उहिले कुमार जीले भनेको
अगस्त्यमुनिले सुनेको स्वस्थानी कथा
हरेक वर्ष माघ महिनाभरि व्रत बसेर
तीनतले जेठ्यामै पनि सुन्ने गर्थिन्
तर, साङ्गेको दिन प्रसाद झिक्ने बेला
पार्वतीका सामु श्रीमहादेव प्रकट भएझैं
हराएका नागहरु नागिनी सामु देखा परेझैँ
वर्षौंदेखि घर छोडेका जेठाउ प्रकट भएनन्
देउताजस्तै पति पाउँ भनी पोहोर साल
कुनाघरकी कुन्तीले स्वस्थानी व्रत लिइथी
बिहे त भयो उसको, जड्याहा लोग्ने परेछ
बेस्मारी कुटेर हर भाँचिदिएपछि अचेल माइतैमा छे ऊ
दुःखका दिन सकिउन् भनेर
लैबरी फुपूले धेरै चोटि स्वस्थानी व्रत लिइन्
तर, फर्केन मलेसिया गाको छोरो
बज्न छोडेन भोकको सारंगी
एक बारको जुनीमा सुखको मुखै नदेखी- परारै बितिन्
बिहे गरेको वषौं भयो
सोत्रेनी साइँलीका सन्तान भएनन्
स्वस्थानीको व्रत लिइरहिन्
सिद्धि गणेशको सेवा गरिरहिन्
गोबरबाट गोमा प्रकट भएझैं प्रकट भएनन् सन्तान
अहिलेसम्म कोख फुटेन, बाँझै रह्यो
र पनि
स्वस्थानी देवीप्रति
गुनासो छैन कसैको
आक्रोश छैन कसैको
इच्छित बर पूरा होस् नहोस्
भक्तहरुको आस्था छ
मोक्षको कामना छ
कथैकथाका वाटिकामा विचरण गर्दै
माघ महात्म्यले मनको दुःख पखालेर
हृदयमा आनन्दको बत्ती बाली
शान्तिको सागरमा चुर्लुम्म डुब्ने
एउटा गज्जबको रीत छ गाउँमा
स्वस्थानी जननीप्रति
कहिल्यै नटुट्ने प्रीत छ गाउँमा।