डियर समय
यो हिँडिरहेको बाटो मेरै हो
म कसरी भनूँ यार
मेरा पैतलाको डोब बसेको यो बाटो अरू कसैको हो!
यो दैडिरहेको हावा मेरै हो
यो बाटो हिँडिरहेका मान्छे मेरै हुन्।
म कसरी भनूँ यार
मसँग ठोक्किएर, मेरै आसपास दौडिरहने यो हावा
अरू कसैको हो!
मेरा आँखा हुँदै मनसम्म पुगेर यात्रा बिसाउने
यी मान्छे अरु कसैका हुन्!
आफ्नै बनाउन मन लागेको मान्छे आफ्नो नभएपछि
डियर समय
अरू सबथोक आफ्ना लाग्ने रहेछन्
ऊ बाहेक।
उ त्यो गल्लीको घुम्तीको चिया पसल
सबैभन्दा प्रिय ठाउँ हो मेरो
जहाँ पाइन्छ दूध चिया रू बीस र कालो चिया रू दशमा
जहाँ पाइन्छ मजाले उस्लाई सम्झन फ्रीमा
त्यही सम्झन्छु उस्लाई
चियामा ठिक्क चिनी र चियापत्ती लागेको बेला
त्यही झस्कन्छु ऊसँग
मिठो भएको बाहनामा तातो चिया अलिक बढी सुर्की लगाउँदा
कुनै दिन
रहर लाग्थ्यो मलाई
उस्लाई सँगै राखूँ
मेरो एक हात उस्को काँधमा राखूँ
उस्को दुई आँखा मेरो अर्को हातको औँलामा झुन्डाइदिउँ
र
देखाउँदै भनूँ
ए मान्छे...
उ... त्यो अग्लो घर मेरै हो
उ... त्यो फराकिलो फाँट मेरै हो
उ... त्यो हरियाली सुन्दर फूलबारी र बगैँचा पनि मेरै हो
यहाँ सबथोक मेरा छन्, तिमी बाहेक।
गर्मी याममा तिर्खाएको बेला
एक लोहोटा पानी खाँदा जुन मिठास पाइन्छ पानीमा
त्यही लेबलको मिठास
तिम्रो बोलीमा भेटाएजस्तो लाग्थो यार कुनै बेला
अशिन पशिन हुँदा सररर... हावा चल्दा
जुन शितलता पाइन्थ्यो
त्यही लेबलको शितलता पाएझैँ लाग्थ्यो यार
कुनै बेला तिम्रो काखमा
डियर समय
यति सजिलै सकिदो रहेनछ
कसै कसैलाई बिर्सन
यति सजिलो रहेछ कसै कसैलाई सम्झन।
एक सिसी सराबले
निको बनाउँदो रैनछ बल्झिएको उस्को याद
जसरी सानो एक सिसी दवाईले
चट्ट निको बनाएथ्यो हप्ता दिन बल्झिरहेको त्यो खोकी।