कहिले काहीँ लाग्छ,
च्यातिदिउँ दराजमा अटमटस गरेर बसेका किताबहरू,
लगाइदिउँ आगो
अनि जलाई दिउँ मभित्र तिनले उमारेका क्रान्तिका बीउहरू।
दोषी हुन् तिनीहरू, भिडमा एक्लो जो उभ्याइदिएका छन् मलाई।
कसरी मानौँ म,
भिडको विरूद्धमा उभिएकी म सही, अनि भिड गलत?
भिडमा हिड्न सजिलो थियो,
जता बगायो उतै बग्थेँ
तर किताबहरूले मलाई भिडको विपरीत हिड्न सिकाए।
भिडको ठूला ठूला भल आइरहन्छन्
बगाउन खोज्छन त्यहीँ पुरानै बाटोमा
लगाइरहन्छन् थप्पड शरीरभरि चरित्रभरि।
मलाई मन्जुर छैन ठगिन, त्यसैले त बोले थेँ बसमा एक्लै
तर भिडले सजिलै भनिदियो मलाई जिद्धी
भिडले बुझ्यो, केही रूपैयाँको न कुरा थियो
मैले बुझेँ, त्यो ठगी थियो।
भिडले बुझेन मेरो कामिरहेको आवाजमा
स्पष्ट मद्धतको याचना
तर बुझ्यो परिचालकले मेरो खेरो गइरहेको याचना
त्यसैले त सुरू भो उसको मौखिक उत्पीडन
त्यही बेला किताबले भन्यो एक सय तीन, गरिदिए उजुरी
परिणाम?
मैले न्याय पाएँ कि पाइनँ त थाहा भएन
तर भिडले नचिनोस् भनेर हिड्छु शिर निहुँराएर।
मलाई मन्जुर छैन दबिएर बाँच्न,
मलाई मन्जुर छैन हेपिएर बाँच्न,
त्यसैले त उठाए थेँ आवाज, आफूमाथि भएको दुर्व्यवहारमाथि,
परिणाम?
भिडले लगाइदियो मेरो चरित्रमाथि प्रश्न चिन्ह
भिडले भन्यो यस्ले अर्काको घर गरेर खादिनँ,
मैले भने मलाई अर्काको घर गर्नु नै छैन,
मलाई त आफ्नै घर बनाउनु छ
अनि भए म चरित्रहीन!
चरित्र?
अचेल त शंका लाग्छ मलाई मेरै चरित्रमाथि
कसरी मानौँ म,
भिडको विरूद्धमा उभिएकी म सही,
अनि भिड गलत?
अचेल,
गलेका छन् मेरा पैतालाहरू,
थाकेका छन् मेरो हिम्मत
नभेटेकी भए किताब, तिमीसँग
सजिलो हुन्थ्यो सायद बाँच्न
यो बिरामी समाजमा बिरामी नै भएर।
लगाउन खोज्छु आगो कहिले काहीँ ती किताबहरूमा,
तर देख्छु म तिनका मायालु अनुहार
बोलिरहन्छन् मसँग ती किताबहरू,
'कुनै बेला एक्लै थिएँ म पनि भिडमा।'
म देख्छु भिडले दबाइएकी रोजालिन्ड फ्रयाङ्क्लिन
म देख्छु मेरी क्युरीमा, मिस्टर क्युरीको कथा
अनि डर लाग्छ, सोचेर के जन्मने थियो
मेरो प्यारो ह्यारी पोटर,
यदि ह्यारी पोटर यान्ड द फिलोसफर्स स्टोनको मुनि लेखिएको हुनेथ्यो
जोआन रोलिङ?
जब थाक्छन् मेरा पैताला
अनि एकैछिनको विश्राममा फर्केर हेर्छु भिडको विपरित
मैले हिँडेका पाइला,
मात्र केही अनि हजारौँ थप्पड!
जब हार्छु हिम्मत अनि लखतरान हुन्छु म
र च्यात्न खोज्छु म किताबहरू,
दराजको एउटा कुनाबाट बोल्छिन् हार्पर ली,
'यो, बालखा कदम हो, तर यो कदम त हो नि'
जब निसासिन्छु म,
यो भिडले खडा गरिदिएको आदर्शको झ्यालखानामा
जब जलाउन खोज्छु म किताबहरू,
जस्ले चिनाइदिएँ भिडले खडा गरिदिएको आदर्श दमन हो भनेर,
अर्को कुनाबाट माया एन्जेलो बोल्छिन्,
'तिमी मलाई धुलोमा कुल्चन सक्छौ, तर म धुलोसरी उड्ने छु'
जब यो बिरामी समाजमा बिरामी नै हुने प्रयत्न गर्छु,
तब बोल्छिन् एन्ड्रिया गिब्सन्,
'बिरामी समाजमा व्यवस्थित हुनु, स्वास्थ्यको लागि हानिकारक छ।'
किताब,
तिमी छौ र त,
तिमी छौ र त म छु
तिमी छौ र त भिडको एक्लोपनमा पनि एक्लो छैन म।