तालिम प्राप्त कुकुर खटिनेछन्,
'सिआइबी'लाई काठमाडौँबाट दौडाइनेछ,
विद्यार्थीहरुले केही दिन सडकमा नारा लगाउँनेछन्,
'बडेमानका'हरु तछाड मछाड गर्दै,
श्रद्धाञ्जली दिन हाजिर हुनेछन्,
'युटुबे'हरुलाई २-४ दिन भ्याइ नभ्याई हुनेछ,
परिवारका पीडा खोतलिने छन्,
परिवारका दु:ख,
बीच बजारमा ल्याएर फिजारिने छ,
'आमा'लाई मिडियाका सामु ल्याएर रुन बाध्य पारिनेछ,
अनि २-४ लाखको सहयोग घोषणा होला,
तर
विचरी १७ वर्षकी ती बाला,
अब यो संसारमा कहिल्यै देखिने छैनन्,
तिनी अब यो संसारमा कहीँकतै भेटिने छैनन्,
जसरी निर्मला हराइन्,
जसरी सम्झना बिलाइन्,
'क्रम' घट्नु सट्टा बढ्दै छ,
भोलि तिम्रै घरको पालो आउन सक्छ,
भोलि मेरै आँगन रित्तिन सक्छ,
'निर्मला'का हत्यारा पत्ता लागेन,
'निर्मला'का बलात्कारी समाजमै बेपत्ता भए,
तिमीले हत्यारा समाते पनि,
तिमीले बलात्कारीलाई जेलमा कोचे पनि,
ऊ दलको कार्यकर्ता पर्न सक्छ,
अनि, विभिन्न दिवसको अवसरमा,
राम्रो आचरणको कारण,
'माफी' पाएर फुत्त बाहिर आउन सक्छ,
न्यायाधीसको 'मन पग्लेर' उसले क्षेमादान पाउन सक्छ,
ती चेली त फर्केर आउन्नन्,
अनि तिनलाई चुड्ने, तिनलाई निमोठ्ने,
कसरी यो संसारमा रहन सक्छ?
अब सबैले 'नारा' लगाऔँ,
सबैले 'झ्याली' ठटाऔँ,
बलात्कारीलाई,
सार्वजनिक स्थलमा झुण्ड्याउने कानुन बनाऔँ,
बलात्कारीलाई,
सार्वजनिक स्थलमा झुण्ड्याउने कानुन बनाऔँl