'स्निग्धा, म तिमीलाई माया गर्छु।'
संजयको यो कुरा एकाएक सुनेर स्निग्धा अक्क न बक्क भइन्। स्निग्धाको एक्कासी हात खुट्टा लगलगी काम्न लाग्यो। शरीरबाट चिटचिट पसिना आउन थाल्यो।
स्निग्धाले सुनिन कि भनेर संजयले फेरि दोहोर्याएर भन्यो- 'स्निग्धा, म तिमीलाई माया गर्छु।'
स्निग्धालाई मनमनै के भनौँ भनौँ भयो। संजयको त्यो कुरा सुनेर पनि नसुने झैँ गरिन् स्निग्धाले।
संजयले अलि ठूलो स्वरमा फेरि पनि भन्यो- 'स्निग्धा, म तिमीलाई माया गर्छु।'
पटक पटक यही कुरा भनेपछि यस पटक स्निग्धाले बडो सम्हालिएर सुस्तरी 'म पनि तिमीलाई माया गर्थेँ कुनै बेला। तर तिमीले कहिल्यै वास्ता गरेनौ?' यति मात्र भनिन्।
स्निग्धाको यस्तो जवाफ सुनेर किन हो संजय वर्षों वर्षपछि आज एकाएक खुसी देखियो।
संजय खुसी हुँदै भने- 'स्निग्धा, जाउँ हिँड आज कतै कफी खान।'
स्निग्धाले पनि हुन्न भन्न सकिनन्। धेरै वर्षपछि एक्कासी भेट भएको स्कुले साथी। टार्नै सकिनन्।
स्निग्धा टाउको हल्लाएर 'हुन्छ जाउँ' भनेर संजयको पछि पछि लागिन्। संजयले नजिकै रोकिराखेको मोटरबाइक स्टार्ट गर्यो।
स्निग्धा अलि अप्ठ्यारो मानेर मोटरबाइकको पछाडि बसिन्। संजयले मोटरबाइक अगाडि बढाए। दरबारमार्गस्थित बिगिनर्स कफी हाउसमा दुवैजना छिरे।
कफी हाउसको टेबुलमा बस्नासाथ बेयराले टेबुलमा अर्डर लिन आए। बेयराले 'हजुरहरुको के के अर्डर हो' भनेर कलम रगोजीबाट अर्डर स्लिप निकालेर लेख्न थाले। संजयले पनि स्निग्धालाई के लिने भनेर सोध्यो।
स्निग्धाले लजाउँदै कफी भनेर जवाफ दिइन्।
संजयले भने- 'कफीमात्र? अरु केही लिने हो कि स्न्याक्सहरु?'
स्निग्धाले 'हैन, अरु केही खान मन छैन' छोटो उत्तर दिइन्।
संजयले धेरै कर गरेन। संजय र स्निग्धा विगतका कुराकानीमा गफिए। संजय र स्निग्धा धेरै वर्षपछि एकअर्कालाई भेटेका थिए।
हुन त स्निग्धा र संजय बुटवलस्थित ज्ञान विज्ञान माध्यमिक विद्यालयमा तीन कक्षादेखि सँगै पढेका थिए। दुवै पढाइमा तेज थिए। कहिले संजय प्रथम कहिले स्निग्धा। यो क्रम धेरै वर्षसम्म चलिरह्यो।
संजयको आर्थिक अवस्था निकै राम्रो थियो। स्निग्धाको भने सामान्य थियो। दुवैले संगसंगै एसइई 'ए+' मै पास गरेका थिए। संजय उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ गयो।
स्निग्धाको आमाबाबुले जेठी छोरी त्यसमाथि आर्थिक अवस्थाले नभ्याउने भएको कारण उनलाई काठमाडौँ पढ्न पठाएनन्। स्निग्धा बुटवलमै पढ्न थालिन्।
संजय काठमाडौ पढ्न बसेको पनि करिव १० वर्षभन्दा बढी भैसक्यो। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तह सकेर सरकारी कार्यलयमा अधिकृतको नोकरी खाएकै पनि तीन वर्ष भैसक्यो।
संजय २७-२८ वर्ष भैसके पनि अझै विवाह भएको छैन। विवाह गर्ने सुरमा छ। ऊ काठमाडौँको कपनमा एउटा फ्ल्याट लिएर बसेका छन। नोकरीको पनि राम्रै आम्दानी घर परिवार पनि संभ्रान्त भएर होला पैसाको अभाव कहिल्यै खड्केन।
खानपिन र घुमफिर गर्न खुबै मन पराउने। वर्षमा एकपटक दशैँमा जसरी पनि घर पुग्छ। घर पुगेपछि आफ्ना साथीभाइ कलिगहरुसँग घुमफिरमै रातदिन बिताउँथ्यो।
संजयका बाबु आमा सधैँजसो संजयलाई 'विवाह गर्ने होइन बाबु?' भन्नु हुन्थ्यो।
संजय पनि खिस्स हाँसेर ‘हो’ भनेर टारिदिन्थ्यो। अलि राम्री केटी खोजिदिनु नि भनेर भन्थ्यो।
भाइ-बहिनी पनि ठूला भैसकेको हुनाले स्निग्धा पढाइमा तेज र थप अध्ययनको लागि काठमाडौँ जाने निधो गरिन्। काठमाडौँमा स्नातकोत्तर तह पढ्दै गर्दा आफ्नै समकक्षी पंकज थापासँग दुई वर्षको लामो प्रेमपछि विवाह भयो।
स्निग्धाको विवाह भएको पनि १० वर्ष भइसक्यो। उनको एउटा छोरा सात वर्ष र छोरी चार वर्षका छन्। पंकज एउटा सरकारी कार्यालयको कार्यालय प्रमुख भएका छन्।
स्निग्धा काठमाडौँ लाजिम्पाटस्थित एउटा विदेशीले चलाएको आइएनजिओमा काम गर्छिन्। उनको परिवार सुखी सम्पन्न छ। हिजोआज केही कुरामा कमी छैन। छोराछोरी, घर परिवार, आम्दानी सबै क्षेत्रमा।
संजय आफ्नो अफिसकै कामको सिलसिलामा त्यही स्निग्धाले काम गर्ने आइएनजिओको अफिस पुगे। त्यहा नै हो पहिला संजयले स्निग्धालाई देखेको। एक्कासी स्निग्धालाई देख्दा संजय छक्क पर्यो।
एक दशकभन्दा बढी भयो होला एक अर्कालाई नदेखेको। देखेर दुवै अचम्मित र दुवैजना अत्यन्तै खुसी पनि भए। दुवैले स्कुलका मिठा मिठा क्षणहरुको स्मरण गर्दै गफिन थाले।
स्निग्धाले टेबुलको बेल थिचेर कार्यालयको सहयोगीलाई बोलाइन्। सहयोगी स्निग्धाको छेऊमा आएर भने 'म्याडम हजुर किन बोलाइबक्सेको?'
स्निग्धाले हाँसेर मिठो दुई कप कफी ल्याउन अर्डर गरिन्।
कार्यालय सहयोगी ‘हस्’ भनेर बाहिर निस्के। संजय र स्निग्धा केहीबेर कुरा गरे। स्निग्धाको मोबाइल नम्बर लिएर संजय त्यहाँबाट बाहिरिए।
संजय सरासर कोठामा आए आज उनी साह्रै बेचैन भए। बेचैन नहुन पनि कसरी! १३-१४ वर्ष अगाडिको स्निग्धा र आजको स्निग्धामा आकाश जमिनको फरक।
संजय स्निग्धालाई सम्झन थाल्यो- कति राम्री चिटिक्क देखिएकी। चटक्क मिलाएर लगाएको पेन्ट, सर्ट, सेमी-स्टकोट र त्यो गुलाबी रंगको स्कार्फमा। गोरी चटक्क मिलेको जीउडाल ज्यादै आकर्षक। पत्याउनै गाह्रो। त्यो स्कुले स्निग्धा र यो आजको स्निग्धा। स्निग्धासँग ऊ लोभियो।
साँझै संजयले मन दह्रो पारेर स्निग्धाको मोबाइलमा फोन गर्यो। स्निग्धाले फोन उठाई।
संजय- हलो स्निग्धा, म संजय।
स्निग्धा- हजुर, म बोल्दैछु। भन न के कुरा?
संजय- एक पटक भेटौँ न स्निग्धा।
स्निग्धा- म अलि बिजी छु। अफिसको कामले।
संजय- यत्रो वर्षपछि भेट भो, एकछिन पनि टाइम मिलाउन सक्दैनौ?
स्निग्धा- शनिबार र आइतबार बिदा हुन्छ। घरको कामले फुर्सद नै हुन्न?
संजय- प्लिज! मैले वर्षौ भयो तिमीलाई भेटन खोजेको? आजै मात्रै देखेँ। प्लिज एक पटकसँगै बसेर कफी खाउँ न ल?
स्निग्धा- ठिकै छ। म आउँदो शुक्रबार समय मिलाउँछु अनि भेटौला, हुन्न?
संजय- हुन्छ। कहाँ भेट्ने?
स्निग्धा- दरबारमार्गमा हुन्न?
संजय- हुन्छ। बाई।
शुक्रवार ५:०० बजे स्निग्धा दरबारमार्गस्थित बिगिनर्स कफी हाउसमा पुगिन्। संजय पहिल्यै पुगिसकेका थिए। दुवैजना सामान्य शिष्टाचार गरेर बसे। १४-१५ वर्षपछि पुनः भेटघाट हुँदा संजय निकै खुसी देखिए। संजयले चिकेन चिल्ली, फिंगर चिप्स कफी अर्डर गर्यो।
संजयले स्निग्धालाई हेर्दै कहाँ बस्छौ? भनेर प्रश्न गर्यो। स्निग्धाले म बाँसबारी बस्छु। त्यही सानो नोकरी आइएनजिओमा काम गर्छु, यस्तै हो भनेर सामान्य जवाफ दिइन्।
स्निग्धाले पनि तिमी के गर्दैछौ? कहाँ बस्छौ? भनेर सोधिन्। संजयले 'मेरो सरकारी नोकरी हो, अधिकृत छु। कपनमा फ्ल्याट लिएर बसेको छु। मैले विवाह गरेको छैन।'
स्निग्धाले 'ए ए..' भन्दै सुनिमात्र रहिन्। अर्डर गरेको खाना आइपुग्यो। दुवै जना खाना खाँदै गफ गर्न थाले।
संजय- मैले तिमीलाई कति खोजेँ? वुटवल घर गएको बेला? कतै पनि देखिनँ। कता हरायौ हँ?
स्निग्धा- म त यतै काठमाडौँ थिएँ नि। बुटवल क्याम्पसमा स्नातक गरेँ। मैले पढ्छु भनेपछि भाइबहिनी पनि ठूला भए, ड्याडीले स्नातकोत्तर तह गर्न काठमाडौँ पठाउनु भयो। दुई वर्ष काठमाडौ बसेर पढे। त्यसपछि म यतै छु।
तिमी त काठमाडौँ पसेपछि हामीलाई के सम्झन्छौ र? हाम्रो के याद आउथ्यो र है? तिमी त धनी बाकाका छोरा? त्यसमाथि काठमाडौँजस्तो रंगीन सपनाको सहर पसेपछि अरुको के मतलब? हैन त?
संजयले स्निग्धाको यति कुरा सुनेपछि अवाक् भए, मुख रातो पार्यो। केही जवाफ फर्काएन, सुन्यो मात्र।
करिब २ घण्टाको बसाइमा संजयले निकै आशक्ति रुपले स्निग्धालाई हेरिरह्यो मात्र। मैले नै गल्ती गरेँ कि झैँ आभाष दिलायो। स्निग्धाले बुझेर पनि नबुझै गरिन्।
हुन त विद्यालयमा पढ्दाको प्रथम हुने भन्ने एक अर्काबीच होडबाजी नै चल्थ्यो। यी दुवै एकअर्कालाई ईष्या गर्थे। कैयौँ पटक त झगडा परेको थियो। स्निग्धालाई अरु त्यस्तो कुनै मतलब नै हुँदैन थ्यो। स्निग्धा पढनमा नै बढी ध्यान दिन्थिन्।
कहिले काहीँ विद्यालयबाट शैक्षिक भ्रमण जाँदा र विद्यालय स्तरीय प्रतियोगितामा सँगसँगै हुन्थे। तर त्यहाँ कसरी प्रतियोगिता जित्ने भन्ने मात्र ध्याउन्न हुन्थ्यो।
संजयले पहिलेदेखि नै स्निग्धालाई असाध्यै मन पराउँथ्यो। स्निग्धाले पनि संजयलाई भित्रभित्रै मन पराएको हो तर ऊ धनी बाबुको छोरा, मसँग विवाह गर्दैन, संजयको घर परिवारले मान्दैनन भन्ने थियो। दुवैले कहिल्यै मनका कुरा एकअर्कोलाई भन्न सकेनन्।
अर्डर गरेको खाना सबै खाइसकेपछि संजयले बिलको पैसा तिर्यो। दुवैले घर जाउँ भन्दै बाहिर निस्के। स्निग्धालाई संजयले घरसम्म पुर्याउन जाँदै गर्दा बाटोमा स्निग्धासँग विगतका कुरा सुनाउँदै सुन्दै घरसम्म पुर्याइदिए। संजय बाहिरबाटै फर्कियो।
हिजो आज संजय स्निग्धालाई बारम्बार फोन गरिरहन्छ। कुनै न कुनै बहानामा भेट्न स्निग्धाको अफिसमै जान्छ। स्निग्धा पनि फुर्सद भएसम्म भेटिरहन्छिन्। एउटै ठाउँ, एउटै गाउँघर सँगसँगै पढेको हुँदा साथीको रुपमा भेटिरहन्छन्।
भेटमा खासै कुरा हुँदैन। सञ्चो, विसञ्चो, अफिसको काम मात्र। संजय स्निग्धा देख्नासाथ केही थप कुरा गर्नै सक्दैन। सिर्फ संजयको मनोविज्ञान स्निग्धालाई अत्यन्तै माया गर्छ।
संजय स्निग्धालाई त्यस्तो कुरा भन्न सक्दैन। संजयले स्निग्धा विवाहित महिला हुन् भन्ने पनि चाल नै पाउदैन। संजयले थाहा पाओस् पनि कसरी? काठमाडौँ छिरेपछि स्निग्धालाई १०-१५ वर्षको अवधिमा एक पटक पनि भेटेकै छैन।
दुई दुई छोराछोरीको आमा हुन् भनेर कसरी चाल पाओस् संजयले! स्निग्धा पनि आइएनजीओको जागिरे, सधैँ चिटिक्क परेर हिड्ने। २ वटा छोराछोरी हुर्किसकेको के थाहा संजयलाई! त्यही भएर पनि संजय स्निग्धाको भेटेदेखि पिछा गर्न छोडेको छैन।
एक हप्ता भयो स्निग्धा, अफिस नगएको। सन्चो नभएर। ज्वरो र रुघाखोकी लागेर। संजय स्निग्धालाई भेट्ने बहानामा स्निग्धाको अफिसमा २-३ चोटि पुग्यो। फोन गर्यो, फोन पनि उठाइन स्निग्धाले। संजयलाई कौतुहलता भयो, स्निग्धालाई के भयो? किन मेरो फोन रिसिभ गरिनन् भनेर।
लगातार मोबाइलको घण्टी बजिरह्यो। स्निग्धाले फोन उठाइन्। फोन संजयको थियो।
स्निग्धा- (मधुरो स्वरमा) हेलो।
संजय- हेलो स्निग्धा।
स्निग्धा- केही कुरा छ, भन न?
संजय - तिमीलाई सञ्चो छैन कि के हो?
स्निग्धा- हो, संजय। रुघाखोकी ज्वरो आएको छ।
संजय- ए, ल ल। म तिमीलाई भेट्न घरै आउँछु नि।
स्निग्धा- भयो पर्दैन। १-२ दिनमा ठिक भैहाल्छ नि। म अफिस आउँछु, त्यतै भेटूला नि।
संजय- हैन, म अफिसबाट भोलि दश दिनको लागि काठमाडौँ बाहिर जान्छु। तिमीसँग भेट्न म एकपटक आउछु।
स्निग्धा- हस्, हुन्छ आऊ न त त्यसो भए।
फोन गरेको आधा घण्टामा संजय घरमा आइपुग्यो। गेटमा रहेको बेल थिच्यो। भित्रबाट स्निग्धा आएर ढोका खोलिन्। दुवै बैठक कोठातिर गए।
स्निग्धाको ज्वरो कम भैसकेको थियो। संजयले स्निग्धालाई भेट्यो कि म तिमीसँग बिहे गर्छु? माया गर्छु? कफी खान आऊ न? मात्र भनेर दिक्क लगाएका थिए। तैपनि संजयले स्वयम् वास्तविकता आफै बुझुन् भनेर नै यो सब प्रपंच गरेकी थिइन्।
संजयले स्निग्धालाई भेट्यो किः
संजय- स्निग्धा, म तिमीलाई माया गर्छु।
स्निग्धा- हजुर! के भनेको?
संजय- म तिमीसँग बिहे गर्छु?
यस्ता के नचाहिँदो कुरा गरेको? स्निग्धाले भनिन्।
संजय एकहोरो रट लगाउँदै- म तिमीलाई असाध्यै माया गर्छु।
पटक पटक यही कुरा सुनेर स्निग्धाले कड्किँदै म विवाहित महिला हुँ। मेरा दुई जना केटाकेटी छन् भनिन्।
यति भनेपछि स्निग्धाको कुराले संजय छाँगाबाट खसे झैं भयो।
रिसाउँदै स्निग्धाले फेरि भनिन्- 'म त विवाहित हुँ, म कसरी तिमीसँग विवाह गर्न सक्छु? मेरा केटाकेटी भैसके। तिमीले यस्तो कुरा कसरी भन्न सक्छौ?'
दिनको चार बज्नै लागेको थियो। स्निग्धाको छोराछोरी स्कुल सकेर 'मामु मामु' भन्दै घरभित्र पसे। स्निग्धाको त्यत्रा हुर्किसकेका छोराछोरी देखेर संजय तीनछक पर्यो। केही बोल्नै सकेन। हेरिमात्र रह्यो।
एकैछिनमा स्निग्धाको पति पवन पनि घरभित्र छिरे। एक्कासी पवनलाई देख्नासाथ संजय झसंग भई टोलाउन थाल्यो। किनकि पवन संजयको कार्यालयका हाकिम थिए।
संजय टोलाएको देखेर स्निग्धाले संजयलाई 'संजय' भनेर बोलाइन्। संजय झसंग हुँदै 'पवनलाई सर, नमस्कार!' गरे।
पवनले नमस्कार फर्काए। पवनले संजयलाई 'तिमी यहाँ कसरी आइपुग्यौ त?' प्रश्न गरे।
संजय असिन पसिन भए। संजयले स्निग्धा मेरो स्कुल पढ्दाको साथी भनेर जवाफ दिए।
'ए, ल ल राम्रो। ल तिमीहरु कुराकानी गर्दै गर्नु' भनेर पवनले थप केही कुरा नगरी आफ्नो बेडरुमतिर गए।
त्यतिन्जेल संजय असिन पसिन भैसकेका थिए। नहुन् पनि कसरी! आफूले प्रेम प्रस्ताव राखेको मानिसको श्रीमान आफ्नो हाकिम। हुर्के बढेका दुई जना छोराछोरी आफ्नै सामुन्ने।
हाकिम पवनकै श्रीमती रहिछन् स्निग्धा भनेर चाल कहिल्यै पाएन संजयले। त्यसैले संजयलाई आज मरेकै जुनी झैँ लाग्यो। यो सबै वास्तविक थाहा पाएपछि संजयले स्निग्धालाई अब कहिल्यै नभेट्ने मनमनै सोच्यो।
माथिबाट पवन तल नओर्लदै स्निग्धालाई जान्छु भनेर बाहिरिए। अब कहिल्यै स्निग्धालाई नभेट्ने भनेर।