हामी भ्यू-टावरबाट के हेरौँ
सरकार?
तिम्रो हाँस्य व्यंग्य टोलीको सामूहिक प्रहसन हेरौँ कि
कुर्सीको कालजयी कुस्ती हेरौँ?
कि हामी,
मनमा पीडाको पिरो ज्वालामुखी थिचेर
घाटीमा बिदाइको गह्रुंगो माला
पासपोर्टको स्ट्याम्प जस्तै
निधारमा त्यो अन्तिम चुम्बन र
सपनाका हुल लिएर उडिरहेका देशहरु हेरौँ कि?
सपनाको समाधीमा
कहिल्यै नउठने गरी सुतेर तिम्रो रेमिट्यान्स बोकेर
फर्किरहेका मृत देशहरु हेरौँ?
भन सरकार, म भ्यू-टावरबाट के हेरौँ?
कि तिम्रा भ्यू-टावरबाट
भ्यू-टावरको उचाइ भाचेर, आफ्नो घरको तला थपिरहेका
स्थानीय नेताका घर हेरौँ कि
बाढी पीडित र अग्नी पीडितका छाना विहीन
झोक्राइरहेका झुपडी हेरौँ?
भ्यू-टावरबाट
मृत्युको डोरीमा उतानोटांग लागएर
नदी तरिरहेका निम्छरा विद्यार्थी हेरौँ कि
नेता बोकेर उडिरहेका चार्टड हेलिकप्टर हेरौँ
के हेरौँ सरकार?
कि
सीमाबाट निस्किरहेका भोकको जुलुस हेरौँ कि
तिम्रो जय जयकारमा झण्डा बोकिरहेका झोलेहरु हेरौँ?
के गरौँ, के हेरौँ
तिम्रा झुटा कुराहरुबाट
तिम्रा तामझामको तान्पड हेरौँ कि
जनताको विचल्ली हेरौँ?
भन सरकार
तिम्रा भ्यू-टावरबाट
के गरौँ?
एउटा तिम्रै नाटकको टिकटक बनाउँ कि
आँखा चिम्लेर हामफाल्दिम् तिम्रा
भ्यू-टावरबाट
सरकार के हेरौँ
निर्जन टावरबाट
सत्ता खिचातानीमा चिच्याइरहेको देशकी
तिम्रो नाङ्गो हुंकारकी
जनताको जर्जरता?
के हेरौँ, भन भ्यू-टावरबाट?