आज एक हुल मान्छेहरु
जिन्दावाद जिन्दावाद भन्छन्
भोलि अर्को हुल मान्छेहरु
मुर्दावाद मुर्दावाद भन्छन्
अनुहार त्यस्तै लाग्छ,
झण्डा त्यस्तै लाग्छ,
ध्वजा पतका त्यस्तै लाग्छ
मुठी त्यस्तै लाग्छ,
ख्वामितको आज्ञा पालक झैँ
लाजै नमानी भन्छन्
आज यता
जिन्दावाद! जिन्दावाद!
भोलि उता
मुर्दावाद! मुर्दावाद!
अग्रपंक्तिबाटै
निरीह प्रजा झैँ
ख्वामितका अगाडि
खिस्स दाँत देखाउँदै
दह्रो मुठी कस्दै
तैपनि, भन्छन् कमरेड
ल सलाम कमरेड!
त्यही हुलका मान्छेहरु पहिचान खोज्दै
यताउता भौतारिरहेका छन्
गन्तव्यहीन यात्रामा अघि बढिरहेका छन्
ख्वामितको आज्ञा पालक झैँ
जिन्दावाद मुर्दावाद हुँकार
कानैमा गुञ्जाइरहेका छन्
स्वर थाकेको छ
शरीर गलेको छ
विचार मरेको छ
तैपनि,
खली ख्वाएको पुरेतका आदेशमा
खली खाएका जजमानहरु
आगोको लाप्कामा खेल्दै
अग्रपंक्तिबाटै
दाह्रा किट्दै
एकले अर्कोलाई
निमिट्यान्न पार्ने उद्घोष सहित
तैपनि, भन्छन् कमरेड
लाल सलाम कमरेड!
होमियौँ, हौसियौँ
समृद्धि, विकास र परिवर्तनका लागि
रगत पसिना बगायौँ
हजारौँ सहिद भए, अंगभंग भए
मल्हममा-पट्टी लगाउन नपाउँदै
नेतागणहरुको यात्रा
पूर्व र पश्चिम दिशाहीन-गतिहीन
गन्तव्यतर्फ अघि बढ्दैछन्
यथार्थमा
नेतागण विवेकहीन,
कार्यकर्ता विवेकशून्य,
त्यस्तै भीडमा कोही जिन्दावाद!
त्यही भीडमा कोही मुर्दावाद!
एउटा कथित झुण्ड
अब म लेखाजोखा गर्छु?
समृद्धिको लागि,
विचारको लागि,
एकताको लागि,
एउटा सानो पंक्ति
झिनो आशा सहित
जुट्ने उद्घोष सहित
बाम-बामे सर्दै,
तैपनि, भन्छन् कमरेड
लाल सलाम कमरेड!