कविता
प्रभु! हाम्रो चाहिँ ईश्वर छ कि छैन?
प्रत्येक दिन मैले कुँदेका मूर्तिमा गएर
मान्छेले मन्दिरभित्र पस्दा
म बाहिरै रोकिन्छु जात नपुगेर।
मैले महिनौँसम्म लगाएर कुँदेको
ढुंगेधाराबाट पानी खस्छ
ढुंगा छोइन्न, पानी छोएको आरोप आउँछ
र पन्छाइन्छ धाराबाट टाढा।
ढुंगालाई पानीले छुन्छ कि छुँदैन ईश्वर?
मैले कुँदेका मूर्ति मन्दिरमा किन पवित्र हुन्छन्?
मैले बजाएको बाजाले किन निस्कन्छ साइत?
कैँयनपल्ट ओल्टाइ-पल्टाई
समाएर सिएको कपडाले
किन चोखिन्छन् मान्छे?
र म चाहिँ किन भइरहन्छु जुठै?
प्रभु! हाम्रो चाहिँ ईश्वर कहाँ छ?
ईश्वर तिमी मन्दिरमा पनि बस्छौ कि नाईँ!
मन्दिरमा त हामी अछुतले बनाएको मूर्तिबाहेक
अरु केही पनि छैन।
यदि तिमी मन्दिरको प्रसाद ग्रहण गर्छौ भने
मेरै आङको पसिना झारेर फलाएको हो त्यो।
मेरा देवतालाई त हुन्छ तर तिमीलाई हुन्छ हुन्न?
मान्छेको ठूलो जात र सानो जात जस्तै
देवताको पनि त होला नि जात!
देउतालाई देवताले पनि भेदभाव गर्छन् कि गर्दैनन् प्रभु!
मैले जनावरको गह्नाउने छालाबाट
ईश्वरभन्दा ठूला जातकाहरुलाई जुत्ता बनाउँछु
तर जुत्ताले छोइन्नन् तिनीहरु
मेरो जातले मात्र छुन्छ तिनीहरुलाई।
भाँडा बनाउँछु
अमृत पाक्छ र पकाइन्छ त्यसमा
तर हामीहरुका मुखमा पस्न पाउँदैनन् अमृत।
पूजारीले मेरै हातले बनाएको पञ्चपात्रको पानीले
आफ्नो शरीर चोख्याउँछन्
तर मन चोख्याउन सक्दैनन् कहिल्यै।
अनि हामीले बनाएका मूर्तिको सामुन्ने
संघारभित्रैबाट प्रवेश निषेध गराउँछन्
त्यतिबेला पनि मन्दिरका मूर्ति
हाम्रो जात बिर्सेर देवतै कहलाउँछन्
देवता बनाउनेहरु अछुत!
प्रभु! कुन मन्दिरमा म आउँदा
दिन्छौ तिमीले यी सबै प्रश्नको उत्तर?
ईश्वर मैले तिमीलाई भेटेँ भने
तिमी छोइन्छौ कि छोइन्नौ मबाट?