उस्ले मायाको नाममा 
चुम्बनको नाममा 
दुर्व्यसनी ओठमा थुपारेको 
निकोटिनको दुर्गन्ध 
मेरो ओठमा ह्वास पोख्यो 
मैले यतिसम्म भन्न सकिनँ 
मेरो चुरोट पिउने बानी छैन 
यतिबेला 
मैले कहिले देख्दै नदेखेको 
मैले चिन्दै नचिनेको 
एउटा पुरुषबाट छोइएकी छु 
स्पष्ट भनूँ, चिमोटिएकी छु
अझ प्रष्ट भनूँ, निसासिने गरी थिचिएकी छु 
ऐनाको आँखाले हेर्दासम्म 
लज्जित हुने मेरो यो बैँस
कसैको पापी आँखाको 
नजिक निर्वस्त्र छ 
म यो कोठामा 
उस्को इसारामा कठपुतलीजस्तो नाच्दै छु
मेरो स्तनलाई गोमन साँपको 
जिब्रोले चाटेको छ
यो घडी, म बलात्कृत छु 
म चिच्याउँदै छु 
कोही छैन मलाई बचाउने 
बचाउने समाजले हो 
तर समाजले बचाउँदैन 
किनकि यो बलात्कार 
समाजबाट वर्जित होइन 
त्यही समाजले 
सुहागरातको नाम दिई 
यो अपराधलाई संस्कार बनाएको छ
मेरो कुमारीत्वको पर्दा धर्रर च्यातियो 
दुख त्यो होइन 
दुख यसैमा छ 
मेरो भावनासित एकपटक सोधेर 
कुमारीत्वको झ्याल खोलेको भए 
कति सुन्दर हुन्थ्यो 
यो मदमस्त रातको जोवन पनि 
अनि त्यो पुरुषलाई हेर्ने मेरो दुष्टिकोण पनि।