कथाकी पात्र सती
सतीका पति शिव
पतिको तिरस्कारमा
अग्निकुण्डमा देह त्यागेकी पवित्र नारी सती
अनि
तिम्रो सतीप्रथा,
जीउँदी आमा, छोरी, बहिनी र बुहारीलाई
मोई तिघ्रेहरुले लखेटी लखेटी
बाँसले ठटाई ठटाई
ढुंगाले थिची थिची मारेर
पतिको लासमाथि
जिउँदै जलाएर
घर फर्कने बित्तिकै घिउ र भात खानसक्ने
तर पनि पश्चाताप नगरी बाँचेकाहरु
आँखा आकाशतिर फर्काएर भन्छन्-
'पहिला सत्ययुग थियो।'
छुवाछूत र छोइछिटोको आगो
आफ्नै घरमा झोसेर
खरानीको लागि घर बाल्नेहरु,
कल्पनाको कथालाई
जीवनको प्रयोगशालामा दूध र विष झैं घोलेर
सभ्यता नै विषाक्त पार्ने भाइरसहरु
मस्जिद, मन्दिर र गुम्बाबाट कुर्लन्छन्-
'पहिला सत्ययुग थियो।'
रजस्वला पाप भन्दै
छाउपडी पठाउने
र
छाउमै गएर नाबालिका डस्ने
काला सर्पहरु,
पुन्य कमाउने नाममा
रजस्वला हुनु अघि नै कन्यादान गरिदिने
ज्वाइँलाई कात्रो
र छोरीलाई सिन्दुरसँगै पठाउने चेतनरोगीहरु
भगवानको दुत नै आफै झैं गरी भन्छन्-
'पहिला सत्ययुग थियो।'
जोत्ने जन्मे हाँस्ने
पोत्ने जन्मे मास्ने
पिण्ड पूजारीका उपासकहरु
कलंकित संस्कारका जन्मदाता, कर्मदाताहरु
देवीथान धाएर
चण्डी पाठ गरेर
भगवतीको मन्त्र कण्ठ पारेर
छोरीलाई गिजोली गिजोली मार्ने ढोंगीहरु
सरस्वती स्तोत्र पढ्दै भन्छन्-
'पहिला सत्ययुग थियो।'
धिक्कार! सत्ययुग बाँच्नेहरु हो,
अब नसुनाऊ त्यो कथा
मलाई मेरै युगमा बाँच्न देऊ
समानता र मानवीयता हाँस्न देऊ
बस्,
मलाई मेरै युग बाँच्न देऊ
चाहिएन मलाई तिम्रो जस्तो सत्ययुगीन चेतना।