'अर्काको बारीको सुन्तला नचोर
चोर्नु पाप हो
तिम्रो सुन्तला पनि चोर्लान्' भनेथें
चोरको धर्म चोर्नु हो भन्यो उस्ले
चोरको धर्म नै हुँदैन भनें मैले
चोरी खान पल्केको
साथी त रिसाएर पो गयो।
'सम्बन्ध फाइदामा मात्र नखोज
सरल छ जिन्दगी
जटिल नबनाऊ' भनेथें
म हरूवा दाउ थाप्दिनँ भन्यो उस्ले
नाफाघाटा व्यापारमा मात्र हो भनें मैले
ठगी खान जानेको
साथी त रिसाएर पो गयो।
स्वप्रशंसामा धेरै नरमाऊ
आत्मरती पागलपन हो
दुनियाँले तिम्रो काम देखेकै छ' भनेथें
स्वबजारिकरणले नै प्रगति हुन्छ भन्यो उस्ले
पिसाबको न्यानो धेरै टिक्दैन भनें मैले
ढोङ गरी लुट्न जानेको
साथी त रिसाएर पो गयो।
'जहान बच्चाको धेरै विज्ञापन नगर
सबैका हुन्छन्
अति मोहले शील नासिन्छ' भनेथें
यो युग व्यापारको युग हो भन्यो उस्ले
अति भए खती हुन्छ मैले भनें
देखासिखीमा रत्तिएको
साथी त रिसाएर पो गयो।
'धनको अभिमान नगर
तन झैं धन पनि नश्वर छ
पापको धनले पोल्छ' भनेथें
कमाउन नजान्नेका कुरा हो भन्यो उस्ले
कात्रोमा खल्ती हुँदैन भनेँ मैले
साथी त रिसाएर पो गयो।
सिनो बोकेर नहिड
दुर्गन्ध आउँछ
बस्तीमा रोग फैलिन्छ' भनेथें
गिद्धलाई बास्ना आउँछ भन्यो उस्ले
मानव चेतनशील प्राणी हो मैले भनें
सिनो खान पल्केको
साथी त रिसाएर पो गयो।
साथीहरू त्यसै रिसाँउछन्
खोइ ,
कहिले सोध्लान् आफैलाई-
'के म सही गर्दैछु?'