मान्छे मर्दा केही बिलाएर मर्छ
जन्मदा केही लिएर आएकै हुन्छ
जस्तै मेरो छोरो
हिजो जन्मेको
ठूलो भारी बोकेर
कहिले होला उसले आफै मुन्टो अडाउन सक्ने?
कहिले फुन्तुङ फुन्तुङ हिड्ने?
कहिले दौडने?
कहिले होला उसले
मेरो बाउभन्दा विद्वान कोही छैन भन्ने?
कहिले होला
मेरो बाउलाई केही आउन्न भन्ने।
त्यसपछि ऊ आफ्नै बाटो लाग्ने छ।
यहाँ विचार जन्मेको छ।
जस्तै मेरो छोरो
हिजो जन्मेको
ऊ अनन्त यात्राको लागि भनेर
जन्माइएको सिपाही
आज उसलाई ज्वरो आएको छ।
आफ्नो आची आफै धुन नजानेर गुप्तांगमा लागेको।
पिसाबको संक्रमण हो कि
गर्मीले छोएको
ऊ नाबालक
उसलाई जोगाउन
उसलाई बचाउन
हैरान उसको बाउलाई भएको छ।
ऊ सिजेरिएन सेक्सन गरेर जन्मिएको
ढिलो भएको थियो ऊ जन्मिन
डाक्टरमा बहस चल्दै थियो
एउटा अझै कुरौ भन्दै थियो
पोस्ट डेटेड
नौ वर्षमा
ऊ जन्माइयो
आमाले जन्माई
मेरो विचार मेरो रहेन
जस्तै मेरो संविधान
हिजो जन्मेको
म मेरो छोरो हुर्काउन
आफ्नो किड्नी बेच्दै छु।