'पाल्पाली, तिम्रो गाउँ तिर साइनो जोड्नु पर्यो। एक जना इमान्दार, मिजासिली र घर धान्ने खालकी केटी छन् भने यसो मेसो मिलाइदेऊ न। छुट्टीमा जाँदा बिहे गर्नु पर्ला।'
एकदिन मेरो नम्बरी नीरबहादुरले यही कुरा बोलेको थियो। उसले ठट्टा गरेर बोल्यो या मनबाटै बोलेका थिए, मैले भने गहन रुपमा लिइनँ। हामी पालो पालो जिस्किने गर्थ्यौं। कहिले उसले, कहिले मैले जिस्काउँथेँ।
'तिम्रो बा-आमाले पहिल्यै रोजेर राखेको होला नि। तिमी लाहुरे मान्छे। लाहुरे भने पछि हुरुक्कै हुन्छन् छोरी दिन। तिम्रो सालीहरू छन् कि नाई? छन् भने बरु मलाई पनि एउटी मिलाइदेऊ न' उल्टै उसलाई फकाउँदै भनेको थिएँ। यो पाल्पालीले मलाई पत्याएन भन्दै ऊ हाँस्न थाल्यो।
भदौको महिना थियो। म बुटवल पुगेको थिएँ। बादलले आकाशलाई घुम्टो ओढाउने र घुम्टो खोल्ने प्रकृया दोहोर्याइरहेको थियो। दिउँसो भदौरे घाम टाउकोमै आएर बसे जस्तो तातो हुन्थ्यो। कलकलाउँदो उमेरको लक्का जवान म।
एउटा सानो झोलाभित्र माई क्लियर ब्याग लेखेको प्लाष्टिकको फाइल ब्यागमा एसएलसीको प्रमाण पत्रहरू, नागरिकताको प्रमाण पत्र र केही थान कागजातहरू लिएर भारतीय सेनामा भर्ती गर्ने टुर आउँदादेखि पुगेको थिएँ।
कालिका नगरको सिद्धेश्वर माविको त्यो खुल्ला चौरमा दौड थियो। दिउँसोको घामलाई छल्दै बिहान सात बजेतिरै दौड सुरु गरेको थियो। भर्ती हुने सपना बुन्दै लुम्बिनी, धवलागिरी, गण्डकी र राप्ती अञ्चल भित्रका जिल्लाहरूबाट म जस्तै युवाहरूको लर्को आएको हुनुपर्छ।
त्यत्ति ठूलो चौर मैदान वरिपरी युवा जमतहरूले टनाटन भरिएको थियो। हेर्ने दर्शकहरू र कसैको साथमा अभिभावकहरू पनि आएका थिए। मेरो पालो साढे नौ बजेतिर आयो। हाम्रो समूहमा एकै पटक साठी जनालाई दौडायो।
साढे चार चक्कार लगाउनु थियो। दौडमा पास हुनु पनि थियो। त्यहाँ आफ्नो ज्यान जोगाउनु पनि थियो। कतै लडिहालेछ भने सकुशल उठन पाइएला भन्ने नसोच्दा हुने। हाम्रो समूहबाट सात जनाले पास गरेका थिए। मैले पाँचौ स्थानमा निर्धारित रेखा पार गरेर पास गरेको थिएँ।
दौड पास गरेपछि नागरिकता र एसएलसीको प्रमाणहरू र अन्ये कागजातहरू गल्लहरूको साथमा रह्यो। एउटा टोकन दिएर भोलि बिहान दश बजे फूलबारी क्याम्पमा आऊ भनेर पठाए।
भर्ती हुने सपनाको पहिलो खुड्किलो पार गरेकोमा युद्धामा गएको सिपाहीले युद्ध नै जितेर फर्के जस्तो मन लिएर बस्ने ठाउँतिर फर्केको थिएँ। बुटवल बस्नु भएका गाउँकै ब्रिटिसे लाहुरे काकाहरूको घरमा बसेका थियौं हामी।
गाउँबाट भर्तीको लागि गएका हामी चार पाँच जना थियौं। काकाहरूको घर बन्दै थियो। दिनभरि भर्तीको लागि साहेबहरूले जे जे अह्राउनु हुन्छ, त्यही गरिन्थ्यो। साँझ परेपछि थाकेको ज्यान घिसार्दै बस्ने ठाउँतिर। र पनि मनमा आँट थियो। ज्यानमा जाँगर थियो। यसपाली जसरी पनि भर्ती हुनु पर्छ भन्ने हिम्मत हुन्थ्यो।
हामी उपद्रो गर्ने समूह थियौं। बुटवलको चोक चोकमा बसेर मम्फाली... भन्दै बदाम बेच्ने। आइसक्रिम बेच्ने भैयाहरूलाई कति सतायौं कति। रिक्सावालाहरूलाई उल्टै उसैलाई चढाएर रिक्सा चलाए केटाहरूले। रमाइलो थियो। आफ्नो लक्ष्य हासिल गर्नको लागि कसरत गर्नु पनि थियो।
फूलबारी पेन्सन क्याम्पमा जाँदा आउँदा निकै पटक तिनाउ खोलाको पुललाई नाप्यौं। पुलको बीचमा उभिएर फूलबारीतिर हेर्दै 'बुढेशकालमा पेन्सन थाप्न आउने यहीँ हो केटा हो।' यस्तै भनेर भविष्यको कल्पना समेत गर्न पुग्थे केटाहरू। होमा हो थप्दै जोशिन्थ्यौं।
एकदिन बिहानै दिमाग टेस्टको परीक्षा दिन बोलायो। लिखित परीक्षा दिनेलाई दिमाग टेस्ट भनेर बुझिन्थ्यो। फूलबारी क्याम्पको चौरमा लहरै राखेर परीक्षा दिने तयारी भयो। प्रश्नहरू प्राय: नेपालकै विषय बस्तुमा सोधेको थियो। खाली ठाउँ भर्ने पनि थियो।
एकजना साथी अलिक तयारी नगरेर परीक्षामा अलमल परेको रहेछ। खाली ठाउँ भर भन्नेमा यस्तो सोधिएको थियो, 'हात्ती र तोरीको लागि प्रसिद्ध जिल्ला.......... हो।' साथीले खुसुखुसु सोध्न थाल्यो।
'यहाँ के लेख्ने हो?' अर्को साथीले अरुले नसुन्ने गरी उत्तर बताएछ 'चितवन।' साथीले चितुवा सुनेछ र त्यही लेखिदिएछ।
परीक्षाको समय सकियो। पेपेर बुझाएर क्याम्पको गेट बाहिर निस्किँदै गर्दा साथीले गुनासो पोखे। 'म त फेल भएँ यार। जानेको केही होइन। तैँले सिकाएको मात्र मिल्छ होला।'
'मैले के सिकाएको थिएँ रे?' सिकाउनेले सोध्यो।
'खाली ठाउँ भर्ने। हात्ती र तोरीको लागि प्रसिद्ध जिल्ला।'
'के लेख्यौ तिम्ले?'
'तैँले चितुवा भनिस् त्यही लेखेँ।'
वरिपरी सुन्नेगरी हाँसोको फोहोरा गुन्जियो। साथीले चितवन लेख्नु पर्ने ठाउँमा चितुवा लेखिदिएछ। अरू मरि मरि हाँस्न थाले। गलत लेख्ने साथी अझ निराश भएका थिए। सम्झाउँदै बुटवल बजारतिर आएका थियौं।
परीक्षा दिएर बाहिरिँदा फूलबारी पेन्सन क्याम्प गेट बाहिर स्याङ्जाको साथी भेट भएको थियो। उनी स्याङ्जा चिन्नेबासका नीरबहादुर राना र म पाल्पा अर्चलेको नरबहादुर घर्तीमगर पहिलो पटक चिनजान भएका थियौं।
बुटवलको टुर सकियो। गेट पास टोकन दिएर फाइनलको लागि अक्टोबरमा गोरखपुर कुँडार्गाढ (जिआरडी) मा बोलायो। फाइनल हुने दिन आयो। गाउँमा दशैँ मनाउने चहलपहल थियो। दशैँपछि तिहार आउँछ सबैलाई थाहै थियो। त्यो रमाइलो परिवेशलाई चटक्कै छोडेर संघर्षको मैदानतिर पाइला बढाउनु पर्ने भयो।
भर्ती हुन्छ, हुँदैन निश्चित थिएन। तर भर्ती भैहाल्यो भने यस्तै यस्तै रमाइला दिनहरूलाई तिलाञ्जली दिनु पर्छ। प्यारो जन्मभूमि र परिवारलाई चटक्कै छोडेर अँध्यारो मुख पार्दै छुटिएर पल्टनतिर लाग्नु पर्छ भन्ने निश्चित थियो।
तर मन सम्हाल्दै वीर गोर्खालीको छोरो हुँ। विश्वले बहादुरी गुर्खाज भनेर चिनेका छन्। हाम्रो पुर्खाको बहादुरीले गर्दा अहिलेसम्म बहादुरी विरासत पाएको छ। यस्ता सानातिना कुरामा अल्मलिएर बस्न हुँदैन भनेर मनलाई दह्रो पारेर पाइला सार्दै गएको थिएँ।
गोरखपुरमा फाइनल सकियो। नाम निस्कियो पनि। भारतीय गोर्खा राइफल्समा भर्ती भएँ। गोर्खा राइफल्सको चिनारी मेरो पर्सनल बिल्ला नम्बर थियो- 'बाउन्न आठचालिस दश।'
नीरबहादुर रानाको 'बाउन्न आठचालीस बाह्र' थियो। त्यही दिनदेखि हामी नम्बरी भएका थियौं। हामी दुवै जना फोर्थ जिआरमा पर्यौं। त्यसपछि हामी नेपालको जिल्लागत सीमानाले पनि नजिकै कालीगण्डकीले मात्र छुट्याएको पाल्पा र स्याङ्जा। पल्टनको नम्बरले पनि नजिकै गराएको थियो।
गोरखपुरको केही दिन बसाइपछि तालिमको लागि गोर्खा राइफल्स फोर्टिन जिटिसी सुबथु हिमाञ्चल पर्देशमा पोष्टिङ गर्यो। तालिम अवधिभरि सँगै रह्यौं। सुखदु:ख सटासाट गर्थौं। उसले मेरो र मैले उसको बारेमा नजिकबाट बुझ्न पाएका थियौं।
एक पटक चालिस दिनको छुट्टी लिएर ऊ नेपाल फर्के। मैले मेरो घरसम्म बा-आमा र भाइबहिनीलाई केही पार्सल पठाएको थिएँ। उसले मेरो घरसम्म पार्सल छोड्न जान कष्ट गर्यो। उनले मेरो घर परिवारसँग साक्षात्कार गर्ने मौका पाएका थिए।
लाहुरे जीवन। लाहुरेको जिन्दगी मलाई थाहा थियो। म आफैँले भोगिरहेको थिएँ। टाटेपाटे पुत्ले लाहुरे ड्रेस, त्यस्तै कपडाको झोला, साथमा पानी बोक्ने तुम्बलेट बोकेर सुनौलीको सीमाना पर गरेर नेपाल टेक्दा देखिने लाहुरे जीवन। अरुले गर्ने आदर, सत्कार र व्यवहार देख्दा पो आहा! लाहुरे जीवन! लाहुरेहरूलाई नेपालमा कति मान्छन् भन्ने हुन्छ।
ड्युटीमा खाटिएको बेलाका पीडा र व्यथाहरू त कमैले सोच्छन्। कमैले देख्छन्। कि आफैँ भोग्नेहरूलाई थाहा हुन्छ। कि देखेकाहरूले मात्र आँकलन गर्छन्। लाहुरेको जिन्दगी के रहेछ! लाहुरेहरूको दिनचार्य कसरी बित्छ भन्ने कुराहरू।
त्यस्तै कुराहरू सोचेर नम्बरीले केटी छन् भने मिलाइदेऊ न भन्दा पनि मैले गहन रुपमा लिइनँ। छ न त मेरै बाहिनीहरू थिए। गाउँले दाजुभाइ इष्टमित्र र आफन्तका छोरीहरू थिए। यदि कुरा चलाउँथेँ भने नाई भन्दैनथे। म पनि लाहुरे। मसँगै काम गर्ने, मेरै पल्टनको, नम्बरी भनेपछि विश्वास पनि गर्थे होला।
तर पल्टनको लाहुरे जीवन र लाहुरे लाहुरेनीहरूको जिन्दगीको बारेमा नजिकबाट नियाल्न पाएको थिएँ। म आफैंले भोग्दै थिएँ त्यो जीवन। नीति, नियम, अनुशासन र कर्तव्य पालनमा निकै कडाइका साथ खटिएर देखाउनै पर्ने।
अर्धनिन्द्रामै जबर्जस्ती उठेर दौड, परेड खेल, तालिमहरू नगरी नहुने। उस्ताद (गुरु)को आज्ञा बेगार काहीँ कतै जान नपाउने। गर्दा गर्दै कतै केही कमजोरी हुन पुगेमा गाली र कालो बुटको प्रहार ज्यानमा कतिखेर आइपुग्छ भन्ने थाहै नहुने। लाहुरेहरूको नियती र आफैले भोगेका कहरहरू यस्तै थिए। अहिले पनि छन्।
कसैको छोरीचेलीसित विवाह गरिन्छ। त्यसपछि देखिने अन्य मार्मिक श्रृंखलाहरू छुट्टै हुन्छन्। सँगै जिन्दगी जिउने कसम खाएर नाता सम्बन्ध जोड्छन्। विवाह गरेको महिना दिन नपुग्दै पल्टनमा हाजिर हुन जानै पर्ने हुन्छ।
भर्खरै झाङ्गिँदै गरेको मायाको बिरुवालाई जबर्जस्ती निमोठेर छोडेर जानै पर्ने हुन्छ। लाहुरे आँसु पुछ्दै पल्टनतिर लाग्नु पर्छ। लाहुरेनी रूँदा रूँदै ज्यानै सिन्को जस्तो पारेर वियोगमा तड्पिँदै दिनचार्य बिताउन बाध्य हुनुपर्छ। लाहुरे आफ्नै काम, कर्तव्य र जिम्मेवारी पालना गर्दै जहिल्यै स्वतन्त्र विनाको जिन्दगी जिउन बाध्य हुन्छ।
कलकलाउँदो लाउँलाउँ र खाउँ खाउँ उमेरकी लाहुरेनी, लाहुरे आउने बाटो हेर्दै जिन्दगी गुजार्नु बाहेक विकल्प छैन। लाहुरे फर्केर आउँछ। तर आफ्नै घरमा पनि दुई दिनको पाहुना जस्तै भएर महिना दिन बस्छ र फेरि पल्टनमा फर्किनु पर्छ। मनको रहरहरू पूरा नहुँदै पुन: रुवाबासीमा छुटिन्छन्।
यो प्रक्रिया जबसम्म लाहुरे पल्टनबाट पेन्सन भएर फर्किँदैन तबसम्म दोहोरी नै रहन्छन्। लाहुरे भएर अरूको निर्देशन र आदेशमा चल्नु हामी जस्ता नेपाली युवाहरूको रहर होइन।
यदि आफ्नै देशमा रोजगारीको अवसर मिल्थ्यो भने अरुको गुलामी भएर मुग्लानी जीवन बिताउन कुनै पनि नेपाली युवाहरू परदेशी भूमिमा पुग्ने थिएनन्। बरु आफ्नै देशमा पसिना बगाउँथे। आफ्नै परिवारसँग रमाउँथे।
यस्तै दृश्यहरू आँखाको पर्दामा नाचिरहने हुँदा मैले मेरै नम्बरीको कुरालाई सामान्य रुपमा लिइदिएको थिएँ। मेरी बहिनीहरू लाहुरेलाई नपरोस्। धन सम्पत्ति देखेर विवाह गरेर छटपटिमा जिन्दगी जिउनु पर्छ भने त्यो जिन्दगीलाई के जिन्दगी भन्नु र!
हो, पल्टने लाहुरेहरूको मान छ, इज्जत छ, कमाइ छ। तर लाहुरे जीवनको पर्दा पछाडिको अदृश्य दर्दनाक कथाहरूको फेहरिस्तहरू पनि अनगिन्ती छन्। भोगेकालाई थाहा हुन्छ।
बाहिरी आवरण मात्र हेरेर मूल्यांकन गर्नेहरूलाई सुन्दर नै लाग्छ। तर पर्दा पछाडिको कुरुपता जो कोहीलाई ज्ञात नहुन सक्छ। उसको कुरालाई मैले गम्भीर रुपमा नलिएर नै हामी नम्बरीहरूबीच पारिवारिक नाता जोड्ने चाहना अधुरै थियो।
पल्टनमा फर्केपछि एकदिन- 'नम्बरी, अर्को छुट्टीमा तिम्रो कान्छी बहिनीको हात माग्न आउनु पर्यो। भने जस्ती रहेछे तिम्री बहिनी' उसले मन पराएको कुरा खोल्यो।
'त्यो त लेखतको कुरा हो नम्बरी। देखेर चाहेर मात्र हुँदैन। तर हाम्री कान्छीले हुन्छ भन्छे भने मेरो आपत्ति हुँदैन।'
नम्बरी निकै खुसी भए। त्यसको केही दिनपछि चिठी लेखेर उसले मेरी बहिनीको नाममा र मैले मेरो बाको नाममा एउटै ठेगानामा दुईटा चिठ्ठी पठाएका थियौं।
हामीले पल्टनबाट चिठी पठाउनु, नेपालबाट नम्बरीलाई बाबाआमाको चिठी आइपुग्नु सँगै भयो। पत्रको मुख्य आशय थियो नीरबहादुरलाई मामाकी छोरी, आफ्नै साली मागेर पक्का गरिसकेको कुरा। त्यो चिठी नम्बरीले मलाई समेत पढ्न दियो।
सायद बाबाआमाको कुरा नकार्न नसक्ने भएर मेरी कान्छी बहिनीतिरको सुरुआती प्रेमलाई त्यही बिट मार्न सहयोग गरिदियोस् भन्ने उसको अव्यक्त पुकार थियो होला। मैले सहजै त्यसै गरिदिएँ। त्यो प्रेमको सुरुआती र अन्त्य सँगसँगै हुन पुग्यो।
हामी दुवैजनाको रुचि गीत, संगीत र खेलकुद थियो। उसको स्वर सुरिलो र मिठास थियो। 'राम्दी पुल तरनी.. बाँचे त हुँम्ला भेट, मरे के गर्नी....!' मिठो स्वरमा प्राय: यही गीत गाउथ्यो। पल्टनबाट विभिन्न खेलकुद हुँदा भलिबलमा जहिले पनि पुरस्कार हात पार्थ्यो उसले।
रमाइलो, हाँसो ठट्टा गर्न पनि कम्ता थिएन। कहिले काहीँ भावुक पनि बन्थ्यो। बालाई ढाड दुख्ने बिमार छ। आमालाई नसा र जोर्नी दुख्ने समस्या छ भन्थ्यो। स्याङ्जा बजारमा घर बनाउने सपना थियो उसको।
हाम्रो पल्टन देहरादुनमा पोष्टिङ भयो। हामीसँगै थियौं। देहरादुनबाट म छुट्टीमा पैतालिस दिनको लागि नेपाल फर्केँ। त्यही मौकामा बिहे गरेँ। जिम्मेवारी अरु थपियो। नीरबहादुर पनि म पल्टनमा फर्केपछिको केही महिनापछि नेपाल फर्के।
बिहेकै लागि घर परिवारले बोलाएका थिए। आफ्नै मामाकी छोरी बिहे गरेको खबर पठाएको थियो। बाबाआमा पनि खुसी र मामा माइजू पनि खुसी थिए रे। केही साल देहरादुन मै बितायौं। कहिले काहीँ हामी दुई जनाले पालै पालो फोटो प्रदर्शनी गर्थ्यौं। अरु कसैको नभएर आफ्नै आर्धाङ्गिनीहरूको फोटोहरू।
निकै सुन्दर जोडी थियो नम्बरीको। रुपले, उचाइले र जीउडाल दुवैको मिलेको जोडी। हाम्रो पनि उसको भन्दा त्यत्ति कमजोर थिएन। हाम्रो जोडी फोटो हेरेर नम्बरी भाग्यमानी नै हो भन्थे। एकपटक दुवै जनाले पल्टनमा फ्यामिली ल्याउनु पर्छ नम्बरी भन्थे। हामी छोराछोरीका बा भैसकेका थियौं।
देहरादुनको बसाइमा पारिवारिक चिन्ता बाहेक खासै कठिनाइ भोग्न परेको थिएन। पल्टन अझै केही साल त्यही रहोस् भन्ने कामना गर्थ्यौं। तर जिन्दगीमा सोचेको भन्दा नसोचेकै घटना घटने गर्दछन्।
हाम्रो पल्टन फेरि काश्मिरमा पोष्टिङ भयो। काश्मिरको लाहुरे जीवन अरु खतरनाक थियो। वातावरण शान्त रहे पनि मनमा कहिल्यै शान्ति हुँदैन थ्यो। बाहिरी वातावरण सफा भए पनि मनभित्र कालो बादल मडारिरहन्थ्यो।
पल्टन त्यहाँ पुगेपछि, न लाहुरेहरूलाई सुख शान्ति हुन्छ न त घर परिवारलाई नै। पाकिस्तानसँगको भारतीय सीमानाको रक्षामा खटिनु पर्छ। कतिखेर के हुन्छ टुङ्गो हुँदैन थ्यो। परिवारसँग फोनमा कुरा गर्दा समेत डराउनु पर्थ्यो।
कहिले हिउँ पग्लेर उस्तै प्रकृति विपत्तिले जनजीवन प्रभावित पार्थ्यो। काश्मिरमा दुई वर्षसम्म कष्टपूर्ण तरिकाले पल्टनियाँ जीवन बिताइसकेका थियौं। अब पल्टन राजस्थानमा पोष्टिङ हुने रे भनेर गाईँ गुईँ कुरा चलेको थियो।
त्यो कुरा सुनेर मात्र पनि मनमा खुसीको सिमाहरूले चुचुरो छोएको आभास हुन्थ्यो। जतिसक्दो छिटो काश्मिरी क्षेत्रबाट बाहिरिन पाए हुन्थ्यो भन्ने कामना गर्दथे। तर पल्टनको प्रशासनिक निर्णयको कुरा आफूले चाहेको बेलामा फ्याट्टै हुने कुरा पनि थिएन।
पोष्टिङको निर्णायक सूचना सुन्ने प्रतिक्षामा लाहुरेहरूको दैनिकी बितिरहेको थियो। केही आशाहरूको बिस्कुन बिछ्याएर सुखको सपना बुन्थे।
हाम्रो पल्टन काश्मिरको रणभूमिमा थियो। पल्टनका सबैजना नम्बरी थियौं। तर हाम्रो जिन्दगी नम्बरी थिएन। एक नम्बरी जिन्दगी थिएन। कतिखेर के हुनेको टुङ्गो नलाग्ने दुई नम्बरी जिन्दगी जिइरहेका थियौं हामीले। भरोसा नभएको जीवनलाई जबर्जस्ती घिसार्दै जिउन बाध्य थियौं।
रातको ड्युटीमा खटिरहेको थिएँ। सधैँ झैं गस्तीमा जाने निर्धारित योजना थियो। आफू बच्नु थियो र सीमानाको रक्षा पनि गर्नु थियो। अँध्यारो रातमा सानो टर्च लाइटले दिएको मधुरो प्रकाशको सहारामा वैरीहरू पस्न सक्ने सम्भावित सीमानाहरूको चेक जाँच गर्नु पर्थ्यो।
पन्ध्र जनाको टोली अगाडि बढ्दै थिए। मध्य रातको चकमन्न सन्नाटालाई चिर्दै ठूलो आवाजमा बिस्फोट भयो। सैन्य जवानहरू हताहत भए। ठूलो भाग्यले मलाई केही भएन। चिच्याहट र कोलाहल बन्यो। ऐया आमा....! बचाऊ....! बचाऊको याचना गर्दै छटपटिएका दृश्यहरू देख्नु पर्दा म आफू बच्ने कि तिनीहरूलाई बचाउने निकै अप्ठ्यारोमा फसेको महशुस गरेको थिएँ।
'सेफ एण्ड सेभ' तरिका अपनाएर घाइतेहरूलाई उद्धार गर्नु आफ्नै कर्तव्य सोचेर अगाडि बढेँ। विभत्स रुपमा नम्बरी नीरबहादुर छटपटिरहेको देख्नु पर्दा मुटु ठाउँमा रहेन। घाइतेहरूलाई जति सक्दो अस्पतालमा पुर्याउनु पर्ने थियो।
उद्धार गर्ने सम्बन्धित निकायसम्म खबर गरेपछि नीरबहादुरलाई काखमा लिएँ। बिस्फोटमा परेर उसको जीउभरि ठूल्ठूला घाउ बनाएको थियो। टाउकोमा काटिएको थियो। अन्तिम अवस्थामा छटपटिरहेका थिए।
'धैर्य गर नम्बरी, तिम्लाई केही हुँदैन। मैले डाक्टर बोलाइसकेको छु' भनिरहँदा उसले नसकी नसकी बोल्न थाले।
'नम्बरी, म त अब यतिकै यहीँ मर्ने भएँ। म मरेको खबर लिएर मेरो घरसम्म तिमी नै गइदेऊ है! मेरी जुनालाई कहिल्यै पनि मेरो अभावको महशुस हुन नदिनु। मेरो छोरा सुनमलाई बाबाको कमी भएको आभास नहोस्।
लाहुरे हुन निर्देशन दिएर छोरो गुमाउनु पर्दा मेरो बाबा-आमालाई पश्चताप नहोस्। यति गर्न सक्छौ नि? बिन्ती छ, मेरो लागि यति सहयोग गरीदेऊ है नम्बरी। मेरो परिवारलाई सम्झाइदेऊ। म मरेर गए पनि तिम्रो गुन भगवानले देख्नेछ नम्...ब...री.....!'
म अवाक भएँ। मनमनै मौनतामै भनिदिएँ- 'हुन्छ नम्बरी, म सम्झाइदिन्छु। तिमी चिन्ता नगर।' तर उनले मेरो प्रतिज्ञा सुन्न पाएनन्। ऊ धर्तीबाट अस्ताइसकेको थियो।
त्यो नै उसको अन्तिम बोली थियो। अन्तिम आग्रह थियो। उसले किक्क गर्दै आवाज निकालेर लामो सास फेर्यो। र फेरि कहिल्यै सास नफेर्ने गरी चीरनिन्द्रामा पर्यो। मेरो आँखामा एक झलक मेरी कान्छी बहिनी नबिनाको अनुहार आइपुग्यो।
एकछिन अरु दृश्यलाई छेकेर पर्दा बनिरह्यो। मधुरो हुँदै आँखाबाट विस्तारै टाढिँदै गयो। फेरि नीरबहादुरले फोटोमा देखाएको उसको आर्धाङ्गिनी जुनाको अनुहार मेरो आँखामा आएर एकछिन टाँसिरह्यो।
मुस्कुराइरहेको जोडीको तस्बिर आँखाको पर्दा माथि छाएको थियो। तर नियति र दैवको लिलाले उनीहरूलाई अलग पारिसकेको थियो। त्यो तस्बिर त्यही आलप भयो। आँखामा छाएको बादलहरू विस्तारै हट्दै गयो। मेरो नजर फेरि नम्बरी माथि पर्यो। त्यतिबेला उसको पार्थिव शरीर मेरो काखमा लमतन्न सुतिरहेको थियो।