आजकाल बस्दा बस्दै थाक्छु
कति बसेको भन्छ कुर्ची
उठेर खाटमा बस्न जान थाक्छु
सुतेर उठिसकेपछि थाक्छु
खाना बनाएर आमाले खाना बोलाउँदा
भान्सामा टेबलमा बस्दा थाक्छु।
आजकाल नुहाउन बस्दा थाक्छु
हात ढाडमा मिच्न लादा
हात चलाउँदा थाक्छु।
मासुलाइ सुम्सुमाउन मन लाग्छ
तर मांसपेशी सोच्दा सोच्दै थाक्छु।
मलाई नुहाउन जाँगर नआउने होइन
लामो समय ननुहाएपछि गनाईले जाँगर दिन्छ
आजकाल देब्रे मस्तिष्क चलाउन मन लाग्दैन
खै किन किन कसैलाई बोलाउन मन लाग्दैन
उनीमा मात्र चित्त लगाउन मन लाग्छ
उनीमा मात्र मन लगाउन मन लाग्छ।
उनीबाहेक अरु कोहि छैनन् कि जस्तो लाग्छ
उनी ममा आउन् कि जस्तो लाग्छ
उनी र म मात्र भऔँ कि जस्तो लाग्छ
उनी र म,
म र उनी दुई जना मात्र भएको
कहिले उनी भित्र म
कहिले मभित्र उनी
यता उता, तल माथि दायाँ बायाँ
जहाँ पनि उनी र म।
मलाई रक्तअल्पता भएको छैन
त्यही पनि म थाक्छु
म बुढो भएको छैन
त्यही पनि म थाक्छु
सानो काम गरेपनि थाक्छु
मन लागि नलागि ठूलो काम गरेपनि थाक्छु
हाँस्दा पनि थाक्छु
म रुदा पनि थाक्छु
जुन कुरा गर्न मन छैन
ती हरेक कुरा गर्दा थाक्छु।
कसैले तँ भनेर बोलाउँदा नि थाक्छु।
कसैले हजुर भनेर बोलाउँदा नि थाक्छु।
कसैको सम्बोधनमा थाक्ने
म महान् छु
हर एक कुरामा थाक्ने बनाइदिने
तिमी मभन्दा पनि महान् छौ
मसँग छैनौ, त्यही पनि महान् छौ
मसँग भएको भए त म मर्थें होला
थकाइको उत्कर्श प्राप्ति के हो?
सायद मृत्यु।
तिमी मृत्युलाई पनि थकान दिन सक्छौ
हे प्यारी कविता तिमी महान् छौ।
तर कहिले काहीँमात्र मस्तिस्कमा आउछिन्
धेरै पर्खनु पर्छ
खै मेरी कविता कता छिन्?
मलाई अल्छी बनाएर कहाँ गइन्!
यी पंक्तिमा आइन् कि आइनन् थाहा छैन
तर मेरी श्रीमतीले भन्ने गर्छिन्
हो साँच्चै अल्छी भएको छु म।