ती आँशुका नदीहरु माथि
बाँधिएका मिठाइका पुलहरु,
ती पसिनाका खोलाहरु माथि
तन्काइएका सपनाका तुइनहरु,
ती सुखका मरुभूमि माथि
ठड्याइएका स्वप्निल महलहरु,
आर्तनाद र चित्कार झन्कृत
स्वरगुलमय संगीतहरु,
टिक्ला त महाराज?
अरबबाट आएका लासका चाङहरु
र चिताको न्यानो,
तान्जेनियामा नांगिएका चेलीका आङहरु
र शरीर बेचेर पठाइएका रेमिटेन्स,
जापानको रेलमा निदाएका भविष्यहरु
र रगतसँग साटिएका पैसा,
युरोप अमेरिकामा भासिएका प्रतिभाहरु
र सम्झौतामा उजाडिएका मन,
टिक्ला त महाराज?
मकै गोठालोमा बाँदर
चोरको हातमा चाबी
दूधको साक्षी बिरालो
स्याललाई पैंचो मासु
साधु बिरालोलाई मुसो
बाँदरको हातमा नरिवल
आगोको रापमा घिउ
सर्पको मुखमा भ्यागुतो
टिक्ला त महाराज?
जरा अनुसार रुखको आयतन हुन्छ
पैताला टेकेर हिँडेको सुहाउँछ
बाउबाजेले घिउ खाए
नपत्याए हात सुँघ भनेर
टिक्ला त महाराज?
टिक्ला त?
टिक्ला?