गोधुलीपछिको पहर, झमक्क साँझ परेको थियो। सूर्यले बिदा लिएर गइसकेका थिए। जून ब्यूँझिनै थियो। वनका चराहरूले आ-आफ्नो बासस्थान जमाइसकेका थिए। झ्याउँकिरीहरूले झन् झन् मधुरो स्वरमा कराउँदै थिए।
लाग्दथ्यो, अब तिनीहरू पनि कराउन छाडेर सुत्ने तर्खरमा छन्। अँध्यारोले बैँस हाल्दै गाढा कालो थियो। जुनकिरीहरूले रूखको पात पातमा बसेर बेला बेलामा चिमिक्क चिमिक्क बत्ती बाल्थे। तिनीहरूले बत्ती बाल्दा तिहारमा घर घरमा रङ्गीबिरङ्गी बत्तीहरू चम्किँदा जस्तै देखिन्थ्यो। रोमाञ्चित दृश्यहरू।
रुपेश गाउँ परको भञ्ज्याङको वरपिपल चौतारीमा बसेर राधिकालाई कुरिरहेका थिए। राधिका आउने बाटो हेरेको पनि करिब एक घण्टा भैइसकेको थियो। उनको मनमा चिसो पसिसकेको थियो। कतै राधिका नआउने पो हुन् कि? उनी आइनन् भने? उसको मनमा धेरै सोंचाईहरू दौडिन थाल्यो।
एकैछिनमा पर बाटोमा एउटा कालो आकृति देखियो। अँध्यारोमा उसले के हो, को हो ठम्याउन सकेन। उसको नजिक नजिक सर्दै आयो त्यो आकृति। पक्कै पनि राधिका नै हुनुपर्छ। उसले मनमनै निधो गर्यो। हैन, अरु नै पो हुन् कि? फेरि उसको मनमा अनिश्चितताको बादल मडारियो। र उसले सोधेर पक्का गर्ने टुङ्गो लगाए।
'को हो? राधिका हौ?'
त्यो आकृति टक्क रोकियो। तर जवाफ आएन। उसलाई कता कता डर पनि लाग्यो। कतै भूत! प्रेत! उसले बुढापाकाहरूले सुनाएको किस्सा र भूत प्रेतको कथाहरू झल्यास्स सम्झियो।
उहिलेका बुढापाकाहरूले भनेको सुनेका थिए- 'त्यो चौतारी हुँदै पल्लो गाउँसम्म आधा रातमा भूत चल्छ। कहिले अस्पष्ट रुवाईमा कोही रुँदै हिड्छ। कहिले बाटो नै उज्यालो पारेर राँको बालेर राकाश हिड्ने गर्छ।'
रुपेशले मन दर्बिलो पारे। हिम्मत बढाएर अलिक चर्को आवाजमा फेरि सोधे- 'बोलाउँदा पनि नबोल्ने को हो? ढुंगाले हान्दिम्?' यति भन्दै गर्दा बल्ल आवाज आयो।
'मार्ने विचार छ भने हान न' रूँदै बोलिन्।
उनी राधिका थिइन्। हिक्का छोडेर रुन थालिन्। परको गाउँसम्म पुग्ने गरी चर्को आवाजमा रोइन्।
'राधिका, किन रोएकी? किन नबोलेकी त?'
'रुपेश, के हामीले सही निर्णय लिएका छौं? यसरी भागेर कहाँ जाने? भागेर कहिलेसम्म सम्भव हुन्छ? योभन्दा त समाजसँग लडेर जित्नु पर्थ्यो। भाग्नु भनेको कायर भएर समाजसँग हारेर लुक्न जानू होइन र?' उनी रूँदै रूँदै बोलिन्।
रुपेश र राधिकाले प्रेम गरेको चार वर्ष भैसकेको थियो। उनीहरूको प्रेममा तगारो बनेर समाज र समाजको रीति उभिदियो। रुपेश दलितको छोरो। राधिका मगरकी छोरी। पुरातन सोच र व्यवहारले गर्दा उनीहरूलाई समीप भएको देख्न नचाहने समाज थियो।
जातपातको आधारमा भेदभाव गर्ने चलन थियो। विद्यालयको पठन पाठनमा जातीय भेदभाव गर्नु अराध गर्नु हो। जातको आधारमा भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ भनेर उनीहरूले पनि पढेका थिए।
कानुनमा उल्लेख गरेको सबै जातजाति समान हुन्। जातको आधारमा कसैलाई भेदभाव गर्न पाइदैन भन्नु कानुनको नीतिगत र विधिको कुरा थियो। तर व्यवहारिकमा त्यो लागू थिएन। जसको कारण रुपेश र राधिकाले आफू जन्मेको गाउँ, माया गर्ने परिवार र सानैदेखि सँगै खेलेका दवालीहरूलाई चटक्कै छोडेर त्यो अँध्यारी रातमा गाउँबाट टाढिदै थिए।
आफ्नो गाउँ र परिवारलाई छोडेर जानु पर्दा दुख मानेर रोएकी थिइन् राधिका। वातावरण अँध्यारो र सन्नाटा थियो। तर उनीहरूको प्रेमको सपना भने उज्यालो थियो। प्रेम गरेर संसार जित्ने सपना थियो। समाजको सोचहरू साँघुरो भए पनि उनीहरूको सोंच भने आकाश जस्तै फराकिलो थियो। त्यही भएर उनीहरूको प्रेम दुबो सरी मौलाउदै गएको थियो।
'राधिका, नरौ! तिमी यसरी रोएको मैले हेर्नै सक्दिनँ। यो समाजले हाम्रो समीप्य कहिल्यै देख्न सक्दैन। माया प्रेमभन्दा जात ठूलो मान्ने समाज छ यहाँ। यो समाजमा बसेर अन्तरजातीय प्रेम गर्नु भनेको धर्ती र आकाशको मिलन गराउनु जस्तै हो। आऊ मेरो आडमा बस। अब तिमी र म चुम्बक र फलाम जस्तै भएर जिउनु पर्छ।'
राधिकाको हातमा भरोसाको अँठिलो हातले कस्दै रुपेश बोले। वरपिपलको फेँदमा त्यही वरपिपल जस्तै एकछिन उभिए। राधिकालाई आफ्नो बहुपासमा खिचेर आफ्नो अङ्गालोमा कसिराखे। उनीहरूको प्रेमको साक्षी त्यही वरपिपलहरू ठिंग उभिएर हेरिरहेका थिए। त्यसपछि उनीहरू त्यो चौतारी र गाउँलाई पछाडि पारेर रातारात भागेर गएका थिए। निश्चल प्रेमलाई सफल बनाउनको लागि अन्धो समाजबाट दूर हुँदै थिए अनन्त यात्रामा।
रुपेश र राधिका एउटा टर्चलाइटको मधुरो उज्यालोको सहारामा रातारात हिडिरहे। खोला र खोल्सीको बाटो। घना वनजङ्गलको बाटो। उकाली र ओरालीहरू पर गर्दै पाइला चाल्दै गए। कहिले रुपेशले, कहिले राधिकाले पालैपालो हातमा हात कस्दै।
बिहानीपख भालेको डाँकोपछि पारि डाँडामा पुगेका थिए। पूर्व क्षितिजमा घामको पाइला बढ्दै आएको संकेत गर्दै मिर्मिरेले जनाउ गर्थ्यो। उनीहरूले डाँडामा बसेर आफ्नो गाउँतिर नजर लगाए। 'पापी समाज! हाम्रो चोखो प्रेम नबुझ्ने अन्धो समाज... !'
राधिकाले खुइय्या गरेर लामो सास फेरिन्। र फेरि सम्झिन् समाजले मानेका खड्कबहादुर थापामगर। वडाध्यक्ष, उनको बा! कहिल्यै मायाको कमी हुन नदिने आमा! सँगै खेल्ने प्यारा भाइबहिनीहरू! र आज आफैले बाआमाको नाक काटेर भागेर घर छोड्दैछु।
गाउँतिर फर्केर हेर्दै गर्दा आँखाबाट तुरुक्क पानी खस्यो। मन बुझाइन् यही त रहेछ जिन्दगी! के सोंचेको थिएँ, के के भयो आज! 'तिमी धेरै मन नखेलाऊ राधिका। समाजबाट टाढिनु परे पनि मबाट कहिल्यै टाढिनु पर्दैन। म छु तिम्रो साथमा।'
एकले अर्कोको भरोसामा मनलाई सम्झाउँदै डाँडाबाट पल्लोपट्टि खर्लप्पै ओरालो लागे। उनीहरूको गन्तव्य थियो चितवनको नारायणगढसम्मको। उनीहरू चितवनतिर लागे।
गाउँभरि वडाध्यक्षको छोरी राधिका हराएको हल्लाह चल्यो। परिवारले आफन्तहरूसँग सोधखोज गरे। जहाँ उनी गएर बस्ने सम्भावना थियो। तर कुनै आफन्तबाट जवाफ आएन- 'राधिका आएकी छिन्। हामी सँगै छिन्।' राधिकासँगै एउटै कक्षामा पढेका रुपेश विश्वकर्मा पनि त्यही रातदेखि घरबाट हराएकोले उनीहरू सँगै भागे भन्ने टुङ्गो लगाए।
खड्कबहादुर रुपेशको घरमा पुगे। उनको बाआमालाई हकार्दै भने-
'ए कान्छा...! बाहिर आइजा...! तेरो छोरोले मेरी छोरी राधिकालाई भगाएर ल्याएको छ। कहाँ लुकाछस् बाहिर निकाल्!'
'भाइ, हजुर त्यसरी नबम्किनोस्। हामी पनि छोरो हराएर चिन्तामा छम्। हजुरकी छोरी हाम्रो रुपेशसँगै भागेको भन्ने कुनै प्रमाण छ? मैले लुकाएर राखेको भए पो बाहिर निकाल्नु!' अनविज्ञता दर्शाउदै बोले।
'दलितको छोरो भएर मेरी छोरी भगाउने कस्तो आँट? तेरो छोरोले आफ्नो औकात भुले। फर्केर मात्र आओस् त दुवै जनाको टाउको छिनली दिन्छु' रन्थनिँदै कराए।
'भाइ, हजुर जस्तो जान्ने बुझ्ने र समाजसेवी मान्छेले यस्तो घटिया गाली गर्न सुहाउँदैन क्या। हो, कामको आधारमा हामीलाई दलित विश्वकर्मा भनेर जात दिएको छ। तर हामी पनि हजुरहरू जस्तै मान्छे हुम्। यो नभुल्नुस् कि, हामी दलितहरू पनि एक पूर्ण मानव हौं।
तल्लो जात र उपल्लो जात भन्ने कुरा जात र थरको आधारमा होइन। सोंच र व्यवहारको आधारमा हुनु पर्थ्यो। यसरी झगडा गरेर बस्नुभन्दा हाम्रा छोराछोरी जिउँदै छन् या मरे पत्ता लगाउने काम गरम्। के कसरी भन्ने कुरा पछि नै गर्दै गरम्ला, हुन्न र?'
जसले गल्ती गर्यो उसैले पाठ पढाउँछ अझैँ भनेर खड्क बहादुर निकै मुर्मुरिँदै घरतिर फर्के। दिनपछि रात आयो। रातपछि दिन हुँदै महिनौँ बित्यो। अत्तोपत्तो लागेन। न सास मिल्यो न लास। दुवै तर्फको परिवार शोकमा परे।
कुरा काट्नेहरूलाई निकै मिठो अचार मिलेको थियो। यस्तो, उस्तो, छि छि ! के भाको होलासम्मको घृणा मिश्रित कुरा चल्थ्यो।
लामो समयसम्म अत्तोपत्तो लागेन। सन्तानको मायाले शोकमा रहेका बा-आमाको मन परिवर्तन गरायो। सकुशल फर्केर आए बरु टीकाटालो गरेर पठाइदिन्थ्यौंसम्मको सकारात्मक कुरा आउन थाल्यो। तेस्रो महिनाको एक दिन छिमेकी घरमा राधिकाले फोन गरेर चितवनमा रहेको खबर दिइन्। आफू र रुपेश सँगै रहेको बताउँदै घरमा बा-आमालाई पिर नगर्न खबर गरेकी थिइन्।
रुपेश र राधिकाले नारायणगढको धेरै ठाउँमा कामको खोजी गरेका थिए। काम पाउँथे तर उनीहरूले एकै ठाउँ सँगै काम गर्न चाहन्थे। दुवै जनालाई एकै ठाउँमा काम नमिलेर दु:ख पाएका थिए। उनीहरू कामकै खोजीमा थिए। मोबाइलमा कालिका एफएम बजाइरहेको बेलामा तिनीहरूले एउटा विज्ञापन सुने।
'भरतपुर नगरपलिकाको फलानो ठाउँमा घर कुर्ने मान्छे चाहियो!' विज्ञापन सँगै मोबाइल नम्बर पनि दिएको थियो। विज्ञापनको आधारमा घर खोज्दै त्यहाँसम्म पुगे। चिटिक्कको दुई ताले घर। चारैतिर पर्खालले बारेको। बगैँचाले सजिएको। शान्त ठाउँमा एउटा सुन्दर घर।
घरमा एकजना पाको उमेरको घर मालिक मात्रै। छोराबुहारी नातिनातिना अमेरिकामा बसोबास गर्ने गरेको। घर रेखदेख गर्ने र घर मालिकलाई खाना बनाएर खुवाउने। छोटो छलफलपछि कुरा मिल्यो। रुपेश र राधिकाले त्यही घरमा काम गर्ने पक्का भयो।
पचास वर्षको उमेरमा पनि घर मालिक हट्टाकट्टा थिए। मिलनसार। मृदुभाषी। हाँसेर बोल्ने बानी थियो उसको।
रुपेश र राधिका गाउँ छोडेर टाढिनु परे पनि मालिकको व्यवहारले उनीहरूलाई गाउँ छोडेर हिड्नुमा कुनै चिन्ता महशुस भएन। अभिभावकहरूबाट टाढिए पनि एउटा असल अभिभावक पाएकोमा खुसी थिए। घर मालिकले कहिल्यै पनि मालिक र नोकर बीचको भिन्नता देखाएन। एउटै परिवार भएर बसे।
घरबाट हिँडेको बेला राधिकाले भर्खरै एसएलसी पास गरेर बसेकी थिइन्। उनी पढाइमा तेज थिइन्। पढ्ने रहर मनमै लुकाएर राखेकी थिइन्। घर मालिकको मित्रवत व्यवहार देखेर दङ्ग परेका उनीहरूले अप्ठ्यारो नमानेरै राधिकाले पार्टटाइम कलेज पढ्ने इच्छा राखिन्।
'दैनिक कलेजमा जान पाउँदैनौ। तर कलेज भर्ना गर' भनेर सल्लाह दिएपछि कलेज पढ्ने रहर पनि पूरा भएको थियो। कहिलेसँगै सौराहा घुम्न लैजान्थे। कहिले मनकामना माईको दर्शन गर्न लैजान्थे। कहिले कहाँ गर्दै उनीहरूले घरतिरको सुर्ता भुल्ने बनाएका थिए।
रुपेश र राधिकाको जिन्दगी खुसीमा बित्दै थियो। मायाको संसारमा हराइरहेका थिए। घर मालिकको माया आफ्नो ठाउँमा छँदै थियो। त्यो घरमा काम गर्न थालेको करिब तीन वर्ष जति भएको थियो। रुपेश बजारतिर सामान किन्न गए।
सामान किनेर घरमा फर्किँदै गर्दा रुपेशले चलाएको मोटरसाइकल ट्रकसँग ठक्कर खान पुग्यो। गम्भीर चोट लागेको रुपेशलाई भरतपुर हस्पतालमा उपचार गराउँदै गर्दा मृत्यु हुन पुग्यो।
त्यो घटनापछि राधिकाको जिन्दगीमा विनाशकारी हावा हुन्डारी सुरु हुन थाल्यो। पूर्णिमाको जून जस्तो लागेको जिन्दगीमा ग्रहण लाग्यो। जिन्दगीको सपना सिसा टुटे जस्तै चकनाचुर हुन पुग्यो। शिकारीले जोडी मारेको चरा जस्तै छटपटी र बेहोशी हुँदै पागल जस्तै बन्न थालिन्।
घर मालिकले निकै हेरचाह गरेर लामो समयसम्म रेखदेख गरे। औषधी उपचारको लागि लाग्ने सबै खर्च सहयोग गरे। अस्पतालबाट घर फर्केपछि त्यो घरमा अब मालिक र राधिका मात्रै भए। राम्रोसँग नतंग्रिँदासम्म राम्रो स्याहार सुसार गरे।
त्यो गुन देखेर राधिकाको हृदयमा छुट्टै माया पलायो। आफ्नै घरको अभिभावकहरूले भन्दा कमको रेखदेख गरेका थिएनन्। उनी विस्तारै निको हुँदै जान थालिन्। त्यो देखेर घरको मालिक पनि औधी खुसी देखिन्थे। एकदिन घर मालिकले उनलाई सल्लाह दिएर भनेका थिए-
'राधिका, जे नहुनु पर्ने थियो भयो। रुपेशले संसार छोडेर गए। विगतमा जे जे भयो सबै कुरा भुलेर अब घर फर्कनु। गाउँ गएर सके घरमै बस्नु। नभए माइतीमा बस्नु। अहिलेसम्म तिमीलाई माया गर्ने बाबा र आमा हुनुहुन्छ।
यतिका साल मसँग बस्यौ। चाहिएको बेलामा लिम्ला भनेर तलब लिएका थिएनौ। मैले हिसाब गरेँ। लगभग आठ लाख जति पाउनु पर्ने रहेछ। त्यो पैसा एकमुष्ट दिन्छु। तिमी घर जानू पर्छ। बाबा र आमाले बाटो हेरिराख्नु भएको छ। सन्तानले जति नै गल्ती गरे पनि एकछिन हो रिसाउने। केही दिनपछि त फेरि भुलिहाल्छन्।'
एकदिन राधिका कोठा सफा गर्दै थिइन्। उनलाई घरको मालिकले आफ्नो कोठामा बोलाए। नभन्दै आठ लाख रुपैयाँ हातमा थमाइदिए। तर राधिकाले गाउँ फर्केर जाने आँट गरिनन्। आफ्नो कोठामा गएर एकएक गर्दै पैसा गनिन्।
त्यो पैसामा रुपेशको मुहार हाँसिरहेको देखिन्। उनी मुसुक्क हाँसिन। 'राधिका...यहाँ आऊ त।' घर मालिकको स्वर सुनेर झस्किइन्। उनको मनभरि बादल छायो। उनले घर मालिकको कोठातिर पाइला बढाइन्।
घर मालिकले उनलाई घर फर्कन सल्लाह दिँदै गर्थे। कुन मुख लिएर एक्लै घर फर्किनु! आफै अल्मलिन्थिन्। अलमल हुँदै गर्दा वर्ष दिन बढी बिताइछन्।
'राधिका, यहाँ आऊ त।' साँझ खाना खाएर पल्टिरहेकी राधिकाको कानमा आवाज आइपुग्यो। बुवालाई के पो भएछ फेरि सोंच्दै उनी उतै पुगिन्।
'के भयो र बुवा? किन बोलाउनु भएको?' अप्ठ्यारो मान्दै घर मालिकको ओछ्यान नजिकै गएर बसिन्।
'जीउ साह्रै करकरायो। अप्ठ्यारो नमान्ने भए यसो मालिस गरिदेऊ न' विनम्र अनुरोध थियो।
'म बिरामी हुँदा कति दु:ख गर्नु भयो। मलाई बचाउनु भयो। के को अप्ठ्यारो मान्छु र बुवा!' सहज रुपमा स्वीकारिन्। र मालिस गरिदिइन्। त्यस दिनदेखि घर मालिकले दैनिक मालिस गरिदिन भने। उनलाई धेरै गुन लगाएका थिए। त्यसैले राधिकाले नाई नास्ती गर्न उनको मनले मानेन।
उनको नजरमा घर मालिक एक असल अभिभावक हुनुहुन्थ्यो। घर मालिकको दुखेको अंगहरू विस्तारै ठिक हुँदै गयो। तर उसको आग्रह थियो मालिस गरिरहनु। एक साँझ मालिस गर्दै गर्दा घर मालिकले राधिकालाई भने, 'कति मेरो मात्रै मालिस गर्छ्यौ? तिम्रो पनि त ज्यान दुखेको होला। आऊ आज तिम्लाई मालिस गरिदिन्छु।'
उनी एकछिन अनकनाइन्। 'भयो बुवा पर्दैन। मलाई केही भएको छैन।' उनी टाढिन खोजिन्। तर घर मालिकले जोडले हातमा अँठ्याएर समाए। जान दिएन। उसको ओछ्यानमाथि राधिकालाई पल्टिन लगाए। त्यसपछि उनको शरीरमा मालिस गर्न सुर गरे।
त्यसपछिका हर साँझहरू उनीहरू दुवै जनाले निशंकोच पालैपालो मालिस गर्न थालेका थिए। मालिस गर्दै गर्दा उनीहरूको हात कहिले सीमाभन्दा पर त कहिले सीमाभन्दा वार भैसकेका थिए। त्यो क्रमसँगै घर मालिक र राधिकाको बुवाछोरी साइनो बीचको मर्यादाको सीमारेखा भंग हुन पुगेका थिए।
आफूले बुवा मानेको घर मालिकको बानी व्यवहोरा राधिकालाई निको लागेको थिएन। 'खै, कस्तो देखिँदो रहेछ हेरौं। हेरेपछि फालिदिन्छु भन्दै फकाएर घर मालिकले कहिले काहीँ गोप्य क्रियाकलापको भिडिओ पनि बनाएका थिए। उनलाई थाहा थियो, यो गलत काम हुँदैछ। तर उनले खुलेर विरोध गर्न आँट आएको थिएन।
पछि राधिकाले सम्झाउन थालिन्। यस्तो काम गर्नु ठिक होइन भनिन्। 'अब तिमी घर फर्केर जान पर्दैन। यही सँगै बसौं। तिमी नडराऊ। समाज बोलाएर तिमी सँगै विवाह गर्छु। सम्पत्ति तिम्रै नाममा पास गरिदिन्छु।' अश्वासनहरू देखाएका थिए।
पछि अटेरी गर्दै जान थालेपछि भिडिओ खिचेर राखेको छु। मानेनौ भने युट्युबमा, फेसबुकमा राखिदिन्छु भन्दै यौन शोषण गर्न थाले। राधिका ठूलो फन्दामा परिन्। सामाजिक संजालमा अश्लील भिडिओ छायो भने बेइज्जती हुने डरले नचाहेरै पटक पटक यौन शोषण भोग्न बाध्य बनिन्।
राधिकाले पार्टटाइममै पढेर प्लस-टु पास गरिन्। उनी त्यो घर र मालिकबाट टाढिन नसक्नुको कारण उनको पढाइ थियो। प्लास-टु पूरा गरेपछि उनले भागेर जाने योजना बुनिन्। एकदिन घर मालिकले दिएको आठ लाख रुपैयाँ ह्याण्ड ब्यागको चेपमा लुकाइन्। र तरकारी किन्न जाने बहाना पारेर सधैँको लागि त्यो घरबाट बाहिरिएर गइन्।
उनी गाउँ फर्किनन्। उनी चितवनबाट सिधैँ राजधानीमा जाने गाडीमा चढिन्। रातारात राजधानी ओर्लिन्।
राजधानीमा कोठा लिएर बस्न थालिन्। कलेज भर्ना गरिन्। उनको पढाइ र कोठा भाडा अनि राजधानीको बसाइ महंगो थियो। उनीसँग भएको थैलीको साइज साँघुरिदै थियो। जागिर थिएन। आम्दानीको बाटो हुने कुरो भएन।
फेरि उनको अगाडि आर्थिक समस्याको बाढीहरू उर्लिन थाल्यो। अब के गर्ने? राजधानीको धेरै ठाउँमा जागिरको लागि हात फैलाइन्। बासपार्क नजिकै रहेको एउटा रेष्टुरेण्टमा काम पाइन्। नाम चलेको रेष्टुरेन्ट थियो।
आधा रातसम्म ग्राहकहरू आउजाउ हुन्थ्यो। एक रात एक जना ग्राहकले पर्स खसालेर गएछन्। पर्सभित्र केही थान पैसा थियो। साथमा उसको व्यक्तिगत विवरण पनि। त्यो पर्सको धनी एउटा नाम चलेको राम्रै संस्थाको हाकिम रहेछ। पर्स लिन आउँदा उनीसँग राम्रो परिचय गरेर गएका थिए। मेरोतर्फबाट सक्ने सहयोग गर्छु भन्दै छुट्टिएका थिए।
एकदिन उनको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो। उनले फोन उठाइन्। तिनै मान्छे बोल्दै थिए। जो पर्स छोडेर जाने धनी थिए। त्यहाँबाट उनीहरूबीच फोन सम्पर्क निरन्तर हुन थाल्छ।
'तिमी राम्री छ्यौ। तिम्रो रुप र जीउडाल देखेर जति भन्छ्यौ पैसा खर्च गर्ने मान्छे मेरो सम्पर्कमा छन्। तिमीले दैनिक रुपमा धाउनै पर्दैन। हुन्छ मात्र भन। तिमी सजिलै धनी बन्न सक्छ्यौ, तिम्रो लागि योभन्दा सजिलो काम अरु के हुन सक्छ?' उसले यसरी सम्झाएका थिए।
उनलाई पैसा कमाउने सजिलो तरिका सिकाउँदै कल-गर्ल बन्न भनेका थिए। रेष्टुरेन्टको काम, आधा रातसम्म धाउनु पर्ने। महिनामा थापेको तलबले उनको आर्थिक भार थाम्न कठिन थियो। ती झमेलाहरू सोंचेर उनले हुन्छ भनिदिइन्।
त्यसपछि भने उनको दर्जा फेरिएको थियो- कल गर्ल। महिनामा सात आठ पटक मात्र बाहिर खटिन पर्थ्यो। कहिले राजधानी भित्रै। कहिले राजधानी बाहिर। त्यसैबाट आएको आम्दानीले उनको घर व्यवहार व्यवस्थित भैइरहेको थियो। केही बचत पनि गरेकी थिइन्। उनले पढाइलाई निरन्तरता दिँदै गइन्। मास्टर गरिन्।
वेश्यावृत्ति गरेर पैसा कमाउन गाह्रो छैन रहेछ भनेर उनले राम्ररी बुझेकी थिइन्। तर उनले सम्मान जनक कर्मबाट आउने कमाइ चाहन्थिन्। कालो धन्दाको कमाइ होइन, आत्मसम्मान मिल्ने कमाइ चाहन्थिन्।
उनलाई हातमा पैसाको कमी नभए पनि धेरै चिज कमी भएको महशुस गर्थिन्। त्यसैले उनले दुष्कर्म गरेर धन आर्जन गर्नुभन्दा सत्कर्मबाट थोरै नै होस् इज्जतिलो आर्जन गर्ने निधो गरिन्। जसको कारण पैसाको रस छोडेर लोकसेवाको तयारी गर्न लागिन्।
नासुको लागि लोकसेवा दिइन्। एकदिन पास पनि गरिन्। लोकसेवा पास गरेपछि उनले राजधानीलाई बिदाइ गर्दै पश्चिमाञ्चलतिर लागिन्। उनले पोखरा विमानस्थलमा नियुक्ति लिइन्। आफ्नो काम, कर्तव्यमा कटिबद्ध भएर काम गर्ने सपथ खाइन्।
उनको नामको अगाडि नासु दर्जा थपियो। पोखरा विमानस्थलको एउटा कार्यकक्षको टेबुलमा 'ना.सु राधिका थापामगर' लेखेको दर्जा सहितको नामको बिल्ला देखिन थाल्यो। सानैदेखि सरकारी जागिर खाने सपना देख्थिन्। त्यो लक्ष्य पूरा गरिन्। त्यसपछि उनको जिन्दगीले अर्को नयाँ अध्यायको सुरुआत गर्यो।
सरकारी जागिर खाएपछि मात्र आफ्नो बा-आमालाई भेट्न बोलाइन्। धेरै समयको अन्तरलपछि पोखरामा भेट हुँदा बा-आमालाई बुढ्यौलीले लखेटेको देखिन्थ्यो। उनीहरूको मुहारको छालाहरू रेखा पर्न थालेको थियो। कपालहरू सेताम्मे भएका थिए।
रुपेशको मृत्युको घटना सुनाइन्। उसको परिवारलाई घटनाको विश्वास दिलाउन पोष्टमर्टम रिपोर्ट र देवघाटमा अन्त्यष्टि गर्दा खिचेको केही थान तस्बिरहरू उनको मोबाइलमा सुरक्षित राखेकी थिइन्।
दसैंको अवसर पारेर गाउँमा ठूलो साँस्कृतिक कार्यक्रम राखेको थियो। स्थानीय स्तरदेखि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूको उपस्थिति थियो। उद्घोषकले त्यस कार्यक्रमको प्रमुख अतिथिमा राधिका थापामगर नाम उद्घोष गरे। दर्शक दीर्घबाट जोडदार ताली बज्यो।
उनले मन्तव्यमा आफ्नो जीवनको संघर्षको कहानी सुनाएकी थिइन्। र थपेकी थिइन् 'जबसम्म मानव भएर मान्छेको मनमा मानवताको सोंच पैदा हुँदैन। तबसम्म समाजमा मानव जातिबाटै मानवमाथि दमन, शोषण र भेदभाव गर्ने परिपाटीको अन्त्य हुँदैन। समाज र सामाजिक संस्कार मान्छेले बनाएको चलन हो। तर सिंगो मानव जाति भने प्रकृतिको उत्पत्ति हो। मान्छे मान्छेमा कुनै भिन्नता छैन र हुनु हुँदैन।'
दर्शकहरूको वाह वाही पाए। सबैले खुलेर चर्चा गरे। उनको जिन्दगीको पर्दा पछाडि कैयौं निकृष्ट दृश्यहरू थिए। तर समाजले पर्दा पछाडि त्यस्ता दृश्यहरू होलान् सम्म पनि सोचेनन्। उनको एउटा सफलता देखेपछि पर्दा पछाडि अस्तव्यस्त रहेको कर्तुतहरू सारा ओझेलमा पारिदिएका थिए। यो समाजको सामाजिक दृष्टिकोण थियो।