'चिनी
चियापत्ती
तेल
साबुन
सर्फ
राम राम! अस्ति भर्खर किनेर ल्याएको होइन र? कति छिटो सबै सकियो?'
घरबाट निस्कनै लाग्दा लक्ष्मीले थमाइदिएको सामानको सूची पढ्दै कमलले लक्ष्मीतिर हेर्दै भने।
'अऽऽऽ त्यही त कति छिटो! चिनी र चियापत्ती बिरुवामा हालेर तेलले सिँचाइ गरेँ। बस्तुभाउलाई साबुनले नुहाइदिनै पर्यो। सर्फको कुँडो पकाएर बाख्रालाई खानदिनै पर्यो' लक्ष्मीले हल्का रिसाएको भावले जवाफ फर्काइन्।
'राम्रो मुखले सकियो भने भैहाल्यो नि, व्यङ्गात्मक साहित्य छाट्न पर्छ।'
'हलिदेखि मावलीसम्म, आँगनको डिलमा उभिनेदेखि भान्साको चौकामा उक्लिनेसम्म, कोही टुप्कियो कि चिया उम्लियो। अरुलाई के भन्नू, हजुरलाई नै चाहिन्छ दिनको दश कप तैपनि धित नमरेर चौतारीको चिया पसलमा दिनको दुई पटक पुग्न पर्छ। अनि कसरी फारो हुन्छ चिनी चियापत्ती?
छोराहरुलाई दिनको तीन पटक लुगा फेरिदिँदा पनि मैलाएर उस्तै। साबुन-सर्फले कसरी पुगोस्? थोरै तेल हालेको तरकारी मलाई मिठो लाग्दैन, उसिनेको जस्तै। त्यो जाबो पलाष्टिको झोलामा झुण्डाएर ल्याएको सामान कति दिन टिकोस्? कति न ट्रकमै लोड गरेर ल्याएको जस्तै यति छिट्टै सकियो रे।
हो यस्तै घर चलाउन गाह्रो हुन्छ र त मैले हजुरलाई विदेश जान भनेको भनै छु। हजुरको कानमा कहिल्यै बतास लाग्ने होइन। हजुरका साथीहरु विदेश गएर सहराँ घरघडेरी जोडिसके। छोराछोरी बोर्डिङ पढेका छन्। स्वास्नीहरु सुनले छापिएका छन्।'
कमलले बोल्न त केही बोलेनन् तर सामानको लिस्ट हातले गुजुमुजु पारेर मुठ्ठीमा कसेको देख्दा कमल रिसाए भन्ने अनुमान गर्न लक्ष्मीलाई गाह्रो भएन।
कमल तगारो खोलेर बाहिरिए। लक्ष्मी करेसा बारीको काममा।
उकालो लाग्दै गरेका कमलले के सोचे कुन्नी? उनी फर्कँदा किन्न पठाएको सामानभन्दा पनि धरै सामान हातमा बोकेर आउँदै गरेको लक्ष्मीले करेसाबारीबाटै देखिन्। साथमा दोकान घरे साहु बा पनि।
बुढाको रिस त तगारो नाघ्ने बित्तिकै सकिएछ। लक्ष्मी मख्ख परिन्। उनीहरु आँगनमा नआई पुग्दै लक्ष्मीले हतार हतार हातखुट्टा धोएर साहुबालाई जम्ले हात गरेर शिर निहुराइन्।
'भित्र गर्मी हुन्छ, हामी बाहिरै बस्छौँ' हातको सामान बुढीलाई दिँदै कमलले भने।
भित्र बस्न गर्मी हुने, चिया खान गर्मी नहुने! साहुबा पनि नजिकै भएकाले लक्ष्मीले मुख फोरिनन्।
'रोपनी २ लाखका दरले ६ रोपनी खेतको १२ लाख। रोपनी १ लाखका दरले ४ रोपनी बारीको ४ लाख। ८ वटा बाख्रा पाठा, एउटा लैनो जर्सी गाई। बाजेको पालाको पूरानो घरको त के हिसाब गर्छस् र कमल, लौ तैपनि दुई लाख थपिदिएँ। सबै जोड्दा बीस लाख भो। तैँले बेच्ने नै हो भने आजै बैना गरम्।'
साहुबाले जुँगामा ताउ लगाउँदै कमलको सबै जायजेथाको हिसाब गरिदिए।
'बेच्न त बेच्ने नै हो साहु बा। बुढा भएका बा-आमालाई छोड्न नसकेर मात्रै हो नत्र मैलै उहिले नै हो बुढी र छोराहरुलाई सहरमा राखेर मैले विदेश कमाउन जाने सोंच बनाएको।
अब बा-आमाको शेषपछि कसलाई कुरेर बस्ने हो यो पखेराँ! यो ठाँउ कुरेर न त हाम्रा पूर्खा उभो लागेँ न त हाम्रा सन्तती नै उभो लाग्नेछन् तर विदेश जाने भन्दैमा आजै बैना गर्नै कुरो पनि त भएन।
म भोलि नै सहर गएर विदेश जाने प्रकृया के हो? कति खर्च लाग्छ? कुन देश जाने? कहिले जाने? कमाइ कति हुन्छ? सबै बुझेर आउँछु अनि सोझै पास गरिदिन्छु। केको बैना भयो र।'
'हुन्छ, सहरबाट फर्केपछि खबर गरेस्।'
साहुबा बिदा भए।
कमल भोलिपल्टै सहर गयो। गाँउको भतिजो पर्नेको डेरामा बसेर उसकै सहयोगमा राम्रोसँग कुरा बुझेर फर्कियो।
'दुई दुई वर्षमा बिदा पाइन्छ रे, म पचास वर्षको नपुगुन्जेल काम गर्न मिल्छ रे, खाईलाई मैनाको पचास हजार नेपाल पठाउन सकिन्छ रे।'
पाँचवटा हजारको मुख देख्न त वर्षदिनको पालेको पाठो बेच्नु पर्छ। महिना कै पचास हजार नेपाल पठाउन सकिन्छ भने आँखा चिम्म गरेर गए हुन्छ। म ढुक्क छोराछोरी सम्हालेर बस्छु। दश वटा वर्ष दुख गरेपछि त यस्ता घरबारी कति जोडिन्छ कति।'
'मेरो कुरै नसकी बीचमा प्याच्च बोल्छे यो। अनि विदेश जाँदा आठ लाख जति खर्च पनि त लाग्छ नि।'
'के भो त, साहुबाले बीस लाखमा घरबारी किन्छु भनेकै त छन् नि' कमलको कुरा भुइमा नखस्दै जवाफ फर्काइन् लक्ष्मीले।
भोलिपल्टै कमल साहुबाकोमा गएर सबै कुरा राखे। दुई दिनभित्र साहुबाले बोलेको रकम बीस लाख कमलले लिएर भएभरको जायजेथा साहुबाको नाममा पास गरिदिए।
आफू जन्मेहुर्केको ठाँउ गाँउघर छोडेर हिड्दा कता-कता मुटुमा गाँठो नपरेको होइन तर सुन्दर भविष्यको कल्पना गर्दै श्रीमती र दुई छोराहरुलाई लिएर कमल सहर जाने गाडी चढे।
उकालो, ओरालो, भिरालो, खोला, नदीनाला पार गर्दै गाडी सहर आइपुग्यो। एकजना भए पो कसैकोमा पाहुना लागेर दुइ/चार दिन भित्रै डेरा सर्न हुन्थ्यो। बगालै त कता जानु, कमलले होटलमा बस्ने निर्णय गर्यो। लक्ष्मीले पनि समर्थन जनाइन्।
भोलिपल्टै कमलले छोराछोरीलाई बोर्डिङमा भर्ना गरिदिए। पैसा पाएपछि शैक्षिक शत्रको बीचमा भर्ना गर्न पनि कुनै अप्ठ्यारो मानेन बोडिङ स्कुलले। छोराछोरी पनि होटलबाटै स्कुल आउँजाँउ गर्न थाले।
स्कुलहरु सजिलै पाइने सहरमा डेरा पाउन कठिन भयो। छोराछोरीलाई आउजाँउ गर्न सजिलो होस् भनेर कमलले स्कुल नजिकै डेरा होस् भन्ने चाहान्थे। दिनभर विदेश जाने प्रकृयाको लागि दौडधुप, साँझ-बिहान डेरा खोज्दा खोज्दै होटलमा नै बसेको महिना दिन नाघिसकेको थियो। स्कुलकै पालेको सहयोगमा स्कुल नजिकै महिनाको १२ हजार तिर्ने सर्तमा दुईवटा कोठाको डेरा पनि भेटियो।
घरभाडा १२ हजार भन्नुमात्र। बत्तीको, पानीको, फोहरको, इन्टरनेट, केबुल लाइनको गरेर महिनाको पन्ध्र हजार बढी तिर्नु पर्ने भयो।
चारजनाको परिवारले महिनादिनसम्म होटलमा खाँदाबस्दा, छोराछोरीको स्कुल भर्ना, कपी, किताब, ड्रेस आदि गर्दा दुई लाख विदेश जाने प्रकृयाको लागि आठ लाख गरेर जम्मा दश लाख खर्च भैसकेको थियो।
नौ लाख रुपैँया बुढीको खातामा, एक लाख रुपैँया आफ्नो पकेटमनीको लागि राखेर कमल विदेश उडे।
दिन जान कतिबेर, लक्ष्मी घरधन्दामा व्यस्त छोराहरु पढाइमा। कमल विदेशको काममा। परीक्षाको रिजल्ट आएपिच्छै बाबालाई छोराहरुले खुसी शेयर गर्दथे। कमल आफै एसइई, आए, बीए पास भए जस्तै मख्ख पर्थे आफूले नपढे पनि छोराछोरीलाई पढाउन सकेकोमा। कमल दुई दुई वर्षमा नेपाल आइरहन्थे।
महिनाको पचास हजार पठाए पनि घरभाडा, खानपिन, आउना पाहुना, औषधि उपचार महिनाको आठ/दश हजार बच्न पनि धौ धौ हुन्थ्यो। चाडबाड परेको महिना त कत्ति पनि बच्दैन थियो।
प्रत्येक दुई वर्षमा कमलको तलब बढेपनि यता छोराछोरीको स्कुल फी, घरभाडा लगाएत अन्य खर्च पनि बढिरहन्थ्यो। आखिरमा बच्ने भनेको मैनाको आठ दश हजार नै हुन्थ्यो।
यति थोरै बचतले कसरी सहरमा घरघडेरी जोड्ने? एक दिन दिउँसो छोराछोरी स्कुल पठाएर लक्ष्मीले कापीमा हिसाब जोडिन्। महिनाको दश हजार बचाए पनि वर्षको एक लाख बीस हजार। पन्ध्र वर्षमा अठार लाख बैँकले दिएको ब्याज जोड्दा बीस बाइस लाखभन्दा बढी त कै गरी हुन्न।
महिनाको पचास हजारको आम्दानी मात्रै सोचियो। सहरको महंगीको बारेमा ख्यालै गरेन छु। यति थोरै पैसाले त गाँउमा पनि जग्गा आउन्न, सहरको त कुरै नगरौँ। कतै गाँउको घरजग्गा हतारमा बेचेर गल्ती त गरिनँ। लक्ष्मीको मनमा चिसो पस्यो।
जति जति दिनहरु बित्दै जान्थे। त्यति त्यति महंगाई पनि बढ्दै जान्थ्यो अनि उनीहरुको सहरमा घर घडेरी जोड्ने सपनापनि टाढा टाढा हुँदै जान्थ्यो।
वैदेशिक रोजगारीमा गएको पन्ध्र वर्षपछि कमल पचास वर्षका भए। उनी सदाको लागि नेपाल फर्किए। कामको धपडीले गर्दा कमल पचास वर्षको उमेरमा पनि साठी जस्तो देखिन्थे। आफ्नो सबै जवानी विदेशमा पसिना बगाएर सक्दा पनि सहरमा घर घडेरी जोड्ने सपना पूरा नभएकोमा उनले दुःख मान्थे।
तर पनि छोराछोरीलाई सहरको स्कुल कलेजबाट बिए पास गराउन सकेकोमा चित्त बुझाउँथे। आफूले विदेशमा श्रम बेचे पनि आफ्ना पढेलेखेका छोराछोरीले आफूले जस्तो दुःख गर्न नपर्ने र उनीहरुले नेपालमै प्राज्ञिक काम पाउने कुरामा विश्वस्त थिए।
'बाबा, ब्याचलर सकेको दिनदेखि जागिर खोज्न थालेको। एक वर्ष बित्दा पनि कही पनि भने जस्तो जागिर पाइएन। हजुरले काम गर्ने गरेको कम्पनीमा हजुरकै पोष्टमा काम पाइएको छ। नाई नभन्नुस् है बाबा, मैले र भाइले त पासपोर्ट पनि बनाइसक्यौँ। भाइ र मैलै पनि विदेशमा दश/पन्ध्र वर्ष काम गर्यौँ भने सहरमा नसके पनि गाँउमा हामीले साहुबालाई बेचेको हाम्रो पूर्ख्यौली घरजग्गा किन्न सक्छौँ कि' एकदिन सपरिवार खाना खाना बसेको बेला कमलको जेठो छोराले भन्यो।
छोराहरुलाई स्कुलदेखि कलेजसम्म सहरमा पढाउन सकेँ भनेर बुझाएको चित्त पनि धरधरी फाट्यो कमलको। गाउँको पूर्ख्यौली सम्पत्ति बेचेर विदेशमा पसिना बगाएर छोराहरु सहरमा पढाएर मैलै कमाएँ कि गुमाएँ? कमलले केही बोल्न सकेनन्। हातको गाँस मुखमा लान बीlर्सेर छोराहरु अनुहारमा एकोहोरो हेरिरहे।