तिमीले सोधेका सबै प्रश्नको जवाफ दिन तयार छुँ
प्रश्न त गरी हेर
भन्छौ नि दिनभरी घर बसेकी छौ
के काम छ र?
कहिल्यै भनेका छौ घरको काम म गर्छु
तिमी बाहिरतिर जाने गर।
तिमी भन्छौ नि पधेँरामा गयो
गफ चुट्यो के काम छ र?
आजसम्म सुनेकि छैन पानी म ल्याईदिन्छु
तिमी कम्प्युटरमा नयाँ कुरा सिक।
आइमाई जुटे नचाइने कुरा गरे
त्यो त तिमी सँधै भनिनरहेका हुन्छौ
कहिल्लै भनेका छौं?
आज छिमेकमा मानव विकासको तालिम छ
म घरको काम गर्छु
तिमी जाने तयारी गर।
बस तिमी भन्न मात्र जानेका छौ
फेसबुक र टिकटकमा जानेभो जीवन्
सभा र गोष्टीमा त तिमी नै गएका छौ नि त
समाज विकासको अभियानमा
तिम्रै मात्र बोलवाला रहेको छ त।
तिमी सधै भन्ने गर्छौ नि
त्यही एउटा छोरो हेर्न पनि नसक्ने
के काम छ र?
कहिल्लै भनेका छौ आज बाबु म हेरीदिन्छु
तिमीलाई मन लागेको काम गर
तिमी भन्न मात्र जानेका छौ
यो भएन, त्यो भएन
आइमाइको काम छैन केहि गर्दैनन्।
कहिल्लै सोचेका छौ
तिमीले लगाउने लुगा सधै सफा कसरी हुन्छ?
तिम्रो थालमा पस्किएको परिकार बनाउन
कति समय लाग्छ?
सधै सुन्ने गरेकी छुँ
ती साना छोरा छोरी पनि पढाउन नसक्ने
तिम्रो पढाइ के काम छ र?
अब त भनिदेउ प्रिय
अभिभावक दिवसमा म गइदिन्छु
स्कुलबाट बाबु नानी म ल्याइदिन्छु
तिमी तिम्रो पढाइ पुरा गर।
तिमीले सोधेका सबै प्रश्नको जवाफ दिन तयार छु
प्रश्न त गरी हेर