मनसुनले हरियाली उपहार छोडेर गइसकेको थियो। काठमाडौँको वरिपरिका डाँडाहरु हारिया देखिन्थे, माथि निलो आकाशमा सेता बादलहरु मन्द बतासमा यता उता सल्बल्लाउँदै थिए।
ती बादलहरुलाई केको पिर? बतासले जता लान्छ उतै जान्छन्। बादललाई हावाले नचाउँछ मान्छेलाई पुर्पुरोले। तल मध्य काठमाडौँको एक अस्तव्यस्त गल्लीमा दुब्लो, झुस्स दारी पालेको विवश लफ्र्याक लफ्र्याक लम्कँदै थियो।
उस्को अनुहारमा मलिनाता र आँखामा मौनता सल्केको थियो। हिँड्दा हिँड्दै एक्कासी ऊ टक्क अडियो। अगाडि केही पर उस्लाई एक्लै पारी जाने निर्दयी सानी मुस्कुराई रहेकी थिई। छेउको पसलमा म:म मग्मगाई रहेको थियो।
समय न हो, पहिले उसलाई उस्की प्रेमिकाको मुस्कानभन्दा मिठो चिज यो जगतमै केही छैन भन्ने लग्थ्यो। तर आज ऊ म:म पसल छिर्यो। कपाकप १० डल्ला खायो, घटघट चिसो पानीले म:मले डामेको मुख शितल पार्यो।
भोकाएको बेला छोडी जानेको हाँसोभन्दा म:मका डल्ला कता हो कता मिठो लाग्यो। 'ले भाइ,' थप ५ डल्ला मगायो। त्यो पनि खायो। बल्ल ऊ अघायो। पैसा तिर्यो, चप्प चप्प सुप चपायो।
पसलबाट निस्कियो। उस्लाई फर्केर निर्दयीलाई हेरौ झैँ लागेन र फर्केर अफिस जाउँ झैँ पनि लागेन। भोक सेलाएसी केटोको जोस पलायो। ऊ अब जोसिलो पारामा कोठा तिर लम्कियो।
माथि आकाश हेर्यो 'आहा! कति निलो।' देखिने थियो भने उस्लाई हिमाल पनि हेर्न मन थियो। मनमनै सोच्यो 'गर्मी भए नि भदौ सुन्दर महिना हो।'
'ओ विवश सर, आज छिटै?' कोठा नजिकैका पसले दाजुले खुइलिएको तालु कन्याउँदै चासो देखाए।
विवश बाहिर सहमति जनाउँदै खिस्स हाँस्यो, भित्र 'कोही मान्छेको कपाल जस्तै जिब्रो किन झर्दैन?'
भित्र पनि हाँस्यो र घर भित्र पस्यो। जति अस्तव्यस्त गल्ली थियो, त्यसको दाँजोमा उस्को कोठा २० को १९ थियो। कोठाको दक्षिण तिरको देब्रे कुनामा थोत्रो धुलाम्य थोते गितार निच्च हाँसिरहेको थियो। उत्तरतिरको देब्रे कुनामा जन्डिस लागेको ग्यास चुलो टेडो परेर बसिरहेको थियो।
त्यसकै तल बाटाको धमिलो पोखरीमा थाल कचौरा उत्तानो परेर पौडिरहेका थिए। झोला टेबलतिर मिल्काएर उस्ले आफ्नो शरीरलाई भद्रगोल ओछ्यानमा मिल्कायो। लामो सास फेर्यो, आँखा चिम्लियो।
ए साँच्ची, आज उस्को ३० औँ जन्मदिन। पोहोर साल वैशाखको महाभूकम्पमा स्वर्गबासी भएका बा-आमा सम्झियो। गाउँ सम्झियो। गाउँ भएको ठाउँ सम्झियो, जुन ठाउँमा अहिले पहिरो थियो।
पर्समा भएको बा-आमाको फोटो हेर्यो। धेरै बेर हेर्यो। अब रुनुको अर्थ थिएन। सोच्यो, मान्छे मरेपनि माया नमर्दो रैछ। कालले पनि मार्ने नसक्ने माया अजम्बरी छ।
ऊ जुरुक्क उठ्यो र बिर्को हराएको कोकको बोतलबाट कल कल पानी पियो। फेरि खाटमा आएर बस्नै लागेको थियो, खाटको एउटा घर्रा केही खुल्ला देख्यो र पुरै खोल्यो। घर्रामा ४/५ पाना सानीलाई प्रेमिका सम्बोधन गरी लेखिएका प्रेम पत्रहरु थिए।
उसका पुराना बिग्रिएका मोबाइहरु थिए, मास्टर्स पढ्दाका किताब कापीहरु थिए अनि एउटा माई क्लियर ब्याग थियो जस भित्र थिए उसलाई आजको ऊ बनाउन सहयोगी भूमिका निभाउने सर्टिफिकेटहरु। एक एक गर्दै हेर्दै गयो।
यतिकैमा एउटा मिलाएर पट्याएको कापीको पाना भुइँमा झर्यो। पाना विस्तारै उघार्यो। अरे! यो त उस्ले आफू २० वर्ष हुँदा ३० वर्षे उसलाई दाजु सम्बोधन गर्दै लेखेको चिठी पो रहेछ।
'अहँ! मेरा ३० वर्षे दाजु जन्मदिनको शुभकामना है। अनि के विधि ह्यान्डसम भएका, मेलम्चीको पानीले नुहाएर होला। पुटुक्क मोटाए छौ। झुसे दाह्री कपाल चटक्क छोट्याएछौ। तिम्ले त काँचुली फेरेछौ दाजु। बा-आमालाई कस्तो छ? आमा सधैँ बिरामी पर्थिन्। पैसा कमाएर आमाको उपचार गराउँछु भन्थेऊ, गरेऊ?
अनि बा आजकल पनि चुरोट खान्छन्? मैले भन्दा त मान्दैन थिए। अझै खाँदै छन् भने फेरि सम्झाऊ ल। म निकम्माले भनेको पो नाटेरेका हुन् बुढाले, तिम्ले भनको त पक्का मान्छन्। अनि साँच्चै, मास्टर्स सकिएपछि रानीपोखरी अगाडि घुडा टेकेर मनकी रानी सानीलाई प्रपोज गर्छु भन्थेऊ, गरेऊ नि?
ए, के सानी भनेको मैले पनि! सानी भाउजू। अनि बाल बच्चा फुटबल टिम पुग्ने जति जन्माउने भन्दै गाफ हन्थेऊ, त्यसो चै नगर है। भलिबल टिम जत्रोसम्म ठिकै हो। साँच्ची आजकल त घर जान पनि सुरुङ मार्ग भएर जाने गर्छौ होला, कि रेल चढेर जान्छौ?
रेल चलेपछि गाउँमै बा-आमासँगै बस्छु भन्थेऊ। आहा! क्या मज्जा। गितार त बबाल बजाउने भयौ होला। ब्याण्डको नाम के राखेऊ? ब्याण्डसँगै संसार घुम्छु भन्थेऊ, कति देश घुमेऊ?
अन्त नगए नि सानी भाउजूसँग बाली त पक्का पुगेऊ। कस्तो रैछ? हुन त काठमाडौँ नै साह्रै सुन्दर भयो होला, मेलम्चीले नुहाएर सिनित्त, सुन्दर, हरियो अनि सफा। ए साँच्ची अनि गाडी लेक्सस नै किनेऊ कि अर्कै?
तिम्ले जस्तै सायद देशले पनि काँचुली फेर्यो होला। अनि देशमा गणतन्त्र आएकै १० वर्ष भैसक्यो, देश स्वीजरल्यान्ड भैसक्यो होला। हेर न आफ्नो त दिनको १२ घण्टा बत्ती जान्छ।
आजकल त पत्र-पत्रिकाहरु पनि जताततै विकास गरेको राम्रो राम्रो काम भएको समाचारले मात्रै भरिन्छन् होला। नेताहरु पनि पढे लेखेका भ्रष्टाचार नगर्ने बौद्धिक मात्र होलान है। हेर त! मेरा सबै सपना बाच्ने तिमी कस्तो भाग्यमानी।
मसँग सपना र प्रश्न मात्र छन्, तिमीसँग विपना र उत्तर छन्। अनि आज तिम्रो यो २० वर्षे भाइलाई जवाफ र ४० वर्षे दाइलाई प्रश्न गर्ने दिन हो। जति व्यस्त भए नि जवाफ लेख ल। मेरा नयाँ नेपालका ह्यान्डसम दाजु फेरि पनि जन्मदिनको शुभकामना।'
विवशले चिठी पढिसकेपछि हाँसोले भरिएको अनुहारलाई भित्तामा झुन्डाएको चोसो झरेको ऐनामा प्रतिबिम्बित गर्यो। कपाल झेरेर क्रमशः तालु बढ्दै थियो। बाँकी काग रंगी कपालमा बकुल्ला रंगी कापालको उपस्थिति दिनानु-दिन बाक्लिँदै थियो।
टेबलमा डिप्रेशन, ब्लडप्रेसरको औषधिहरु खुडे भएर उत्तानो परिरहेका थिए। त्यतिकैमा कसैले उस्को ढोकामा ढकढकायो। ऊ उठेर गयो र खोल्यो। बाहिर घरबेटी आमा थिइन्।
'ल भाइ, पानी आउँदै छ है। के के भाडा छन् भर्नु नत्र अर्को हप्ता मात्रै हो नि फेरि।'
घरबेटी आमा माथितिर उक्लिन्। उस्ले ढोका लागायो। कति दिनदेखि पानीको मुख देख्न नपाएका प्यासी भाडाहरु भेला पार्यो। चुरोट सल्कायो, अमिलो अनुहार लगाउँदै एक सर्को तान्यो। झ्याल खोल्यो, धुँवा झ्यालबाट बाहिर फुक्यो।
बाहिर अन्धार भैसकेको थियो। माथि तिर फर्केर थोरै चिहाइ रहेको आकाश हेर्यो। काला बादल वर्षन तम-तयार थिए। ती बादलहरुलाई केको पिर? झररररर झरी दिन्छन् र रित्तिदिन्छन्।
विस्तारै हल्का हल्का पानी पर्न सुरु गर्यो। विवशले आधा पनि नसकिएको चुरोट झ्यालबाट बाहिर निकाल्यो चुरोट विस्तारै विस्तारै पानीका थोपाले निभ्यो। निभेको चुरोटलाई उसले फुत्त तलको फोहोरको डङ्गुरमा मिल्कायो र झ्याल लगायो।
फेरि खाटमा आएर बस्यो। फेरि चिठी हेर्यो, पुरानो कापीको एक पाना च्यात्यो र कुनै समय २० वर्ष भएको ऊ र कालले साँचे कुनै समय ४० वर्ष हुने ऊ र आज ३० वर्ष पुगेको उस्लाई सम्झाउँदै एक वाक्य लेख्यो 'सोचे जस्तो हुन् जीवन...।'