कविता
साँझपख पढिलेखी
विद्यालयबाट घर फर्किँदा
केटाहरू
मेरो पछि पछि लाग्दै गर्दा
फेर्दै गरेको सास रोकिएर आयो,
हतार हतार गर्दै हिँड्दै जाँदा
रुमालले मेरो मुख थुनियो
'आमा' भन्नसम्म दिइएन,
सिंहले भोक लागेको बेला शिकार समाए जसरी
मेरो हात समातियो,
जीउ नै सिरिंग भएर आयो।
न त भाग्न खोज्दा भाग्न दिए,
न त सहयोग माग्न खोज्दा सहयोग।
ती बाघले खाइनसक्ने ज्यान भएका नरपिचासहरूको अगाडि
म कलिली बालिकाको केही लागेन।
घिसार्दै र पछार्दै
जंगल भित्र लगे,
पीडाले बगिरहेको मेरो आँसुको वास्तै नगरी
क्षणभरमै यौन शोषण र बलात्कार गरे
र
मिनेट बित्दा नबित्दै ज्यानलाई लासमा परिणत गर्दिए।
कहाँ थाहा थियो त मलाई,
मेरो मृत्यु यति दर्दानाक हुन्छ भन्ने!
सोचेको पनि थिइनँ,
कुनै दिन म आफ्नै देशको दाजुहरूबाट शोषित भई बलात्कृत हुन्छु,
अनि कलिलै उमेरमा चितामा जलेर परलोक जान्छु भनेर।
निर्मला जस्तै गरेर म
आज छोरी भएकै कारण
कसैको शिकार भएँ,
कसैको यौन चाहना परिपूर्ति गर्ने
साधन भएँ
मेरो आमाको काख र बुबाको काधबाट टाढा भएँ
परलोकसँग नजिक भएँ।
परलोकबाट नियाल्दै छु,
मलाई न्याय दिन कसैले सकेनन्
किनभने मेरो बलात्कारी त कसैको संरक्षणमा रहेछ
जसलाई न त कानुनले केही गर्न सक्छ न त संविधानले नै!
अब मेरो बिन्ती छ सरकार
महिला राष्ट्रपति भएको देशमा,
अब निर्मला र मैले जस्तो जीवन अरूको नहोस्
सक्छौ अपराधीलाई कारबाही गर,
ताकी
बलात्कार गर्ने सोच्नसम्म कसैले नसकून्
सक्दैनौ भने
पूर्वप्रधानमन्त्री, मन्त्री, सांसदको सुरक्षागार्डलाई
नारीको सुरक्षामा खटाऊ
त्यसपछि बल्ल सुरक्षित भएर बाच्छन्
मातृत्व जोगाउन,दुनियाँ हाक्न र अमर बन्न
जन्मिएका दिदी र बहिनीहरू
अनि बल्ल बन्छ समृद्ध नेपाल।