घाटमा बसेर मलामी कुरेको मान्छे
नमर्दै मलामी पाइन्छ भन्ने भ्रममा
भव्य चिताको परिकल्पना गर्दै
किनारमा लम्पसार परेको दिन
घेरिएको थिएन पर्दा वरिपरि
त्यो माघको जाडो छेल्न
लगाएको थिएन सुन्दर छानो
हिउ झैँ जम्ने शित छेल्न
तर पनि
सिरेटोको कुनै पर्वाह नगरी
कुनै भूतप्रेतको डर नमानी
अविच्छिन कुरिरहे अन्त्येष्टि
आएर दागबत्ती दिन्छ उसले
अनि म मुक्त हुन्छु सदालाई
तर
मेरो स्वप्नचित्र पटक्कै सुखद् भएन
स्वतन्त्रत ब्रह्रमाण्डमा लिन हुन
खुसी तुल्याउने अन्तिम आगो
कोसेली स्वरुप अर्पन नहुँदा
भनेको भए हुन्थ्यो अगाडि नै
मन्दिरको पाटीमा बसेर कुर्थेँ होला
त्यो सुन्दर मृत्युको राजकुमारलाई
मुस्कुराउँदै खुसी साट्थेँ होला
भरोसामा घुम्ने जवान जोडीसँग
खिस्स हाँस्थेँ होला नाटकिय दृश्यमाथि
भावनाको निर्भरतामाथि
सोधेको भए भन्न नि पछि पर्दिनँ थिएँ
प्रेम भावनात्मक यात्राको सुखद् अनुभव
मन मिलुन्जे सँगै हिंड्ने
मुटु दुखेपछि बाटो आफै रोज्ने
अलग भएर आ-आफ्नै बाटो हिंड्ने
अनि प्रेम चौतारी हो थोरै समयको भेट
बाचुन्जेलको यादगार अदृश्य तस्बिर
त्यसैले
तस्बिर कहाँ खिच्ने कसको खिच्ने
घाटमा नि सेल्फी लिन्छौ
प्रेम कहाँ गर्ने किन गर्ने
भीडमा पनि पप्पी दिन्छौ
सोच
आँखा चिम्लिनको लागि तिम्रो निर्णय होइन
शरीरको सबै अंगले साथ दिनु हुन्न
आँखा खोलेर संसार हेर
उज्यालो छ, अन्धकार छाएको होइन
बुझ
सुक्नु र दुख्नुमा धेरै फरक छ
घाटमा बसेर मलामी कुर्दैमा
चिता जल्दैन।