रंगहरु भरेर सजिँदा
ढल्कँदै गरेको जवानी पनि
लोभलाग्दो नदेखिएको कहाँ हो र?
वरिपरिका हरियालीले
कड्के नजर लगाउँदै गर्दा
साउती गरी कुरा काट्नेको जमात पनि
नदेखिएको कहाँ हो र?
जन्मदै गरेको नयाँ पुस्ता पनि
थाहा नपाउँदै
रंगहरुको होलीमा रमाउँदै
नखेलेको कहाँ हो र?
नजिकैको खहरे
सुसाउँदै ओरालो लाग्दा
जवानीले कुतकुत्याएर
पिछा लाग्दै जाने
जन्ती झैँ लहर नदेखेको कहाँ हो र?
झरी वर्षालाई झेल्दै छल्दै गर्दा
अचानक चर्को घामको पोलाईसँगै
पात पातका थोपाहरु तप्की सुकेको
नभोगेको कहाँ हो र?
रसको खोजिमा बाहिरिएका
तिनै भमरा माहुरीको चुम्बनबाट बच्न नसकी
रस बिनाको बाहिरी आवरणमा
अनेक कुरुपता लुकाउन
बनावट नै परिवर्तन गरी
आधा देखिने बस्त्रले
छोपी नबाचेको कहाँ हो र?
लुकाउन नसकेर होला
प्रकृति नै आफै सुन्दर बन्दै गर्दा
उसैको छत्रछायामा हुर्किएको बुढो रुखले
राल नचुहाएको कहाँ हो र?
जवानी गर्दा
बाटो छेउको बसाइ नि
सहिनसक्नु भयो अब त
बटुवाले आँखा तरी
नहिँडेको कहाँ हो र?
उत्ताउलो जवानी जोगाउन खोज्दा
मौसम परिवर्तनसँगै
समयले नेटो काट्दा
ओइलाई नसुकेको कहाँ हो र?
ढल्कदै गरेको जवानी पनि
रङहरु मिलाई पोत्दा
लोभलाग्दो नदेखिएको कहाँ हो र?