दरबारले जनतालाई
कहिल्यै सुनेन
भित्ताको त कान हुन्छ भन्थे !
सिंहदरबारका भित्ताका त
जिब्रैजिब्रा रहेछन् !
विषालु जिब्राहरू !
खाइरहने, चपाइरहने र
भुइँमान्छेहरूलाई डसिरहने ।
कहिलेकाहीँ तिनै जिब्रा
गीत गुन्गुनाउँछन्
कहिले जोडजोडले बर्बराउँछन्
फेरि
कहिले कथा भट्टयाउँछन् ।
शासक !
कथाले पेट भरिने भए
चार दिनदेखिको भोको
मलर सदाले भन्ने थिएन
चारो खोज्दै गर्दा ‘अलबिदा’ !
नाम्लाको सिरानी हालेर
सुतेको भोको सूर्यमान
अस्ताउने थिएन
भोलिको सूर्य नउदाउँदै ।
कथा त मलाई पनि
सुनाउन मन छ
तिम्ले जस्तै
सुन्छौ ?
जसरी छट्टु खरायोले
जंगलको राजा हुँ भनेर
गर्जने सिंहको
दम्भ र घमण्डको
सेखी झारेथ्यो,
इनारमा ऐना देखाएथ्यो,
ख्याल राख शासक !
अहंकारी सिंह
पानीमा खसेजस्तै
तिमी डुब्ने दिन टाढा छैन ।
आफ्नै आँगनमा सीताहरू
असुरक्षित हुँदा
रामको मन्दिर बनाउने
घोषणा गर्छ
अभिमानी नायक ।
हेक्का रहोस् !
चेसमा गोटीहरू खेलुन्जेल न हो
सिपाही, मन्त्री र राजा बन्ने
जब खेल खतम
तब सबै गोटीहरू
एउटै बट्टामा बन्द हुन्छन् ।
सम्राट !
के उपमा दिउँ तिमीलाई ?
धृतराष्ट्र या हिरण्यकश्यपु ?
अब त अत्ति भो
खलनायकहरूको नांगो प्रहसन
सम्राटका अजन्मा पुत्रहरू
जयजयकार गर्दैछन् ।
नाटकका दृश्यहरू हेरेर
गदगद छ सम्राट ।
बन्द गर यी तालीहरू
मिल्काइदेऊ पूजाका थालीहरू
जहाँ न लाज छ
न सरम छ
न इमान
न विवेक
छ त केवल
अहंकार !
दरबार,
फगत दरबार हुँदोरहेछ
त्यसैले
फोर्न मन छ
सिंहदरबारका भित्ताहरू
तोड्न मन छ अहंकारले भरिएका
बालुवाटारका पर्खालहरू ।
आऊ भुइँमान्छेहरू
नरसिंह अवतार वनेर आऊ
सिंहदरबारका भित्ताहरू चिर्थोन
खिइएका दश नंग्रा
लिएर आऊ
नसुन्ने दरबारको भित्ता फोरौं
बालुवाटारको पर्खाल तोडौं
गल, गैंची र बेल्चा लिएर आऊ
आँट, साहस र हिम्मत बटुलेर आऊ ।
घाम डुब्नै लाग्यो
यही गोधुलीमा आऊ
साउण्डप्रुफ सिंहदरबारका
भित्ता फोरौं
बालुवाटारको पर्खाल तोडौं।