धेरैपछि दिलको लाइबेरीमा
ढोका खोल्ने मौका मिल्यो
माकुराको जालो पन्छाउँदै
चारैतिर नजर डुलाएँ।
अचानक टेबलमा फिजिएको
फाइलमा आँखा पुग्यो
एक चक्कर काटेर धुलो पन्साउँदै
प्रस्तावमा हात बढाएँ।
त्यो नाता जोड्ने प्रस्तावको प्रस्तावना
यत्रतत्रबाट दर्ता थिए
मौका मिल्यो प्रस्तावना पढ्ने
अनि सिफारिस गर्ने।
तिम्रो प्रस्तावना पढेँ
अरु बाँकी सबै प्रस्ताव बेकार लाग्यो
कति त झुट पनि लाग्यो
अनि
कतिले समय बिताउनलाई पेशेको नि पाएँ
कति प्रस्ताव त वैकल्पिक झैँ प्रस्तिस्पर्धामा थिए।
तर
तिम्रो प्रस्तावको योजनासँगै
शिर्षक नै सुन्दर लाग्यो
पानाहरु पल्टाउँदै गएँ
अझ नयन
रंगिन अक्षरहरुले पोतिएको हरफमा पुगेर
टक्क अडियो
भविष्यको सुन्दर नृत्य
शब्द शब्दमा नचिरहेको देखेँ
एकछिन आँखा चिम्लिँदै
सोचेँ
कतै म एक, दुई, तीन गन्दै आल्झिएको त छैन?
फूलको पातमा 'तिमी' 'तिमी होइन' भन्दै खोजिरहेको त छैन?
कतै समय बितेर
प्रस्तावनाको परिणाम सार्वजनिक नहुँदै
फेरि एतिहासिक पुस्तकालयमा बस्ने त होइन प्रस्तावहरु!
झसंग हुँदै तिम्रो प्रस्ताव सिफारिस गरेँ।
खबर छ
स्वीकृत भयो रे प्रस्ताव
बधाई छ
तिम्रो नातासम्बन्ध जोडने सुन्दर योजनालाई।