कविता
रंगिन गुलाबी फूलहरु झैं
ढकमक्क फुले कि प्रेम
या सूर्यमुखी फूलको थुंगाहरु झैं
चर्को घामले सुके कि प्रेम
आदिम युगदेखि
प्रेमको कथा
प्रेमको इतिहास
प्रेमको समाजशास्त्र
प्रेमको मानवशास्त्र
प्रेमको राजनीति
प्रेमको कूटनीति
प्रेमको विज्ञान
प्रेमको हिसाब किताब
बेवारिसे विस्कुन झैं
छरपष्टिएका प्रेमका गाथाहरु
कहाँ अटाउन सकिन्छ
बदलिरहने मनका कुनाहरुमा
कहाँ सजाउन सकिन्छ
शिरमा लाउने शिर फूल जस्तै
लैला मजनुका प्रेम कथा
राजा महाराजा रानी महारानीहरुको प्रेम इतिहास
मुना मदनका प्रेममय पीडा
कतै सफलतमा
कतै असफलतामा
अनवरत नाइल नदी झैँ बगिरहेछ
धेरै भो
प्रेमको चर्चा
प्रेमको कथा
नसुनेको र नसुनाएको
अकास्मात
सम्झनाका नेपथ्यबाट
प्रेमिल अतीत
प्रेमिल इतिहास
अनगिन्ती प्रेमिल कथाहरु
वर्तमानमा धुमिल छाया बनेर
मनभरि छचल्किरहेछन्
समयको चक्र
फनफन्ती घुम्दै आउँदा
कताबाट फेरि
प्रेमिल यादका घनचक्करमा
पौठेजोरी खेलीरहेछ मन।
थाहा छ
मान्छेबीच
कहाँ प्रेमका निला अकाश मात्रै देखिन्छ र?
घृणामय काला बादल पनि त मडारिन्छन्
लाभमय प्रेम मात्र कहाँ हुन्छ र?
नोक्सानीका तानाबाना पनि त बुनिन्छन्
प्रेमको घनचक्करमा
घात प्रतिघातको
माखेसांग्लोमा जेलिएर
नायक र खलनायक बनिरहन्छन्
जन्दगीको रंगमञ्चमा
अनेक कथा व्यथाहरुको
आरोह अवरोहमा
नेपथ्यबाट गुन्जिएको
मधुर प्रेमिल संगीतमा
मनन गरिरहेछु
प्रेमसित प्रेम जोड्नेहरु
प्रेमसित घृणा साट्नेहरु
प्रेमसित सौदाबाजी गर्नेहरु
कुनै सुदूर क्षितिजको चट्टानी कुनाहरुमा
अनायस बजारिएपछि
झसंग ब्युझिन्छन्
र वास्ताविक जीवनको रंगमञ्चमा
नदी बगरमा
लडिरहेको मुढा झैं
आफू लडेको पाउनेछन्
यही त जीवनको घनिभूत यथार्थ होला
प्रेमिल यादहरुमा
मेरो पनि प्रेमिल शुभकामना।