दार्चुलाको सुनहरा गाउँ। काठमाडौं खानेपानी तथा ढल निकास संस्थाको अस्थायी जागिरे म। भर्खरै नवगठित भएको एमाले सरकारको योजनाअनुरुप हाम्रो एक टोली गाउँमा खटिएर गएका थियौँ।
चर्को घामले त्यहाँको जनजीवन निकै अस्तव्यस्त देखिन्थ्यो। तिर्खाले पट् पट् फुटेका खेतका गह्राहरु, खाली जीर्ण अवशेषका रुपमा रहेका जलविहीन पँधेरी र कुवाहरुले सिङ्गो गाउँको समस्यालाई इङ्गित गरिरहेका थिए।
पानीको निकै समस्या भएको, खानलाई नजिक कतै एउटा कुवासम्म नदेखाइदिएकोले हामी मरुभूमिका प्यासीतुल्य भइसकेका थियौँ। नजिकैको कटेरोमा उभिरहेकी एउटी अर्धबैंसी महिलालाई मैले पानी खान पाइएला कि भनी सोधेँ।
उनले सहरबाट पानीका निमित्त हाकिमहरु आउँदैछन् भन्ने कुरा सुनेकी हुन सक्थ्यो। साथै ती बुझक्कड महिलाले हाम्रो हुलियाबाटै ठम्याएर एक बाल्टीभरि धमिलो पानी ल्याएर दिइन् र भनिन्- ‘यतातिर सफा पानी पाइन्न। यस्तै पानीले गुजारा गर्नु पर्छ नि हो।’
लाजले हामी सबैको मुन्टो झुक्न करै लाग्यो। उनले हामीलाई खाली गाउँको समस्या देखाएकी रहिछन्। पछि तिनले एक बटुकीभरि सफा पानी दिइन्। हामी सबैले अमृतसरह एक एक घुट्को लगाएर प्यास बुझायौँ।
साथै ती महिलालाई हामीले सुनहरा गाउँतिर लाग्ने बाटो पनि सोध्यौँ। तिनले हामीलाई 'सिधैँ उकालो लाग्नु, त्यहाँनेर चौतारो देखिन्छ। त्यहाँबाट दायाँपट्टि मोडेर पन्ध्र, बीस मिनेट हिँडेपछि बल्ल पुगिन्छ नि हो' भनी जवाफ दिइन्।
रात पर्नै आँटिसकेको थियो। उनीसँग बिदा गरी हामी हतार हतारमा चौतारोलाई भेटाउने सुरमा उकालै उकालोको सामनामा जुट्यौँ।
गाउँसम्म पुग्दा झपक्कै रात परिसकेको थियो। साथीहरु सबै तलै चौतारो नेरैको चिया दोकानमा पसेको मैले पत्तो नै पाइनछु, एक्लो म छुटिएछु। पानी परेर मेरा जीउडाल सबै निथ्रुक्क भिजेका थिए।
पानी परिरहेकै कारणले म रातको बास कटाउने विचारले सँगैको कटेरो नजिकै पुगेँ। सिकुवामा उक्लेर मैले पहिलोचोटि ढोका ढकढकाएँ। बाहिरबाट कसैले ढोका ढकढकाएको आवाज सुनेर होला, भित्रबाट 'को हँ?' भन्ने आवाज सुनियो।
‘म परदेशी, बास पाइएला कि भनी आएको,’ मैले भनेँ।
भित्रतिर 'चामे, रामे, भिमे, उठ लौ। घरमा चोर पसेजस्तो छ' भनिरहेकी स्वर सुनियो।
मैले पुनः एकचोटि ढोका ढकढकाएँ। ढोका खोलियो। सामुन्ने नाङ्गो खुकुरी लिएर उभिरहेकी बुढीआमालाई देख्दा त एकक्षण मेरो होसै ठेगानमा रहेन।
बुढीआमा पछाडि त्यस्तै भर्खरै १८/१९ वर्षकी एक युवती हातमा बलिरहेको टुकी बत्ती लिई उभिरहेकी थिइन्। ती बुढीआमाले मलाई को र किन आइस् भनेर सोधिन्। मैले आफू परदेशी भएको, गाउँमा पानीको ढल बनाउने सिलसिलामा खटिएर आएको कुरा सुनाएँ।
त्यसपछि मात्र ती आमालाई मेरो अवस्थादेखि दया जागेछ, भित्रै डाकिन् र बस्नका लागि सुकुल ओछयाइदिइन्। अनि अघिकी ती तरुणीलाई मकै भुटेर ले’रा भनी आदेश दिइन्।
तिनी केही नबोली भान्छामा गई एकछिनमा एक घानो मकै र ठूलो कचौराभरि मही मेरो अगाडि राखिगइन्। भोक र तिर्खाले खपिनसक्नु भएकोले मैले धन्यवाद पनि भन्न सकिनँ, कपाकप खानेपट्टि नि लागेँ।
ती किशोरीले मलाई त्यही मजेरीमा पातलो च्यादर ल्याइदिएर गइन्। त्यतिन्जेलसम्म आधा घानो मकै थालबाट हराइसकेका थिए।
भोलिपल्ट अघिल्लो दिनमा पानीमा रुझेरै निकै हिँडिएकोले शरीर गलेर म उठ्न नसक्ने भएर ओछ्यानमै थला परेँ। ती युवतीले सवेरै कचौरामा तातो दूध ल्याई छोडेर गइन्।
तिनको सेवा र गाउँको पोसिलो खुराकले म दुईतीन दिनमै काममा जान सक्ने भएँ। त्यतिन्जेलसम्म त्यो झुपडीसित मेरो साइनो जोडिसकेको थियो। झुपडीको सानो घेराभित्र हृदय रमाइसकेको थियो। त्यही भएर म, त्यो झुपडीलाई छाडेर अन्यन्त्र बास खोज्न नजाने भएँ।
मैले महिनाको पाँच हजार पाच सय रुपैयाँले भाडामा बस्न सुरु गरेँ। दिनभरि काममा खटेर बेलुकी थकित भएर कटेरोमा फर्कदा ती युवती मेरो प्रत्यागमनको बाटो हेरी सिकुवामा उभिरहेकी हुन्थिन्। तिनी बिहानीको झिसमिसे उज्यालोमै घाँस दाउराका निम्ति वन पसिसकेकी हुन्थिन् र बिहानीको छर्लङ्ग उज्यालोमा भारीसहित फर्किसकेकी हुन्थिन्।
बुढीआमाले दुधे गाई पनि पालेकी थिइन्। म दिउँसो काममा निस्कँदा तिनी गोठाली भएर गाउँ चराउने तर्खरमा हुन्थिन्। म उनलाई ‘के को तयारी हो नि?’ भनी जिस्काउथेँ। किन्तु उनी केही नबोली संकोच मानी मुसुक्क हाँस्थिन् मात्रै।
तिनको लाम्चो सलक्क परेको नाक, बाटुली अनुहार, नागका जस्ता हरिया आँखा, पातलो कम्मर, चौडा निधारले तिनी लक्षणकी देखिन्थिन्। मिलेको शरीरको बनौट, सुगठित हातपाउ, लहरै मिलेका दाँतका पंक्ति देखिने गरी मधुरो मुस्कान छुट्दा तिनको सामु सिङ्गो वसन्त नै फिका–फिका बनेर जान्थी।
तिनी सामु हुँदा किन किन मेरो मन त्यसै त्यसै रोमाञ्चित र पुलकित हुन खोज्थ्यो। कामकुरोलाई भुलेर उनको सामु सधैँ त्यसरी नै अठिएर बसिरहुँजस्तो लाग्थ्यो। तर मेरो सयौँ जोडमा पनि उनी कहिल्यै बोल्दै नबोल्नुको तात्पर्य मैले बुझ्न सकिरहेको थिइनँ।
उनी म सामु हुँदा किन कसैसित एकवचन पनि बोल्दिनन्। मेरा हरप्रश्नको जवाफ किन? केवल मौन भाषामा हाँसो नै उत्तर दिएर टाल्ने गर्थिन्। मलाई शंका लाग्यो। कतै तिनी लाटी त होइनन्? नत्र यतिका दिनसम्म नबोलिरहनुका खास कारण मैले देखिनँ।
मैले राति नै उनको बारेमा बुढीआमासित सोधी हेरेँ। मैले ठिक त्यस्तै जवाफ पाएँ, जस्तो मनले सोचेको थिएँ। मेरो छातीभित्र एक किसिमको डाहा, जलन उत्पन्न भयो। त्यही भएर तिनको अहिलेसम्म बिहे हुन नसकेको रहेछ।
बिहेको कुरोलाई लिएर बुढी उनलाई बारबार सताउँथी। उनी बार्दलीमा बसी जंगलतिर हेरी घण्टौँ रुन्थिन्। मजेत्रोले आँसु पुछ्थिन्।
बुढीआमा बारम्बार भन्ने गर्थिन्- ‘के गर्नु, यही एउटा बुढेशकालमा गलाको पासो बनेर अड्किरह्यो। कतैबाट मगनी आएको पनि होइन। कतै पार लगाइदिउँ भने आमाको मनले मान्दैन। म बाचुन्जेलसम्मलाई त फिक्री छैन। म बितेपछि के गरी खाने हो, कस्को सहारामा जिउने हो?’
बुढीआमाको उक्त कारुणिक वचनमा ‘म सहारा दिन्छु’ म कहिल्यै भन्न सक्दिनथेँ। म पनि घुस्से मुन्टोमा खाली सुन्न मात्र सकेको हुन्थेँ। छातीभित्र चाहनाका असंख्य भेलहरु हुँदै लुकाएर खाली भित्ताहरुमा नजर कुदाउन सक्षम बन्थेँ- माकुराको जालो अनि जालमा रन्थनिरहेको एउटा बोल्न नसक्ने पुतलीको लार्भा।
सधैँजसो आज पनि उनी म कामबाट फर्कदा पिढींको खाँबोमा जीउ अडयाई मेरो प्रतिक्षामा बसिरहेकी थिइन्। मलाई टाढैबाट देख्नासाथ भित्र पसिन्। हाम्रो काम लगभगै सिद्धिसकेको थियो। मैले घर फर्कने कुरोलाई एकफेरो सम्झेँ।
काठमाडौँ फर्कन किन किन मनलाई भारी महशुस भइरहेको थियो। आज मलाई जिन्दगीदेखि नै नियास्रो महशुस भयो। मैले उनलाई साँच्चिकै मन पराउन थालिसकेको रहेछु। आज मलाई बोध भयो।
तिनी मकै भुट्न सकाएर पनि गुन्द्रकको अचारको रिकापी हातमा लिएर आइन् र भुइँमा राखिन्। यसपालि उनी सधैँजसो फर्केर नगई सरासर अगाडि बढिन् र मेरा खुट्टामा ढोग गरिन्। उनले सायद मबाट त्यो आशा राखेकी थिइन् होलि, जुन उनले यो समाजबाट लाटीको नाम सिवाय आजसम्म पाउन सकिरहेकी थिइन।
मलाई अलि अप्ठ्यारो र रमाइलो पनि लाग्यो। मैले आफ्ना दुवै हत्केलाले उनका गाला अठयाइलिएँ। उनी वसन्तको फूलझैँ पग्लेर गइन्। मेरो छातीमा टाँसिन आइन्। मैले आफूसित भएको गलबन्दी उनको शीरमा राखिदिएँ।
तिनी किञ्चित बेहुलीझैँ लजाइन्। साधारण पहिरणमा यति राम्री, साँच्चिकै तिनी बेहुली बनी सजिँदा कति सुन्दर देखिन्छिन् होली! म विह्वल भएर उनको मुहार हेरिरहेँ। तिनी मृदु मुस्कान छाडी लजाएर त्यहाँबाट छिटो छिटो भागिन्।
त्यही राति मैले बुढीआमासित आफू फर्कने कुरा सुनाएँ। बुढीआमाले केही आपत्ति जनाइनन्। भोलिपल्ट सबेरै उठेर म आफ्ना मालमत्ताहरु झोलामा हाल्दै थिएँ। तिनी ढोकाको संघारमा उभेर एकतमनले मलाई हेरिरहेकी थिइन्।
रातभरि ननिदाइएकी राता, राता विशाल आँखाले मलाई खाउला झैँ हेरिरहिन्। एकक्षण त्यतिकै बसी केही नभनी तिनी कोठाभित्र दौडेर गइन् र भित्रबाट आग्लो लगाइन्।
फर्कने समयमा मैले बुढीआमासित ढोग गरेँ, तिनलाई केही भन्न सकिनँ। खाली पुलुक्क हेरेँ। सधैँ पछिल्तिर चुल्ठी बाटेकी हुन्थिन्, तर आज जिङरिङ्ग छाडेका कपाल, विरही मुहार र आँखामा आँसु लिई मेरो बिदाइमा स्वागत गरिरहेकी थिइन्।
उनले सक्दो थुनेर राखेको सागरका किनारबाट टप्किएर गएका मोतीका दानाहरुले उनका पिँडौला धोइरहेको थियो। म सुस्तरी अगाडि बढेँ। केही पर पुगेपछि मैले पछाडि फर्की हेरेँ। तिनी पिढीँको खाँबोको सहारामा एक आँखालाई फरियाले छोपी दोस्रो आँखाले अझै मतिर हेरिरहेकी थिइन्।
म छातीमा गह्रुंगो भारी बोकेर काठमाडौँ फिर्ता भएँ। 'हजुरको यात्रा कस्तो भयो?' भन्ने मेरी श्रीमतीको सवालमा मैले तिमीसित बिहे हुनुभन्दा अगावै यात्रामा निस्कनु पर्ने थियो भनेँ। मेरो जवाफमा उनले 'किन' भनी सोधिन्।
मैले भनेँ, ‘तिम्रो बोली गुलाफको नीलकाँडा हो भने उनको हाँसो धर्तीको श्रीखण्ड हो।’