उबेला देउरालीसम्म पुर्याउन आएकी
छुट्टिने बेलामा तप्प तप्प आँसु झर्दै
सुक्क सुक्क रुँदै
भन्दै थियौ
मसँग सम्झनाको लागि दिन केही छैन
फेरि अनयासै झस्कँदै
आफ्नै शिरमा सिउरेको फूल
कोमल हातले निकालेर
थोरै मुस्कुराउँदै
मलाई उपहार दिएकी थियौ
थाहा छ?
त्यो मैले अझै सुरक्षित राखेको छु
आज पनि डायरी पल्टाउँदा
त्यही फूल, देउराली र तिमी
सँगसँगै पाउछु
त्यही फूल सुस्तरी छाम्छु
हो, सुकिसकेको छ
आकार बिहीन बनेको छ
तर पनि
बेरंग मुस्कुराएको छ
रुप रहित छ थुंगा
स्पर्श गर्छु, सुम्सुमाउछु
तिम्रो मायामा
राख्दा राख्दै पुरानो भएर
रंगहरू उडिसकेका छन्
घुनको आक्रमणले छिद्रा छिद्रा परेको छ
लाग्छ बिना सरक्षणको संग्रहालयमा
तिम्रो यादहरु कोचेर अपमान गरेको छु
छुनलाई पनि होसियारी अपनाउँछु
थोत्रिएको आभास हुन्छ
त्यो सुन्दर फूल
तिमीले दिएको समयको जस्तो छैन
सँगै धमिलिन्छ ती दृश्यहरु
तर याद ताजै बनाएको छ
हुन त त्यो सुकेको फूलले
हाम्रो सम्बन्धको प्रतिनिधित्व गर्दैन
न त फेरि जुटाउन सक्छ
न त फेरि टुटाउन सक्छ
अफसोच!
तिमीलाई थाहा नहोला
तर,
तिम्रो मायाको फूल
उहिल्यै मेरो मनमा फुलिसकेको छ
कुनै आधिबेहेरीले नउडाउने गरी
कुनै दुस्मनको गोलीले नमर्ने गरी
कुनै भ्रमको असिनाले नझार्ने गरी
कुनै बर्खाको झरीले नरुझ्ने गरी
सूर्यको तेज रापले नओइलाउने गरी
मेरो मनको डालीमा झुलिसकेको छ
एक सुन्दर थुंगा बनेर
फेरि कहिल्यै नओइलाउने गरी।