नेपाली म:म: रेष्टुरेन्टबाट दुई प्लेट म:म: खाएर नेपाली पार्कमा घाम ताप्ने विचार गरी म कोठाबाट निस्किएको थिएँ।
नेपाली होटलको काउन्टरमा पुगेपछि काउन्टरमा बस्ने दाइले 'ओहो! भाइ धेरै दिनमा आउनु भयो नि' भन्नु भयो।
'हो दाइ, अलि व्यस्त पनि थिएँ। के गर्नू? भनेजस्तो नहुने परदेशको ठाउँ' भनेँ मैले।
'ल भाइ बस्दै गर्नु न, के खानुहुन्छ?'
'दाइ मलाई यहाँ मनपर्ने भनेको म: म हो। त्यही दुई प्लेट दिनु न।'
मैले टेबलमा भएको टिस्यु पेपरले भर्खर धोएको हात पुछें। टेबलमा म:म: आयो। म:म: खाएर होटलबाट निस्किएँ। नजिकैको हरियो पार्क थियो जसलाई नेपाली पार्क पनि भनिन्छ।
नेपाली पार्कको हरियो दुलोमा बस्नुको मजा अर्कै छ। जाडोको महिना भएकोले भर्खर कुइरोबाट निस्कँदै गरेको घामको ताप पनि आउँदै थियो। म त्यही घामको तातोपनमा आफूलाई सेकाइरहेको थिएँ। तन र मनमा आनन्द आइरहेको थियो।
परबाट एउटी नारी आउँदै थिइन्। कता-कता देखे जस्तो नि लागेको थियो। होइन, यिनी त मेरो घरपारिकी सुमना होइनन्? हुन् त। कहिले यिनी विदेश आइछिन्! म साइड तिर गएर बसेँ। उनले मलाई देखिसकेकी थिइनन्। मलाई उनको पुरानो कथा सम्झना आयो।
गाउँमा उनी राम्रीमा एक नम्बर थिइन्। उनको नाम सुमना भए पनि सबैजना सेती भनेर बोलाउँथे। गाउँतिर उनको हल्ला खुब चलेको थियो। उनी पनि खुला मिजासकी थिइन्। गाउँका जवानहरु उनलाई जिस्क्याउने गर्दथे। सुमना पनि मुसुमुसु हाँस्दै उनीहरुसँग मस्कने गर्थिन्। गाउँमा उनको चर्चा चल्दै गर्दा राम्रा नराम्रा कुरा हुने नै भए।
उनको आनीबानी गाउँमा नपच्ने खालको हुन थाल्यो। उनलाई अनेक आरोप प्रत्यारोप लाग्न थाल्यो। एकदिन साँझपख मसँग आएर उनले 'अलिकति पैसा दिनु न' भनेकी थिइन्।
उनको आनीबानी अनि गाउँमा चलेको हल्ला सुन्दा सहयोग गर्ने मन त थिएन। मनमा सोचिरहेको थिएँ। उनले मलाई झस्काउँदै 'के भो?' भनिन्।
'केही होइन' मेरो उत्तर थियो। अब एउटा नारीले सहयोग नगरु कसरी? मसँग जति थियो उनलाई दिएँ। धन्यवाद भन्दै उनी निस्किएकी थिइन्।
त्यो दिनदेखि उनी गाउँमा देखिएकी थिइनन्। उनी गएपछि उनको बारेमा धरै नराम्रा हल्लाहरु गाउँमा फैलियो। कतिले त केटा बिगार्ने सेती भागी भनेर खुसी पनि मानेका थिए। आफू ठिक भए अरुले कसरी बिगार्छ भन्ने प्रश्न मभित्र आइरहेको थियो।
आज फेरि संयोग, प्रदेशको भूमिमा उनलाई देखें। गाँउ-ठाउँकी नारी देखेपछि कुरा कसरी नगरौं? पार्कभरि मानिसहरू थिए। आफैले चिनेका कैँयन साथीभाइ पनि पार्कमा घुम्दै थिए। 'ए सुमना' भनौं कि जस्तो पनि लाग्यो।
फेरि मुड बद्लिन खोज्यो। परबाट हेरिरहेँ। अचानक उनको आँखा म भएको ठाउँमा पर्यो। सुमन म भएतिर आइन्।
उनी आउँदै गर्दा उनको पातलो राम्रो शरीरमा मेरो आँखा घुमिरहेको थियो। म पनि त पुरुष नै थिए। विपरित लिंगप्रति आकर्षण हुनु सामान्य नै थियो। सबथोक त ठिक नै थियो। सुमनाको शरीर यति पातलो हुँदा पनि उनको पेट भने पुटुस्स बाहिर निस्किएको थियो।
यति सोच्दा सोच्दै उनी म नजिक आइपुगिन्। 'ओहो! धेरैपछि भेट भयो' भन्दै अँगालो मारिन्। उनको अँगालोले मलाई उकुसमुकुस भएको थियो। पार्कका मानिसहरू हामीलाई हेर्दै थिए।
'के गरेकी सुमना?' म उनलाई आफूबाट अलग गर्न खोजेँ। उनको मुहारमा हाँसोभन्दा बढी रोदन थियो।
मैले उनलाई अँगालोमा धेरै समय बिताउन दिइनँ। मेरो शरीर तातो भएको थियो। म आफै उनीबाट अलग भएँ। म टेबलमा बसेँ। आफैलाई असुरक्षित महशुस गरेँ। कतै यिनले अँगालो हालेको खबर घरसम्म पुग्यो भने त बसी खान हुन्न।
म त कुरा बुझ्छु। घरकालाई कसरी कुरा बुझाउनु? हुन पनि म एक विकट गाउँको छोरो थिए। त्यसमाथि सुमनाको गाउँको रेकर्ड झन् कस्तो थियो। त्यो त सबैलाई थाहा थियो। यताउता हेरें। कसैले फोटो खिच्ने हुन कि भनेर। आफ्नो लागि नभए पनि घरको लागि इज्जत बचाउनु छ।
हाम्रो समाज अनि परिवेश नै यस्तो छ। आफ्नोभन्दा अरूको लागि इज्जत जोगाइराख्नु पर्छ। घरतिर बाबा-आमाले सुमनासँग पार्कमा थियो भन्ने कुरा कसैले भनी दियो भने उहाँहरू त मन्दिरमा बसि रुन थाल्नु हुन्छ।
श्रीमतीले पनि मन अमिलो बनाउने छन्। हुन पनि हाम्रो समाजमा कुरा जो नबुझी भाइरल बनाउने चलन बढिरहेको छ। म यस्तै कुरा सोच्दै थिएँ। सुमना दुबोमा बसिन्। उनी पनि चुपचाप थिइन्।
एकछिनपछि 'हजुरलाई के भयो?' भन्दै प्रश्न गरिन्।
'होइन, होइन केही भएको छैन' मैले आफूलाई समाल्न खोजेँ।
सुमनाको रोदन कम्ती भएको थिएन। पूरा गाउँमा सुमना आउँदा उज्यालो हुन्थ्यो। उनको हाँसो नै उनको परिचय थियो। उनको मुस्कानले सारा युवाहरुलाई आफूतिर आकर्षित गराउँथ्यो। किन हो? आज यस्तो दुःखी मुड छ।
म सोध्न चाहन्थेँ। शब्दहरू आइरहेका थिएनन्। कता-कता मन उनीबाट टाढा जान चाहेको थियो। यस्तैमा सुमना झन् नजिक आइन्। म झन् अलमलमा परें।
परदेशको ठाउँमा उनको रोदन नसुनी हिँड्न मलाई आफ्नो धर्मले पनि दिएन। अन्तत: मैले उनलाई सोध्न पुगेँ 'आखिर किन तिमी यति दुःखी छौ?'
उनको अनुहार झन् प्रश्न चिन्हमा अडिएको जस्तो भयो।
'माफ गर्नुहोला, म कसरी बताउँ यो अवस्थाको बारेमा? नबताऊँ त के गरुँ? सबै बाटो बन्द छ।'
मेरो मनले पहिला काटेको अड्कल अनुसार अलि कड्किदै भनेँ 'गाउँदेखिको तिम्रो बानी यहाँ आउँदा पनि छुटेन है। कसको नासो बोकेर हिँडेकी छौ?'
यति भन्ने बित्तिकै उनका आँखाबाट अविरल आँसु बगे। नजिक भएका अरु नेपालीहरु पनि 'के भो?' भन्न थाले।
'केही होइन, हामीबीचको व्यक्तिगत कुरो हो' भनी कुरा लुकाउने कोशिश गरेँ। अरु म के नै गर्न सक्छु र?
एकछिनको मौनतापछि उनको आँसु रोकियो।
'कसको हो यो? नेपाली वा विदेशी?'
उनको छोटो उत्तर थियो- 'विदेशी।'
विदेशी! मेरो शरीर पनि डरले सिरिंग भयो।
'अनि त्यो विदेशी कहाँ छ? काम त छ नि तिमीसँग?' एकैपल्ट दुई कुरा सोधेँ।
'विदेशी आफ्नो देश गइसक्यो। काममा पनि कसरी जानूँ? यो अवस्थामा मलाई देखेर काम छोड्न बाध्य बनाएको छ' सुमनाको उत्तर थियो।
म जिन्दगीमा पहिलो पल्ट यसरी फँसेको थिएँ। के गरु म? उत्तर थिएन। अब सहयोग नगरौं भने आत्महत्या गर्ने हो कि?
'टिकट लिने पैसा छ?' फेरि सोधेँ।
'छैन' छोटो उत्तर आएको।
'ल म केही व्यवस्था गर्छु' भनी उनको नम्बर लिएर रूमतिर गएँ।
दुई-तीन दिनपछि मेरो तलब आयो। उनको लागि टिकट लिन गएँ। उनलाई पनि पार्कमा बोलाएँ।
पार्कमा पुगेर टिकट उनको हातमा राखी दिएँ। एकातिर नेपाली नारीको उद्धार गर्न पाएकोमा खुसी थिएँ, अर्कोतर्फ विदेशी नासो लिएर जाँदै छिन्। नेपाल गाएर आफ्नो जीवन कसरी बिताउलिन् भन्ने चिन्ताले पनि सताएको थियो।
मेरो मनमा एउटा कुराले घोचिरहेको थियो, म एक पुरुष भएर यी नारी गलत हुँदा हुँदै पनि उनका सबै गल्ती माफ गरी उद्धार गरेँ। यो मेरो गल्ती थियो कि कर्तव्य? प्रश्न अनुत्तरित नै रह्यो।