कविता
असाध्यै गाह्रो
यो अर्ती र उपदेश लिन
एकदमै निम जस्तो तितो
करेलो र चिराइतो जस्तो तितो
सुनिदेउन औषधि हुन्छ भन्दा पनि
सुन्नै मन नलाग्ने
कसो कसो असजिलो भएर
आलस्य लागेर
पट्यार लाग्ने
हाई हाई आउने
एकैछिन स्थिर भएर
एकाग्र भएर
एकचित्त पनि हुन नसकिने
हुन पनि
जहाँ जस्लाई भेट्यो उही
अर्ती र उपदेश दिने
यस्तो लाग्छ यो संसारभरि
सबैजना अर्ती र उपदेश
दिने मात्र छन्
लिन भनेपछि
पर पर भाग्छन्
सुनिदेउन भनि अनेक आग्रह गर्दा पनि
बुझेँ बुझेँ भनेर टार्न खोज्छन्
भलो होस् राम्रो होस् भनेर
अर्ती र उपदेश दिउँ भन्दा
लाइक गरिरहनेले
फेसबुकमै ब्लक गरिदिन्छन्
फोन गरिरहनेले
फोन नै गर्न छोडिदिन्छन्
अरु त अरू आफ्नै नातागोता साथीभाइ पनि
नजिक नै नपर्ने
जमाना नै खराब भएको हो कि
धेरै स्वतन्त्रता भएर मानिस छाडा भएका हुन् कि
ठूला बडाको सम्मान गर्न छोडेका हुन् कि
सामाजिक मान मर्यादालाई बेवास्ता गरेका हुन् कि
राम्रो ज्ञानगुनका अर्ति उपदेश त
जसलाई दियो
उही वैरी हुने
हुँदा हुँदा कोही त ठाडै भनिदिन्छन्
कति दिमाग चाटेको भनेर
'आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको' भन्ने
त्यति असल उखान
अब त सबैले बिर्सिसके
सबै आफ्नै रवाफ सुनाउन खोज्छन्
सबै आफ्नै डम्फु बजाउन खोज्छन्
सबै आफै जान्ने सुन्ने हुन खोज्छन्
अब हित हुने
कल्याण हुने
फाइदा हुने
मङ्गल हुने
अर्ती र उपदेश
कल्ले लिने?