तिमी 'लोकतन्त्र' म यो 'देश' बनेर
प्रेममा परेको दशक बढी भएछ
तिम्रो र मेरो पिरती
बेस्सरी कसिन नपाउँदै
हाम्रो पिरतिको डोरी
बारम्बार
चुडाल्ने प्रयास भयो !
स्वतन्त्रता, सूचनाको हक
अनि तिमीले र मैले
प्राण वायु मानेको
संवैधानिक ब्यवस्था
माथि नै आक्रमण भयो !
संविधान कोमामा गयो
अर्को पटक हामीलाई
हाम्रा प्रेम विरोधी
नव श्री ३ हरूले
माया साट्न दिन्छन् दिन्नन्
यसपालि तिमीलाई
ह्याप्पी भ्यालेन्टाइन है
डियर लोकतन्त्र !
गणतन्त्र, संघीयता
धर्म निरपेक्षता
सबै सबै
हाम्रा मन मिल्ने साथी भा'थे
तिमीले र मैले
सगरमाथाको शीर छोएर कसम खाँदा
हाम्रो प्रेमका साँची थिए
आज तिनीहरु पनि
अफ्ट्यारोमा परेछन्
गुनासो गर्दै थिए
धर्म संकटमा रहेछन्
हामी सधैं पुग्न सक्दैनौं भनेर
तिमीले मैले गाउँ गाउँ बाट
चुनेर पठाइएका प्रेम दूतहरूको
भूमिका खोसिएछ
निरीह बनाइएछ !
लाग्छ,
हाम्रो प्रेममा शत्रुता राम्रैसँग लागेको छ
बिस्तारै हाम्रो प्रेम साट्ने ब्यवस्थामा
बिश्वास भागेको छ
हाम्रो प्रगतिमा डाह गर्नेहरू
ईश्याले जलेर खरानी हुनेहरु
एक जुट भएर लागेका छन्
यो विषम परिस्थितिमा
अरु के भनौं, के दिऊ तिमीलाई मन्त्र !
प्रेम दिवसको मौकामा
ह्याप्पी भ्यालेन्टाइन डियर लोकतन्त्र !
दुवैलाई उस्तै उस्तै मानेपछि
के फरक पर्यो र !
रातो गुलाब दिए नि
पहेलो प्याउली दिए नि
कसले मूल्यांकन गर्यो र
सेता परेवा उडाए नि
काला कौवा उडाए नि
किन बुझेनौँ हामीले
माया साटे पो माया बढ्छ
फूल साटे पो श्रद्धा बढ्छ
बन्दुक देखाएर
बख्त्तरबन्द गाडी गुडाएर
जुहारी खेलेर
आफू बाहेक अरुलाई फिट्टिक्कै
नस्वीकारी
सडकमा घृणा ओकलेर
अपशब्दको रछान रटेर
भविस्यका पिँढीलाई
कस्तो मायाको सन्देश दिदैछौँ हामी !
यसपाली गह्रौ मन लिएर
गोदावरी घुम्ने मन पटक्कै छैन प्रिय !
त्यसैले मात्रै
शब्द शब्द जोडेर नजरबन्दबाटै
ह्यापी भ्यालेन्टाइन डियर लोकतन्त्र !!