फरक अंश जति नि थिएन
उस्तै लय उस्तै बतास
हामी भित्रै थुनिएर
बाहिर निस्कदा
गड्डा चौकीको लामो फेरो
झोलामा एक सप्को माया
हजारौँ पैतालाहरु
मातृभूमि ओझेल बनाउँदै थिए।
अब थुनिनु पर्नेछ
जब आदेश फर्माना भो
एकहुल जमात
हुल बाँधेर गाउँ फर्कियो
खिया लागिसकेका
चाँदे, खुर्पा, कुट्टो अर्ज्याप्यो
खलियान बनायो
बीउ छर्यो, बारी सम्यायो
शिरक ओड्यो
डम्म निदायो।
टुसा पलायो,
पानी हालेन, गोबर छरेन
टुसा बारीमै हरायो।
खुले मेनपावर, खुले सीमाना
उस्तै छ लर्को
थुनिनु अघि जस्तो थियो
उस्तै छ नियती।
शासक आरा चलाउन व्यस्त
शासित पारा चलाउन व्यस्त
सडक नारा चलाउन व्यस्त
हजुरआमालाई सोधे
समृद्धि कहिले आउँछ?
भन्नुभयो
उन्यु फुल्दा, ढुङो टुसाउँदा।
हामीभित्र थुनिएर
बाहिर निस्कदा
उस्तै लय उस्तै बतास।