ऊ पर त्यो डाँडामा हेर
त्यो डाँडाको घाम
अनि मेरो जिन्दगी
दुवै अस्ताउँदैछ
फरक यति छ,
त्यो घाम आज डुबे
भोलि फेरि उदाउँछ
तर म! म आज मरे भोलि
कस्ले फेरि बिउँताउछ?
दशैँमा टीको थाप्दा
हजुरआमाले आशीर्वाद दिन्थिन्
'तारासरि चम्किएसै नानी' भनी
सायद मेरो हजुरआमालाई
थाहा थिएन होला
सबै तारा बराबरी चम्किदैन भनी
कोही मधुर भई चम्किन्छ
त कोही चहकिलो बनी
अनि चहकिलो सबैभन्दा पहिले
मरिजान्छ भनी
तर म! म त न मधुर थिएँ
न त चहकिलो नै
म त बस् औंसीको रातमा लाग्ने
त्यो चन्द्रमा झैँ थिएँ
जो आफ्नै हराइरहेको
अस्तित्वलाई खोज्दै थियो
'के हुँ र को हुँ!' को बन्द ढोकाहरुलाई
शिक्षाको साँचाहरुले खोल्ने प्रयासमा
रातका भन्दा दिनका सपनाहरुलाई
म रोज्दै थिएँ
तर... तर अब उसो हुँदैन
मैले सोचेका मेरा सबै कुरो पूरा हुँदैन
हुन्छन् त बस् मेरा सपनाहरु अधुरो
कल्पना रंगिचंगी अनि विपना मधुरो
कारण अब म बिदा हुँदैछु
धर्तीको तारा बन्न सकिनँ
यसैले आसमानमा जाँदैछु
सायद ईश्वरको घरमा पनि
अन्धकारले बास गरे जस्तो छ
आमैको आशीर्वादले म
विशाल तारा बन्छु भनी जानि
म आफ्नै हुँ उनको
भनी आभास भए जस्तो छ
त्यसैले मलाई लिन उनी आज आए
र पो अब म बिदा हुँदैछु
उनीसँग उन्को घरमा सधैँ सधैँलाई जाँदैछु
बाबाआमाको सपना त पूरा गर्न सकिनँ
तिनका जीवन सुखसयलले मैले भर्न सकिनँ
सकेँ त बस् ईश्वरको इच्छाले मर्न सकेँ
तर मर्दै गर्दा पनि तिनका आँसु मैले पुछ्न सकिनँ
सके त बस निर्दोषपनाको खास्टो ओडी
त्यो बाकस भित्र निशब्द सुतिरहन
तिनका चिच्चाहट र आँसुका भेल
मेरा बन्द कानहरुले सुनिरहन
सायद त्यति बेला
शोषित यो समाजले मलाई
लज्जाबोध भएको महशुस गरेछ क्यारे
त्यसैले तिनले मेरा लाज राज होस् भनी
मेरो चेहरा कात्रोले छोपिदिए
ईश्वरको भवनमा मेरो स्वागतम् होस् भनी
पुराणका दुईचार मन्त्र जपिदिए
आगोको भुङ्ग्रोमा मेरो लास अनि
सपना दुवै जलाएर
बचेका आसुँका थोपा बहाएर
सधैँको लागि एकैपल्ट
मलाई बिदा गरिदिए।