प्रतिष्ठा बोहरा, दिनहुँजसो दुई बजे दरबारमार्ग स्थित ओएसिस कफी हाउसमा जान्छिन्। सधैँ झैँ सरासर चार नम्बर टेबलमा गएर बस्छिन्।
प्रायः २ बजे त्यो चार नम्बरको टेबल खाली नै हुन्छ। नभए पनि वेटरले रिजर्भ भनेर टेबलमा पेपर राखिदिन्छन्। उनी पुग्नासाथ वेटर हातमा कलम र पेपर लिएर अर्डर लिन आइपुग्छन्।
प्रतिष्ठा वेटरलाई हेर्दै नहेरी अर्डर टिपाउछिन्। कफी, फेन्चफ्राई, लस्सी, चिकन मम, ग्रीन सलाद, पिनट साधेको। वेटर अर्डर र टिपेर हिड्छन्। वेटरले खानेकुरा मिलाएर ल्याउँछन्। तर अन्तिममा कफी ल्याइदिनु पर्ने नियमितता जस्तै रहेको छ।
प्रतिष्ठा टेबलमा बस्नासाथ ब्यागबाट मोबाइल झिकेर म्यासेज हेर्न थाल्छिन्। केही म्यासेज पढेर जवाफ फर्काउछिन्। केहीलाई जरुरी म्यासेज भए पठाउछिन्। यसो दाँया बाँया अरु टेबल तर्फ आँखा घुमाउछिन्।
आज त्यस्तो कुनै हेर्न लायक दृश्य उनको नजरमा पर्दैन। उनी फेरी मोबाइल चलाउन थाल्छिन्। यो कफी हाउसमा पसेपछि नियमित प्रकृया नै हो।
वेटरले अन्तिममा अमेरिकानो कफी चार नम्बर टेबलमा ल्याइदिए। प्रतिष्ठाले चिनीको प्याकेट खोलेर कफीमा हालेर चलाउन थालिन्। कफी उचालेर सुरुप्प पार्न नपाउँदै एक हुल १८-२० वर्षका कलेज पढ्ने केटाकेटीहरु हल्ला गर्दै 'ह्यापी बर्डे टु यु' भन्दै भित्र छिरे।
सबै साथीहरु हाँस्दै उफ्रदै एकअर्कालाई अंगालो मार्दै मस्ती धुनमा पसेका छन्। त्यो दृश्य हेरेर प्रतिष्ठा एकाएक खुसी हुन्छिन्। आज बर्थ डे मनाउन आएका टोलीको हल्ला खल्लाले सबैको ध्यान त्यतै खिचिरहेको छ।
वेटर पनि भर्खरै आएका तिनै केटाहरुसँग मिलेर टेबल मिलाउन थाले। कोही केटाहरु केक लिन काउन्टरतिर लागे, कोही खाना अर्डर टिपाउन लागे। मम, पिज्जा, बर्गर, कोक यस्तै यस्तै...।
कोही मैनबत्ती बाल्न तयार भए। होहल्ला गर्दा गर्दै एकैछिनमा बर्थ डेको केक काट्न तयार भयो। आज मनिलाको जन्मदिन। मनिला केक काट्न तयार भइन्। मनिलालाई वरपरबाट सबैले घेरे।
एउटा कुनाबाट प्रतिष्ठा ती सबै गतिविधिहरु नियालेर हेरिरहेकी थिइन्। सबै साथीहरुले एकै स्वरमा 'ह्यापी बर्थ डे, ह्यापी बर्थ डे मनिला' भने। हा.. हा.. हो.. हो गर्दा गर्दै मनिलाले अगाडि राखेको केक काटिन्।
करिब दुई मिनेट जति रमाउँदै, ताली पिट्दै ह्याप्पी बर्थ डे भने। केकको एक टुक्रा मन्जिलले झिकेर मनिलालाई खुवाइ दिए। मनिलाले 'आऽऽऽ' गर्दै खाइन्। त्यही बाँकी रहेको केक मनिलाले मन्जिललाई खुवाइ दिइन्।
मन्जिलले केकमा रहेको क्रिम गालामा दलिदिए। मनिला चुप लागेर गाला तेर्साइन्। त्यसपछि अन्य साथीहरु शर्मिला, सबिना, कल्पना, ऋतु, बसन्ती, कन्चन, आशिष, अरुणलगायतका साथीहरुले क्रिम दलिदिए। विभिन्न स्टाइलका फोटो खिचे।
सबै जना मिलेर केक खाए। मनिला निकै खुसी देखिएकी थिइन्। मन्जिल पनि निकै खुसी थिए। अर्डर गरेको खाना भटाभट टेबलमा आउन लाग्यो। एक एक गरेर खान र ख्वाउन थाले। घडी हेर्दैएक घण्टा हुनै लागेछ।
यो दृश्य हेरेर प्रतिष्ठा खुसी हुँदै बाहिरिन्। प्रतिष्ठा बाहिरिनुभन्दा पहिले प्रत्येक दिन मोबाइलबाट फोटो खिच्छिन्। फोटो खिच्नु प्रतिष्ठाको नियमित नै हो। कहिले वेटरले खिचिदिन्छन्। प्रतिष्ठा बेलुका हरेक दिनको फोटो नियाल्छिन्, म कुन दिन बढी खुसी भएछु भनेर हेर्छिन्।
प्रतिष्ठा दिनहुँ यस्तै विविध गतिविधि हेरेर खुसी हुन्छिन्। उनी यस्तै दृश्य हेर्न र मन खुसी बनाउन एक घण्टाको लागि नियमित कफी हाउस छिर्छिन्। मन खुसी भयो भने बेलुका निन्द्रा राम्रो लाग्छ।
निन्द्रा परे शरीर फूर्तिलो र स्वस्थ हुन्छ। स्वस्थ शरीरले सकारात्मक विचार प्रष्फुटन हुन्छ। सकारात्मक विचारबाट जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने प्रतिष्ठाको ठम्माई छ। त्यसैले उनी दिनहुँ कफी हाउस जान्छिन्।
प्रतिष्ठा दरबारमार्ग स्थित ओएसिस कफी हाउसमा २ बजे मन खुसी हुने दृश्य देखिनन् भने त्यसै साँझ ७ बजे लाजिम्पाटस्थित लब्ली कफी हाउस पुग्छिन्। त्यहाँ पनि प्रतिष्ठा एक घण्टा मात्र बस्छिन्। उनी जता गए पनि एक घण्टा मात्र कफी हाउसमा बस्ने नियम नै हो।
लब्ली कफी हाउस लाजिम्पाटमा भने अलि उमेर पाका जस्ताः विवाहित मानिसहरु आउने जाने हुँदा कहिलेकाहीँ अलि भद्दा लाग्ने दृश्य देखिने भएकाले प्रतिष्ठा कम जाने गर्छिन्। पहिलो रोजाइको कफी हाउस भने ओएसिस कफी हाउस नै हो।
आज प्रतिष्ठा निकै खुसी छिन्। दिउँसो खाजा खाने समय भएर होला सबै टेबल भरिभराऊ छ। सँगैको टेबलमा एक जोडाजोडी बसेका छन्। कुनै टेबलमा बैँकका कर्मचारी, कतै कलेज पढ्न नगई बंक गरेर बसेका ठिटाठिटी छन्।
कतै स्कुल पढ्ने उमेरका जोडाजोडी बसेका छन्। कतै युगल जोडी लठारिएर बसेका छन्। सबै आ-आफ्नै धुनमा व्यस्त छन्। सबै हाँसीखुसी देखिएको छन्। कोही कसैको मतलब गरिरहेका छैनन्।
टेबलमा वेटरहरु खानाको अर्डर लिन र पुर्याउन व्यस्त छन्। यी सबै दृश्यले प्रतिष्ठा आज नयाँ नयाँ लीला हेर्न पाइन्छ भनेर खुसी देखिएकी हुन्। त्यसैले उनी आज बेलाबेलामा चारैतिर आँखा घुमाइरहन्छिन्।
प्रतिष्ठाको ध्यान एक एक गरी सबै टेबलतिर पुगेको छ। आज टेबल पिच्छे कोही हाँस्ने, कोही मसक्कै मस्कने, कोही लजाउने, कतै जिस्कने, कतै चिमोट्ने, कतै कपाल सुम्सुमाइदिने, गाला मुसार्ने, कतै निकै मिठा गफ भए झैं छिनछिनमै हाँसोको फोहराले कफी हाउस नै आज प्रेममय भएको छ।
यस्तै दृश्य हेरेर प्रतिष्ठा निकै खुसी छिन् आफ्ना अतित सम्झँदै। प्रतिष्ठा आज मट्का कफी सुरुप्प पार्दै पिउँदै छिन्। आँखा भने छिनछिनमै टेबल टेबलमा घुमाइ नै रहेकी छिन्।
कुनै अर्को दिन ओएसिस कफी हाउसमा दश/पन्ध्र जनाको सबै उमेर समूहको जमात आइपुगेका छन्। टेबल अगाडि केक काट्न ठिक्क पारिएको छ। वरिपरीबाट मोबाइलवाट फोटो खिच्न तयारी अवस्थामा छन्।
ती नै हुलका एकजना पाको उमेरका मानिसले 'ल ल, समिर र सोनु अब दुबैले केक काट' भन्ना साथ सोनु र समिर केक काट्न तयार भए। हातमा चक्कु लिएर दुवैले केक काटे। उपस्थित सबैले एकै स्वरमा 'ह्याप्पी एनिभर्सरी डे समिर सोनु, ह्याप्पी एनिभर्सरी डे' भनेर चिच्चाए।
तिनीहरु मध्ये एकजना अलि पाको महिलाले भनिन्- 'ल समिर, तिमीले काटेको केक सोनुलाई ख्वाइदेऊ।'
सोनुले पनि आऽऽऽ गरेर खाइन्। त्यही बाँकी रहेको केक सोनुले लिएर समिरलाई ख्वाइदिइन्। समिरले सोनुको गालामा केकको क्रिम हल्का गरेर दलिदिए। सोनुले पनि समिरलाई क्रिम दलिदिइन्। दुवैले गाला जोडेर फोटो खिचे।
त्यो दृश्य देखेर प्रतिष्ठा अत्यन्तै खुसी देखिइन्। उनले आफ्नो विगत सम्झिइन्। आफ्नो उमेरमा म पनि पति प्रभातसँग यसरी नै बर्थ डे मनाउँथेँ। एकैछिनमा प्रतिष्ठा भावुक भइन्। आँखाभरिका आँसु कसैले नदेख्ने गरी टिस्यु पेपरले पुछिन्। जुरुक्क उठेर कफी हाउसबाट बाहिरिन्।
प्रतिष्ठाका पति प्रभातको स्वर्गारोहण भएको दश वर्ष भैसक्यो। दुई छोराहरु मध्ये जेठो छोरा प्रणय अमेरिकामा अध्ययनका लागि गएका छन् भने कान्छो छोरा प्रल्हाद क्यानडा गएका छन्। ५-६ वर्ष भयो उनीहरु नेपाल आएका छैनन्।
आमा प्रतिष्ठा घरमा एक्लै छिन्। काम सघाउन घरमा काम गर्ने एकजना चौधरी थरकी केटी छिन्। घरको सबै काम उनैले हेर्छिन्। घरको कुनै चिन्ता छैन।
प्रतिष्ठाका पति प्रभातले एक रात सपनामा उनलाई 'तिमी धेरै खुसी भएर बाँच्न चाहान्छौ भने तिमी आफूलाई मन पर्ने कफी हाउस वा रेष्टुरा खाजा खाने समय र खाना खाने समय जानू। त्यहाँ विभिन्न खालका मानिसहरुले गर्ने विविध गतिविधिले तिमीलाई खुसी तुल्याउँछ। तिमी त्यहाँ जाऊ। त्यहाँ तिमी मेरो अनुपस्थितमा खुसी हुनेछौँ' भने।
यति भनेपछि त्यसको भोलिपल्टदेखि समय मिलाएर उनी नियमित कफी हाउस जान थालेकी हुन्। साँच्चै कफी हाउस जान थालेपछि प्रतिष्ठा खुसी हुन थालेकी छ। यसरी कफी हाउस जान लागेको पनि दुई वर्ष भैसक्यो। प्रतिष्ठा समय मिलाएर दिनमा दुई बजे र साँझ सात बजे कफी हाउस वा रेष्टुरामा पुग्छिन्।
आज प्रतिष्ठाले दिउँसो ओएसिस कफी हाउस नजाने निर्णय गरिन्। साँझ लाजिम्पाटस्थित लब्ली कफी हाउस जाने विचार गरिन्। उनी एउटा टेबलमा बसिन्। त्यहाँ मट्का कफी मगाइन्।
एउटा टेबलमा एक विदेशी र एक महिला जस्तै देखिने पुरुष (समलिंगी) एक अर्कालाई चुम्बन गरिरहेको देखिन्। प्रतिष्ठाले देखेर पनि नदेखे झैँ गरिन्। उसलाई यस्तो दृश्य पटक्कै मन पर्दैन।
उनलाई कफी हाउसमा पुग्दा युवा युवतीहरु हाँस्दै एकअर्कालाई जिस्काएको, रोएको, मायाले आँसु पुछिदिएको, चिमोटेको, खानेकुरा बाँडेर खाने वा लुछालुछ गरेर खाएको, फोटो विभिन्न पोजले खिचेको, एकले अर्कोलाई खुवाएको दृश्य खुबै मन पराउछिन्। त्यस्तै दृश्य हेरेर मन बहलाउन उनी कफी हाउस जाने गरेकी हुन्।
१७-१८ देखि २२-२४ वर्ष एक हुल ४-५ जना केटा र दुई जना केटीहरु अलि रफ टाइपका लुगा लगाएका, आँखा लोलाएका, पातला दुब्लोपेन्ट पनि तल झर्ला जस्तो तर पेन्ट समाउँदै कफी हाउस छिरे।
केटीहरुले पनि हाफ पेन्ट र पातलो पारदर्शी टिसर्ट लगाएका थिए। ती केटीहरु साह्रै राम्रा र आकर्षक थिए। तिनीहरु सबै प्रतिष्ठा नजिकैको तीन नम्बर टेबलमा बसे। वेटर खानाको अर्डर लिन अगाडि उभिए।
एकजनाले वियर, फ्रेन्चफ्राई, साँधेको पिनट, सेकुवा, सलाद, चिकेन चिल्ली, मम भनेर अर्डर टिपाए। वेटर अर्डर लिएर किचेन तर्फ लागे। एकैछिनमा वेटरले बियर र स्न्याक्स लिएर आए। केटाकेटीहरुले ग्लासमा हालेर 'चियर्स' भनेर पिउन थाले।
त्यसपछि ती सबैले आ-आफ्ना बाबु-आमालाई गाली गर्न थाले। पैसा नदिएको, घुम्न नपाएको, मोटरसाइकल नकिनिदिएको, कार चलाउन नपाएको। यस्तै यस्तै कुरामा एकअर्कालाई तितो पोखिरहेका थिए। कसैले सम्झाए जस्तो पनि गर्थे।
त्यो सबै कुरा प्रतिष्ठाले सुनिरहिन्। तर एकाएक विदेश भएका छोराहरुलाई प्रतिष्ठाले सम्झिइन्। मेरा छोराहरु पनि कतै यस्तै पो गर्दै पो छन् कि भनेर।
खाना क्रमशः आइरहेको छ। ती मस्त गफमा पिइरहेका छन्। एकजनाले केटीलाई अंगालो मारेर गाला चिमोटिरहेको थियो। अर्कोले सुमसुमाइरहेको थियो। ती सबै धनी बाउका बिग्रेका छोराछोरी, घर परिवारले त्यती वास्ता नगरेको झैँ लाग्यो प्रतिष्ठालाई।
हिजो आज अलि गर्मी चढेर हो कि एकजोडी पातलो टिसर्ट र हाफ पेन्टमा कफी हाउसमा पस्छन्। सबै टेबल भरिभराउ भएर ठिंग्ग उभिन्छन्।
वेटर आएर 'आज सबै टेबल प्याक छ। हजुर यही टेबलमा एकछिन बस्नुस, पछि कतै टेबल खाली भएपछि त्यतै सर्नुहोला' भन्छ।
वेटरको यति कुरा सुनेपछि ती युगल जोडी यताउता हेर्दै कतै ठाउँ नपाएपछि प्रतिष्ठा बसेको टेबलमै एकापट्टी बस्छन्। प्रतिष्ठालाई भन्दा ती जोडीलाई अलि असजिलो लाग्यो। प्रतिष्ठा भने ती जोडीका कुराकानी सुन्न आतुर थिइन्।
त्यसैकारण आफ्नो टेबलमा बस्न इसारा दिइन्। ती जोडी यताउता खाली हुन्छ कि भन्दै आँखा घुमाउँदै बसे। ती युगल जोडीको मायाप्रेम बसेको ५-६ वर्ष भएको र ती नवजोडी छिट्टै विवाह गरेर विदेश हानिँदै गरेको बुझिन्।
प्रतिष्ठा दुई वर्षभन्दा बढी भयो नियमित ओएसिस र लब्ली कफी हाउसमा छिरेको। यो दुई वर्षको अवधिमा युवा नेता र युवा नेतृहरुले कलेजमा गर्ने राजनैतिक, आर्थिक गतिविधि, नेताहरुका गोप्य वार्ता र रणनीति, शिक्षक, प्राध्यापक, वकिल, न्यायाधीश, पत्रकार, सिनेकर्मी, व्यापारी, कर्मचारी, बैंकर्स, ठेकेदार, तस्कर, चन्दा असुली र प्रयोग, हत्या, अपहरण, घुस खाने र ख्वाउने, ठगी गर्ने, राजनीतिदेखि गुप्तचरी, सुराकी गर्नेदेखि जग्गा दलालहरुको कारोबारीहरुको गतिविधि देखिन्।
त्यसैगरी नव-विवाहितहरुको एकअर्काप्रतिको व्यवहार, युगल जोडीको त्यहाँ देखिने हर्कद, कलेजबाट बंक गरेर हिड्ने जोडीहरुको क्रियाकलाप, उमेर समूह अन्तरबीचको प्रेमलाप, पाको उमेरका मानिसले भर्खरकी स्कुल, कलेज पढ्दै गरेका केटा केटीको चर्तिकला, धनी बाबुका छोराछोरी, धनीका पछि लागेर जाने केटाकेटी गाउँबाट भर्खरै काठमाडौँ पसेका केटाकेटीहरु, यस्ता सबैको क्रियाकलाप देखेर छक्क परिन्।
यी सबै घटना देखिन्, सुनिन्, बुझिन् एक घण्टाको बीचमा।
आज प्रतिष्ठाको जन्मदिन। बिहानै उठेर पशुपतिनाथको दर्शन गर्न गइन्। आज बेलुका ओएसिस हाउस जाने विचार गरिन्। ओएसिस कफी हाउसमै बर्थ डे मनाउने विचार गरिन्।
साढे छ बजे तिर घरबाट निस्किन्। सात बज्नै लागेको थियो, सधैँ झैँ चार नम्बरको टेबलमा गएर बसिन्। आज पनि चार नम्बर टेबलमा रिजर्भ भनेर पहिल्यै वेटरले लेखेर राखेको हुँदा त्यो टेबल खाली नै थियो।
प्रतिष्ठाले वेटरलाई बोलाइन्। खानाको अर्डर गरिन्, वेटरले सबै टिपे। अनि पौने आठ बजेतिर केक, मैनबत्ती ल्याउनु भनेर अह्राइन्। वेटरले अर्डर गरेको खाना एक एक गरेर आउन लाग्यो। उनीले टेबलमा आएको खाना खान थालिन्।
प्रतिष्ठाले वेटरलाई केक ल्याउने इसारा गरिन्। वेटरले केक ल्याएर टेबलमा सबै तयार गरे। परबाट अर्को टेबलमा खाइरहेका एक अर्धबैँसे व्यक्तिले त्यो दृश्य हेरिरहेका थिए।
उनलाई मनमा लाग्यो, तिनी एक्लैले बर्थ डे मनाउँदा सार्थक नदेखिने हुँदा त्यो शुभकार्यमा आफू सहभागी हुने इच्छा मनमनै सोचे। ती व्यक्ति जुरुक्क उठेर हातमा वाइनको ग्लास बोकेर प्रतिष्ठा छेऊ पुगे।
ती नव-आगन्तुकले 'एक्स्क्युज मी प्लिज' भने। प्रतिष्ठाले पुलुक्क ती नव-आगन्तुकलाई हेर्दै 'हजुर, भन्नुस् न' भनिन्।
'म हजुरको बर्थ डे सेलिब्रेसनमा सहभागी हुन सक्छु?'
प्रतिष्ठाले पनि खुसी हुँदै 'ह्वाइ नट ' भनेर सहमती जनाइन्।
ती नव-आगन्तुकले हातमा रहेको वाइनको ग्लास टेबलमा राखे। ऊ बर्थ डे विस् गर्न तयार भए। आज वर्षौपछि केही पाए जस्तो प्रतिष्ठा एकाएक खुसी देखिइन्।
प्रतिष्ठाले टेबलमा राखेको केक काटिन्। ती नव आगन्तुक अतिथिले 'ह्याप्पी बर्थ डेटु यू, ह्याप्पी बर्थ डे टु यू' भनेर ताली बजाए। प्रतिष्ठाले एक टुक्रा केक नव आगन्तुकलाई दिइन्। आफूले एक टुक्रा खाइन्।
नजिकै रहेको वेटरलाई बोलाएर बाँकी रहेको केक लैजान अह्राइन। वेटरले टेबलमा रहेको केक उठाएर लगे। प्रतिष्ठाले वाइनको ग्लास उठाइन्, नव आगन्तुकले पनि वाइनको ग्लास उठाए। 'चेयर्स' भनेर दुवैले वाइन पिए।
प्रतिष्ठाले एक पेगको आधा पिइन्। एक घण्टा भयो कि भन्दै हातको घडी हेरिन्। आठ बज्नै लागेको थियो। मनमनै करिब एक घण्टा भयो भन्दै उनी हतारिँदै त्यहाँबाट बाहिरिन्। ती नव आगन्तुकले प्रतिष्ठालाई हेरिरहे 'केही पाए तर केही गुमाए' जस्तै गरेर।