तिमी स्कुलबाट साँझ आउँदा,
मैले बिहान तिम्रो सर्टमा सिउँरिदिएको,
सानो हातेरुमाल,
आधा आँसु र आधा सिंगानले कटकटिएको हुन्थ्यो।
मैले किन भनेर सोध्न नपाउँदै,
रुदै तिम्रो उत्तर हुन्थ्यो।
आमा!
सविनाले पेन्सिल भाँचिदिई
रविनले जुत्ता कुल्चिदियो
कुशले कटर फुटाइदियो
खाजा खानै लाग्दा रोशनले
टिफिन बक्स खसाइदियो।
तर,
आज उमेर बढ्दै जाँदा
तिम्रो पीर सकिएकै हो त?
उमेरसँगै समस्या त थपिँदै जान्छन्
तिमीलाई समस्या नपरेकै हो त?
ओठमाथि जुंगाको रेखीबस्दैमा
मन खोल्न धकाउन पर्दैन
छोरा रुन लजाउनु पर्दैन।
पढाइ लेखाइलाई बेवास्ता गर्न
खराबसाथीको संगत गर्न
देखासिकी कुलतमा फस्न
तिमीले लाज मान्नु पर्छ।
तर
मेहनत गर्दागर्दै कहिलेकाहीँ
भनेजस्तो रिजल्ट नआउँदा
तिम्रो मनमा पीर पर्दा
चुपचाप कोठामा पसी
भित्रबाट चुकुल लगाउन पर्दैन
छोरा रुन लजाउन पर्दैन
तिमी घरबाट टाढा हुँदा,
बाबा आमाको दुःख भुल्न,
सुमार्ग छोडी कुमार्गमा हिँड्न,
जन्मभूमिको माया मार्न,
तिमीले लाज मान्नु पर्छ।
तर,
तिमी बाहिर पढ्न जाँदा
मैले तिमीलाई बिदाइ गर्दा
लगाइ राखेको चस्मा खोल्दै
कालो गगल्स लगाउन पर्दैन।
छोरा रुन लजाउन पर्दैन ।
छोरा भएर रुन लाज मान्दैनस्
बा आमा मर्दा पनि रुन नदिने
कति निष्ठुरी समाज भोगेका छौं।
कर्तव्य भुलेर अधिकार खोज्न,
बा आमा प्रतिको जिम्मेवारी भुल्न,
धरातल बिर्सेर आकाशमा उड्न,
तिमीले लाज मान्नु पर्छ।
तर
मेरो शवमा दागबत्ति दिँदा
जबरजस्ती आँसु खटाउन पर्दैन
छोरा रुन लजाउन पर्दैन
छोरा रुन लजाउन पर्दैन।