परार साल छेरौटीले दुख्यो गाउँ
कानमा पुगेन बेखबर राज्यका
अनुदानका एकएक पोका जीवनजल बाँड्न
बाढीले बगायो पोहोर साल छाक टार्ने खेतबारी
अस्तायो गाउँको एकचिम्टी खुसी
यसपालि-
आएन अनुदानको बिउ, मल
थाहा छैन देशलाई-
फुँगुवा दोभानका चँदारेले
पाए कि पाएनन् फापर र कोदो खान?
भेटे कि भेटेनन् एकएक टुक्रा लगौँटी?
कहिलेकाहीँ समाचारबाहेकमा
देश छ भन्ने नसुन्नेहरूलाई
के थाहा र?
गिद्धलाई गञ्जकको चाबी दिएर
महलमा मग्नमस्त सपना देख्ने
राष्ट्रिय पिलाहरूले
देशको नाभीमा किर्ना ढाडिएका
सारंगी पेटमा अनिकाल पसेर
न्यूनतम गणतन्त्रको गन्ध सुँघ्न नपाउँदै
खाडी पसेको भोटे कान्छाले
खै कहिले देख्न पाउला कि नपाउला देश?
काँचा भ्याकुर पस्केर
अलिनो भोकमै देश खोज्न हिनेकी
खोजिरहिछे अझै अन्तरी याक्थुम्बा
सिंहदरबारका बाहिरी भित्तामा
सहिदहरूको सूची
थाहा छैन उसलाई
पढिरहिछे बिक्री भएको रगत
हराएको ठेगाना र गायब लोकतन्त्र
के लेखी पठाउँ अब गाउँमा
देशका सडकमा ‘देश’ नभेटी
मरिछे अन्तरी याक्थुम्बा
लोकतन्रको पेटीमा भोकको अभावले।