यही पैतालामा आगो बालेर
हिँडेकी हुँ जीवनको बाटो
अग्लो हिमाल हेरेर हाँसेका जस्ता मात्रै देखिन्छन्
मेरा ओठहरु तर हाँसेको पटक्कै छैन
गोडामा चप्पलको रङ थाहा नपाएर
उमेरको सिँढीहरु उक्लिरहेँ
भन्नेहरुले त भन्छन् मलाई
तिमी मैन हौ मैन
जो आफू बलेर अरुलाई उज्यालो दिइरहन्छौँ
तर मलाई थाहा छ
उज्यालो दिन कति सामाग्री जम्मा गर्नु पर्छ भन्ने
अप्ठ्यारोमा हिँड्न कति काँडाहरुसँग जुध्नु पर्छ भन्ने
म स्वाभिमान बेचेर खल्ति भर्न पटक्कै सक्दिनँ
अभावै पिउनु परेपनि पिउछु भन्ने मेरो हट छ
दुखमा आँखाको आँसु दौडाउनु पर्छ भने पनि मन्जुर छ
टाउकोमा ऋणको भारी बोकेर उकालो चढ् भनेपनि
चढ्न सक्ने हिम्मत छ
ओरालो झर भने पनि झर्छु
भन्ने चाह पनि छ
मलाई लाग्छ दुवैतिर छन् जिन्दगीका गन्तव्यहरु
तर बिना स्वार्थ म स्वास्नी मान्छे हुनुको कर्तव्य निभाइरहेछु
हेर्नु त मलाई
मेरो घाँटीमा झुन्डिएको छ सौभाग्यको पोते
सिउँदोमा भरिएको छ उसैको नामको सिन्दुर
फेरि पनि ऊ मलाई लात मार्छ
र हरेक पटक स्वास्नी हुनुको प्रमाण माग्छ
थाल, कचौरा, प्लेट, चम्चामा जिन्दगीको बसन्तहरू बिते
विर्य, र्यााल र सिँगानहरूमा सपनाहरू लुटपुटिए
सानासाना नानीहरूसँग उमेर फुल्यो
के दिउँ उसलाई म हुनुको प्रमाण र
मैले आफैले नबुझेको जीवनको परिभाषा
तर अब- मलाई जान्नु छ
थाहा पाउनु छ मेरो जिन्दगीको सौन्दर्य।