाएर रूममा पुगेँ।
आफू काठमाडौं आइपुगेको जानकारी घरमा दिएँ।
सुत्ने तरखर गर्दै थिए अचानक त्यही बच्चाको अनुहार याद आयो।
फेसबुक चलाउन थालेँ। अपरिचित व्यक्तिले मलाई केही समयदेखि फलो गरेको थियो। मेरो आँखा त्यसैको प्रोफाइलमा पर्यो। आइडीको नाम थियो- नासो।
गहिरिएर हेरें ,कपाल सेतो रातो, रातो गाला भएको बच्चाको तस्बिर थियो। न अरू कुनै पोस्ट, न तस्बिर। फेक आइडी होला भनि वास्ता गरिरहेको थिइनँ। तर जब नियालेर हेरेँ। त्यो बच्चा र आज ट्याक्सीमा देखेको बच्चाको अनुहार मेल खाइरहेको थियो।
यो संयोग हो अथवा सत्यता?
के रहेछ भनेर बुझ्न खोजेँ। र हाई भनेर मेसेज पठाएँ। तर अफलाइन रहेछ। एकछिन प्रतीक्षा गरेँ तर अनलाइनमा देखिनँ। यतिकै निदाएछु।
बिहान उठिसकेपछि तातोपानीले नुवाएँ। होटलको वेटरले चिया ल्याएर दियो। चिया पिउँदै थिएँ।
ढोकामा टक, टक आवाज आयो।
ढोका खुला छ भनेँ।
ढोका खुल्नेबित्तिकै हिजोकी ट्याक्सीवालीलाई देखें। आज पनि उस्तै भेषमा थिइन्।
म पनि सामान लिन आएकी होलिन् भन्दै समान मिलाएँ। उनी अगाडि भएको कुर्चीमा आएर आफ्नो घरमा झैं नसोधी बसिन्। म के बोलूँ शब्द नै आएन।
‘जाऊँ न त’ उनलाई अनुरोध गरेँ।
उनले आफ्नो मास्क खोलिन्। म नराम्रोसँग तर्सिएँ।
‘अझै पनि मेरो पछाडि छोडिनौ है तिमी?’
‘सधैँ सहयोग गर्ने मान्छेलाई पनि बिर्सन सकिन्छ?’, उनले उल्टै प्रश्न गरिन्।
‘ अनि के नासो लेखेको फेसबुक आइडी नि तिम्रो हो मैले थपेँ। किन, सधैँ यस्तो गर्छौ तिमी?’
‘हो नि, आइडी पनि मेरो हो। त्यसमा भएको बच्चाको फोटो मेरो छोरोको। हजुरलाई केही भन्नु छ?’ उनले थपिन्।
‘किन नहुनु, धेरै कुरा भन्नु छ तिमीलाई। म उनलाई भन्दै गएँ।
गाउँमा तिम्रो चरित्र कस्तो थियो। त्यही कारण तिमीलाई गाउँ छोड्न पर्यो।तिम्रो चरित्रमाथि सबै जनाले प्रश्न उठाउँदा चुपचाप सहयोग गरी गाउँबाट भाग्न सहयोग गरेँ। एक नारी सम्झिएर। सुध्रनलाई सुझाव पनि दिएँ। तिमीमा फेरि पनि सुधार आएन। जब परदेशमा तिम्रो र मेरो भेट भयो। अलपत्र अवस्थामा थियौं। त्यतिबेला पनि तिमी सुध्रिएको पाइनँ। तिम्रो पेटमा अनैतिक सम्बन्धको बच्चा थियो। जुन हाम्रो समाजलाई मान्य थिएन। त्यही गलत कामले गर्दा आफ्नो काम गुमाएको बताएकी थियौ। फेरि पनि त्यो समयमा परदेश हो,भनेर आफ्नो कर्तव्य सम्झी सहयोग गरेँ। नेपाल पठाउने व्यवस्था मिलाइदिएँ। सकिनँ म तिमीसँग अब के खोज्दै छौ त मसँग ?
‘मेरो गाउँ ,मेरो लागि नभए पनि हजुरले त मलाई सधैँ साथ दिनु भएको छ नि’, उनले भनिन्, अनि कसरी बिर्सन सक्छु म हजुरलाई।’
‘तिमीले समाजमा मान्य हुने काम पनि त गर्नु पर्यो नि। सबैले तिमीलाई माया गर्नको लागि’, अलि रिसाउँदै उत्तर दिएँ।
‘त्यो मेरो विगत थियो। गल्तीको सजाय पाइसकेको छु। यो सडकमा कति दिन त भोकै सुतेँ। यो सडकले पनि मलाई गाली गरेजस्तो लाग्यो। आफैंलाई हिनताबोध पनि भयो। आफू र पेटको बच्चासँगै पासोमा झुण्डिने प्रयास पनि गरेँ। तर आफ्नो गल्तीको सजाय बच्चालाई कसरी दिनूँ ? अनेक दुःख गरी परदेशबाट बोकेर आएको नासोलाई सडकमा जन्म पनि दिएँ। यो दुःख नै सायद विगतको कर्मको सजाय थियो। म विगत भुलेर नयाँ जीवन जिउन थालेकी छु। मैले परदेशमा सिकेको ड्राइभिङ यहाँ काम लाग्यो। साथमा छोरो छ,गरिखाने किस्ताको ट्याक्सी छ। तपाईंको गुनले मलाई सधैं नजिक रहन मन लाग्यो। गल्ती भए माफ गर्ने र सहयोग गर्ने हजुरलाई भुल्न सकिनँ। नासो फेसबुकको आइडी खोल्नुको उद्धेश्य पनि यही थियो। आउनुस् म तपाईंलाई बसपार्कसम्म पुर्याइदिन्छु।’
‘ओहो!सुमना तिमी मलाई सधैं तर्साउँछौं। यसपालि भने पक्कै सुध्रिएछौ। म खुसी भएँ। तिमीलाई परदेशबाट घर पठाउँदा मलाई ठूलो चिन्ता थियो। तिमी के गरौंली भनेर। वास्तवमा तिमी साहसी नारी पो रहेछौ। तिम्रो कुरा सुनेर म भरोसा गर्न सक्छु अब। विगत, विगत हो। बाँकी जीवन राम्रोसँग जिउन सिक यही कामना छ। मिल्छ भने बरू तिम्रो ट्याक्सीमा गाउँसम्म पुर्याइदेऊ न।’
‘त्यसो नभनुस् गाउँमा अझै पनि मलाई राम्रो मान्दैनन्।’उनका आँखा रसाए।
यतिकैमा उनको बच्चा पनि आयो।
‘ममी किन रूनु भएको। बच्चा काखमा लडीबुडी खेल्न थाल्यो। झोलाबाट चकलेट निकाली बच्चाको हातमा दिएँ। ऊ खुसी हुँदै मतिर हेरिरह्यो। मैले उसको उज्वल भविष्य कामना गरेँ।
हामी बसपार्कतिर गयौं। उनले मलाई आफ्नो कार्ड दिई। अब काठमाडौं आउँदा मेरो ट्याक्सीमा घुम्नु पर्छ भनिन्।
अब मसँग नतर्सनु म सुध्रिसकेकी छु,भनि फिस्स हाँसिन्।
म पनि यसपालि खुसीको हाँसो हाँसेँ।
उनलाई मैले परदेशबाट बाई,बाई गरेको थिएँ। उनले मलाई काठमाडौबाट बाई ,बाई गरिन्।
जे जस्तो भए पनि उनको हिम्मत देखेर खुसी लाग्यो।
उनी परदेशी नासोलाई ट्याक्सीमा लिएर आफ्नो कामतिर हुँइकिन्। म बसेको बस पनि गन्तव्यतिर दौडियो।
यो पनि :
मेरो गल्ती थियो कि कर्तव्य?