कविता
छोराछोरीलाई लगेर छोडिदियो
मदर चाइल्ड केयरमा
बुवाआमालाई अस्तिनै पुर्याइसकेको छ
प्यारेन्टस् सिनियर लिभिङ रेजिडेन्सेस कम्युनिटीमा
श्रीमती ब्रेकफाष्ट च्याप्दै हुइकी सकिन्
चालिस माइल परको अफिस भ्याउन
ऊ पैसठ्ठी माइल पर आवरमा हाइवे छिचोल्दै छ
पच्पन्न माइल विपरीत दिशाको अफिस पुग्न
झ्याल ढोका सबै बन्द छ
सेक्युरिटी कम्पनीको अलार्मले
चारैतिर घेरेर सुरक्षित पारेको छ
दुवैलाई पायक पर्ने भन्ने ठाउँको
शून्य घर।
अहँ! समय पटक्कै छैन
केटाकेटीको हेरविचार गर्ने
बुवाआमाको स्याहार गर्ने
जति आधुनिक बन्दै गयो
त्यति जीवन जटिल
घर छ
आफ्नै घर
तर दिनभर कोही छैन
चकमन्न छ
शून्य घर
बेलुका अँध्यारै खसिसकेपछि
थाकेर लखतरान भएर
छोराछोरी पिकअप गरेर
घरमा पकाउने जाँगर नभएर
रेष्टुरेन्टबाटै टेकआउट डिनर बोकेर
पुग्छन् ती जोडी
त्यो शून्य घर
दिनभरि अफिसको काममा
सबै जोश सबै शक्ति सकेर
घरमा रमाउने
समयको अभावमा
घडीमा घण्टी सेट गरेर
भोलि बिहानै उठेर दैनिकी चलाउन
सबैजना
घुप्लुक्क ओछ्यानम पल्टेर
निदाउने चेष्टा गर्दैछन्
बाबुआमा छोराछोरी भएपनि
कोही नभए जस्तो
बैराग लाग्दो
शून्य घर।
परिवारसँग कुराकानी गर्ने
एकले अर्कोलाई माया गर्ने
हाँस्ने खेल्ने
पारिवारिक सुखमा रमाउने
यी सबै खुसीका मिठा मिठा क्षणहरु
सपनामा देख्ने आशा गरेर
एकैछिनमा सबै बत्ती निभाएर
उनीहरुसँगै सुतिसकेछ
शून्य घर।
तर सपनामा त आउनु भएछ
तल्लो गाउँको मनबहादुर हजुरबुवा
भाइबरमा फोन गर्दै उसलाई भन्नु भयो
'नाति बाबु, तैले त बाबुआमा छोराछोरी
सबै साथै लिएर गइस्
विदेश गएर पनि पारिवारिक सुख छुटेन
धेरै राम्रो गरिस् बाबु
यहाँ त यस्तै हो
त्याहाँको जस्तो सरसुविधा र आनन्द कहाँ पाउनू'
साँच्चै सपनामा
बुवाआमा नातिनातिनीलाई
खुसी भएर
खेलाउँदै हुनुहुन्थ्यो
उनीहरू चैँ दुवैजना फुरूंग परेर हेर्दै
मुसुमुसु हाँसी रहेका थिए
सुखी जीवनको भरमग्दुर मजा लिएर
त्यतिखेर त
साह्रै चहल पहल थियो
सधैँको त्यो
शून्य घर।