युग अघिको म,
त्यो भरि महा-पुरुषहरुको सभामा,
निर्वस्त्र बनाउन खोजिएकी द्रौपदी म नै हुँ
आफ्नो पवित्रता सावित गर्न अग्नि परीक्षा दिएकी
सीता पनि म नै हुँ
आफ्नो पतिको चितामा आफूलाई जिउँदै जलाउने
सती पनि म नै हुँ
अनि शास्त्रहरुमा देवी बनाइएकी, पूँजिएकी
श्री स्वस्थानी, सन्तोषी, सरस्वती, लक्ष्मी पनि म नै हुँ।
युगपछि अहिलेको म,
न्यायको लागि भौतारी रहेकी
निर्मला पन्तको आत्मा म नै हुँ
जंगलमा अर्धनग्न भागरथी भट्टको लास पनि
म नै हुँ
तेजाव आक्रमणमा परेकी
मुस्कान खातुन पनि म नै हुँ
अनि, नारी दिवसमा लामा पोस्ट लेखी
शुभकामना जसलाई समर्पित गरिन्छ
त्यो पनि म नै हुँ।
आमाको मुख हेर्ने दिन हृदयस्पर्शी पोस्ट
जसका लागि समर्पित गरिन्छ
त्यो पनि म नै हुँ।
युग बिते,
अनेकौँ विकासावादी परिवर्तन आए
तर म अझै पनि
आफ्नो सारी बचाउने प्रयासमा नै छु
जीवनका हरेक खुट्किला पार गर्ने क्रममा
अग्नि परीक्षा दिनैरहेकी छु
समाजको साँघुरो सोचको चितामा
अझै जलिनैरहेकी छु ।
मप्रतिको प्रेम, सद्भाव, र सम्मान
उहिले होस् या अहिले, अक्षरहरुमा नै सीमित छन्
तर चेतना भएस्,
महिशासुरको बध गर्ने दुर्गा पनि म नै हुँ
दक्षप्रजापतीको सर काट्ने काली पनि म नै हुँ।
अबको म,
यही, दुर्गा र कालीको रुप बन्नु छ
आफूलाई पर्ने अन्याय विरुद्ध आफै लड्नु छ
जलिरहेको चितामा आफूलाई होइन
अन्यायलाई जलाउनु छ
सहनशीलता, सालीनता र समर्पनको
उदाहरण युगौँ युग बनिसके
अबको म, स्वावलम्बी, निर्भय र नेत्रित्वदायी बन्नु छ
अबको म, स्वावलम्बी, निर्भय र नेत्रित्वदायी बन्नु छ।