मेरो घरको बरान्डाबाट देखिने हिमाल
अझै उस्तै रहेछ
मेरो गाउँ ढुंगा र माटोले बनेको घरहरुबाट
कन्क्रिटले बनेको सहर बनिसकेको छ
तर ऊ अझै उस्तै रहेछ।
म आफै पनि राजाधनी बासी भइसकेँ
तर ऊ जहाँ थियो त्यही नै छ
र पहिले जस्तै नै रहेछ
बिहानीपख उस्तै गरी मुस्कुराइ रहेथ्यो
मैले पनि मुस्कुराउँदै सोधेँ-
तिमी त अझै उस्तै रहेछौ!
मुस्कुराउँदै जवाफमा उसले भन्यो-
परिवर्तन त ममा पनि आएको छ
तर मेरो परिवर्तन प्रकृतिसँग नै
हातेमालो गर्दै भइरहेको छ
तिमी मनिसहरु जस्तै प्रकृतिलाई
चुनौती दिँदै डौडमा सरिक हुन छैन मलाई
परिवर्तन त ममा पनि आएको छ
हिउँदमा पहिले जस्तै बाक्लो हिउँको
सिरक ओड्नु पर्दैन
गर्मीमा पनि मेरो शरीरबाट पग्लिएको
हिउँलाई समुन्द्रसम्मको यात्रा गर्नु पर्दैन
साँच्चै भनौँ भने मेरो हिउँ पग्लिएर
समुन्द्रसम्म नपुगेको जाती
सुन्छु, आजकल समुन्द्रमा पनि
पानीको मात्रा कम रसायन ज्यादा पाइन्छ रे
आजकल, मलाई स्पर्श गर्ने हावामा पनि
विकिरणका मात्रा बढेको छ
मलाई नुहाइदिने वर्षाको पानीमा
अल्मको मात्रा बढेको छ
त्यसैले, पहिले जस्तै ताजा र निश्चल छैन म
परिवर्तन त ममा पनि धेरै नै आएको छ
बस, ममा आएको परिवर्तन ख्याल गर्न
तिमी मानिसहरुमा फुर्सद छैन।
यी सब सुनाइरहँदा उसको मुस्कुराहट
उस्तै नै थियो
कारण, सायद यी परिवर्तन र त्यसका
पारिणामहरु प्रति ऊ सचेत छ
तर मेरो मुहार मुस्कान छोडि
मलिन हुन गएको थियो
कारण, हामी मानिस आफ्नो डौडमा
यति व्यस्त छौँ कि, परिवर्तन हेर्ने
न त फुर्सद नै छ
न त त्यसका परिणामप्रति सचेत।