कविता
अस्पतालको बेडमा रुनु भएकाे मेरो बाबा
निष्कपट,निश्चल आँखाका ती हेराइहरू
इन्जेक्सन र सिलिन्डरको अक्सिजनबाट
चलेका ती मन्ध मुटुका धड्कनहरू ।।
एक्लिएर बसेको दुनियाँको अँध्यारो कुनो जस्तो
आफन्त र आफन्तहरू आउँछन् कि भनेर
आँखामा आँसु पिलपिल झरेको अवस्था
टाढा/टाढा सम्म आफन्तको माया न भेटिएको कष्टता ।।
परदेशी साथीहरूको प्रतीक्षामा दिनभरको उज्यालो काटेर
साँझको धिपधिपे अँध्यारोमा साथी आउँदा आशाको दियो जलाएर
मुखबाट आवाज नआए पनि उनीहरूको सामिप्यमा गएर
उनीहरूको हेराइ सँग आफ्नो आत्माबल बढाएर।।
यता स्वदेशमा,
हजुरको पीडा देखि पोलिएका हामी
बाध्यताको बन्धनमा बाँधिएको यो कहानी
चाहेर पनि केही गर्न नसकिने जमिनको दूरी
कस्तो यो देश अनि विदेशको अँध्यारो बिहानी।।
एकान्त कुनामा हजुर आमाका अविरल आँसु
रातभरि भिजाउँछन सिरानी आमाका ती आँसु
हजुर बुवाका आशाका लहरहरू उड्दैछन् धुँवा सरी
सानो भाइ रुन्छ बाबा किन बोल्नु हुन्न भनी घरिघरि।।
म कसरी समालौं आफैंलाई आँखामा आँसु दबाएर
एकान्त खोज्छु म पनि रुन विरक्त मन भएर
दुख्ने मुटुमा पत्थर राखेर भए पनि सबैलाई समाल्दै छु
अँध्यारोको यो समय बीच बिहानीको उज्यालोको पर्खाइमा छु।।
परिवेश र समय सँग जुध्न अति कठिन छ मेरो बाबा
प्रतीक्षामा छौं सबै हट्ने छन् पाइपहरू इक्जेक्सन, सिलिण्डरका
पुछिने छन् हजुरआमा र आमाका बग्दै गरेका ती आँसु
बोल्ने छ सानो भाइ सञ्चो हुनुभयो भनी हाँसेर हजुरको सामु।।