सोचले सोच्नका लागि यति बाध्य बनायो कि मस्तिष्कमा उत्तरहरूभन्दा बढी प्रश्नहरू सलबलाउन थाले।
जीवनमा कयौँ पटक सोचेका पनि र सँगसँगै नसोचेका पनि घटनाहरू घट्ने गर्छन् र सोचेका घटना घट्नु कुनै आश्चर्यजनक होइन। तर यदि नसोचेको घटना घट्यो भने नि?
सधैँ नसोचेका घटनाले एकैनास बनाउँदैन। कहिले सोच्दै नसोचेको कल्पना बाहिरको खुसी लिएर आइदिन्छ भने कहिले तिनै नसोचेका घटनाले मन खिस्रिक्क पारिदिन्छ।
समय त्यति टाढा पुगिसकेको छैन किनकि मलाई सोच्न बाध्य बनाएको समय उहीँ ४/५ महिना अघिको हो। सुरूमा सोचेँ, कस्को होला यस्तो राम्रो घर? ठूलो रहेछ घर, पक्कै पनि परिवार धेरै नै होलान्।
ठूलो हरियो रंगको गेट, गेट भित्र दुई साइड गार्डेन। पार्किङ गर्ने ठाउँ तर साधन थिएन। सानो कटेज पुरानो डिजाइनको। सोचेँ, यहाँ बसेर चिया पिउन रमाइलो हुन्छ।
किन किन मलाई त्यो घर एकदक मन पर्यो। म त्यो घरलाई अझै नियाल्न चाहन्थेँ। यता उता हेरे कसैलाई देखिनँ। घर शून्य थियो। कुनै होहल्ला, बोलिचाली केही थिएन।
लाग्यो घरमा कोही नरहेछन् कि के हो? फेरि त्यसो सोचौँ भने पनि गेट सँगसँगै मूल ढोका पनि खुल्लै थियो। त्यही पनि बोलाएँ, 'घरमा कोही हुनुहुन्छ?'
फेरि दोहोरो बोलाएँ 'घरमा कोही हुनुहुन्छ?'
माथिल्लो तलाबाट 'को हो?' भन्ने आवाज सुनेँ। मलाई पानी पनि तिर्खा लागिराको थियो, फ्याट्ट 'पिउने पानी दिनु न' भनेँ।
'को हो?' भन्ने आवाज कानमा ठोकिन साथ लाग्यो बुढी आमा हुनुहुँदो रहेछ।
म एकछिनसम्म त्यही तल कुर्सीमा बसिरहेँ। केहीबेरमा बुढीआमाले बोत्तलमा पानी लिएर आउनु भयो। बुढीआमालाई त्यो भर्याङ झर्न धेरै समय लाग्यो। बल्लतल्ल तल आउनु भयो र उहाँ पनि कुर्सीमा बसिहाल्नु भयो।
'के गर्नु नानी बाथको समस्या छ, घुडाहरू दुख्छन्। तलमाथि गर्न म बुढीले के सक्नु!'
आमाले त्यति भन्नासाथ एकपछि अर्को प्रश्नले घचेटिरहेका थिए तर सुरूमा सोधेँ 'बरू तलको फ्ल्याटमा बस्नु भएको भए हुन्थ्यो नि आमा।'
म बोलेर नभ्याउँदै बुढी आमा बोल्नु भयो 'के गर्नु, अघिल्लो महिनासम्म तल मान्छे बस्थे भाडामा। अस्ति भर्खर आफ्नै घर बनाएर गए। फेरि जस्तो पायो त्यस्तै नचिनेका मान्छे नि कसरी राख्नु!'
यसो भन्दै आमा बोलिनै राख्नु भयो। लाग्यो मन भित्र बोल्नका लागि कयौँ कुराहरू गुम्सिएर बसेका रहेछन्। सायद सुन्ने नभएर नै हुनुपर्छ भन्ने सोचेँ।
'अनि आमा अरू कोही हुनुहुन्न घरमा? कसैलाई देख्दिनँ नि?'
यो प्रश्नले आमालाई कता कता छोएछ। एकछिन केही बोल्नु भएन र मलाई 'पानी पियौ?' भन्नु भयो। मैले टाउको हल्लाएर इसारा गरेँ। लाग्यो मैले बुढीआमाको मन दुखाएकी के हो।
मलाई नि जान्ने भएर धेरै बोल्नु पर्ने। एकछिन म पनि चुप लागेँ र केही समयपछि आमाले अलि निन्याउरो हुँदै भन्नु भयो 'छैनन् भने सबै छन्, छन् भने साथमा कोही छैनन् नानी।'
कस्तो नमज्जा लाग्यो ती वाक्य सुनेपछि।
'सन्तानको नाममा एउटा छोरा छ। उबेला खै अब काम धेरै गर्नुपर्ने, राम्रो खान नपाउने भएर पनि होला दुई सन्तान खेर गका। बचेको उहीँ एक सन्तान छोरा जो प्राणभन्दा नि प्यारो गरेर हुर्काएकी। त्यो बेला मेलापात गरेर हुर्काएँ, पढाएँ।
राम्रै पढ्यो पनि। १२ पास पनि गर्यो र आमा म बाहिर जान्छु भन्न थाल्यो। बा त्यो स्कुल पढ्ने बेलामा बित्नु भको थियो। दमको रोग थियो उहाँलाई। साथमा बा भैदेको भए नि मन बुजाएर जा भन्थेँ होला तर यता आमा एक्लै उता छोरा।
यता आमालाई सधैँको पिर हुन्छ भने तर कहाँ मान्थ्यो र? एकदम जिद्धी स्वभावको थियो। आखिर गएरै छाड्यो।'
धेरै बेरपछि मैले प्रश्न गरेँ, 'कुन देश नि आमा?'
'क्यानडा हो नानी। पछि फोनमा भन्थ्यो- 'धेरै दु:ख पाएर बल्ल बल्ल आइपुगेँ आमा।' मैले के भन्नू कयौँ पटक नजा भन्दा मानेन तर पछि सबै राम्रै हुँदै गयो। राम्रो काममा लागेछ, बेला बेला मलाई पैसा पठाइराख्थ्यो र अब घर बनाउनु पर्छ आमा भन्न थाल्यो।
हुन्छ बाबु, पहिले त आइजा अनि बिहे गरेर गएस्, घर बनाउला नि भनेँ। गएको ३ वर्षमा आयो र अरूले पनि अब बिहे गरेर जाऊ, घरमा आमा पनि एक्लै भन्न लागे। सबैको सल्लाहमा राम्रैसँग बिहे भयो। ऊ फेरि उहीँ गयो, यहाँ बुहारी र म भयौँ।
घर बनाउन सुरू गर्यौं। देखिहाल्यौ घर पनि, बडेमानको बनाएको छ। घर बनाइ सकेपछि एकपटक नेपाल आयो अनि बुहारीको पनि सबै चाजोपाजो मिलाएर आएको रहेछ। जाने बेलासँगै गए दुवै जना। भनेथ्यो- 'आमा हामी गएसी तपाईलाई पनि बोलाउँछौँ, सँगै बस्ने हो।'
खै धेरै समय लाग्ने रहेछ कि के हो मिलाउन, धेरै समय लाग्यो र २ वर्षपछि लिन आए। सबैले कति भाग्यमानी, छोराले विदेश घुमाउनी भयो भन्थे। खुसी पनि लाग्यो। अब सबै सँगै बस्ने भैयो भनी। यहाँको घर चिनेका मान्छेलाई जिम्मा लगाएर गयौँ।
नयाँ ठाउँ, नयाँ परिवेश, सबै देखेर अचम्म लाग्यो। सोचेँ यस्तो हुँदो रहेछ विदेश भन्ने। धेरै ठाउँ घुमेँ तर विस्तारै छोरा-बुहारी काममा जान थाले, म कोठामा एक्लै। विस्तारै आत्तिन थालेँ। न बोल्ने कोही छ न त्यहाँका मान्छे बोलेको नै बुज्छु।
घरको याद मात्रै आउन थाल्यो। साह्रै आत्तिएसी भनेँ 'बाबु म नेपाल जान्छु।'
'किन, के भयो र आमा?'
'मलाई अत्यार लाग्यो, भो म जान्छु' भनेँ। अहिले मलाई फेरि छुट्टी मिल्दैन भन्यो। मैले मलाई टिकट काटेर प्लेन चढाइदे, म जान्छु भनेँ। त्यसको १ हप्तामा म नेपाल आएँ।
उनीहरू उहीँ छन्। अहिले म आएको १ वर्ष पुग्यो। बरू यहाँ बोल्नलाई ओल्लो पल्लो घर त छ। के गर्नु, यस्तै छ बुहारीले नाति पाकी छ रे, उहीँ भिडियो कलमा हेर्छु।
नेपाल आओ भन्छु, छोराको भविष्य यता उता के-के भन्न थाल्छन्। अब मैले गर्दा उनीहरूको भविष्य बिगार्नु पनि भएन। यस्तै छ नानी जे गरेपनि, जसो गरेपनि जीवन सधैँ एक्लै।'
त्यसपछि बुढी आमासँग म फेरि भेट्न आउँछु भन्दै बिदा भई आफ्नै घरतिर लागेँ। यो एउटा परिवार भित्रको कथा हो। हालको समयमा यस्ता मिल्दा जुल्दा कथाहरू धेरै छन्। त्यसैले जिवनमा खुसी नै ठूलो हो र साथ साथै परिवारको खुसीभन्दा पर अरू केही छैन।