विगत कैयौँ वर्षदेखि म पर्खिरहेको छु
एकोहोरो हेरिरहेको छु निरन्तर
नियाली रहेको छु
पछ्याइरहेको छु कहिले नजिकबाट
कहिले टाढाबाट
सम्झनाका ज्वारभाटाहरुले भौतिक
दूरीलाई धुमिल बनाइदिन्छन्
अनि म त्यही पर्खाइसँग जोडिन पुग्छु
दूरी घटाइदिने भौतिक अवयवहरुको
सहारामा: मुस्काउँछु, सुस्ताउँछु, मुर्मुरिन्छु
आन्दोलित हुन्छु- मोबाइलको स्क्रीनमा
अनि आफ्नै निर्बलताको लजास्पद अनुभूति
सँगै लाग्छु आफ्नै दैनिकीको अन्त्यहीन
दौड पछ्याउन।
ऋतुहरु फेरिन्छन्, पालुवा पलाउँछन्
नदीहरुमा पानी बहिरहन्छ
समय निरन्तर आफ्नो गतिमा अघि बढिरहन्छ।
तर मेरो पर्खाइमा केही परिवर्तन हुँदैन
दशकौँदेखि मेरो पर्खाइ जहाँको त्यहीँ छ
कपाल फुले, दारी फुले
त्यो झर्छ र खाउँला भन्ने मेरो पर्खाइ
एक इन्च अगाडि बढेन
सुन्दै छु मेरो बबुरो देशले फेरि
पुरानै ऋतु दोहोर्यायो रे
पलाएका पालुवाहरू बुढो रुखको
ओतमा परेर फस्टाउनै सकेनन् रे!
तर पनि म पर्खिरहेको छु।